भूतपूर्व प्रेमिकाको बचाऊ

बिहिबार, २७ चैत २०७६, ०२ : ५४ शुक्रवार
भूतपूर्व प्रेमिकाको बचाऊ

सन् २०१९ मार्च महिनामा हलिउड अभिनेता जोनी डेपले भूतपूर्व श्रीमती एम्बर हर्डविरुद्ध मुद्दा दायर गरेका थिए। कारण ? डिभोर्स हुँदा मानिएका सर्तहरू उल्लंघन गर्नु।

एम्बरले ‘दि वासिङ्टन पोस्ट’ पत्रिकामा आफू घरेलु हिंसाको सिकार भएको खुलाएकी थिइन्। यसले ‘पाइरेट्स अफ क्यारेबियन’ कलाकार जोनीको मानहानि हुन गएको थियो। यसैकारण उनले पचास मिलियन अमेरिकी डलरको माग राख्दै मुद्दा दर्ता गरेका थिए।

जोनी यस कानुनी लडाईंमा एक्लो भने छैनन्। उनकै पूर्व प्रेमिका विनोना राइडरले पनि साथ दिएकी छन्। राइडरले जोनीको पक्षमा लिखित बयान दिएकी छिन्। बयानमा राइडरले लेखेकी छन्, ‘हामी सन् १९८९ देखि १९९३ सम्म सम्बन्धमा थियौँ। उनी त्यस चार वर्षको सम्बन्धमा एक असल प्रेमी मात्र नभएर एक असल साथी र पारिवारिक सदस्य पनि थिए। मेरो जोनीसँगको अनुभवमा उनबाट घरेलु हिंसा हुनसक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन। उनीप्रति यस किसिमको आरोप लाग्नु दुर्भाग्यपूर्ण छ। यसबाट म दुःखी छु।’

विनोना यतिमा मात्र सीमित भइनन्। उनले आफ्नो बयानमा लेखेकी छन्, ‘जोनी एक असल व्यक्ति हुन्। उनी सबैलाई प्रेम गर्ने र ख्याल राख्ने स्वभावका छन्। उनको सामीप्यतामा आफूलाई सधैँ सुरक्षित महसुस गर्थेँ।’
विनोनाको यो बयानपछि अब कसलाई विश्वास गर्ने ? भूतपूर्व श्रीमती कि भूतपूर्व प्रेमिका ?
हेरौँ, विनोनाले जोन्नीको बचाऊमा दिएको बयानले न्यायाधीशको सुनुवाइमा कत्तिको प्रभाव पार्छ !

Leave A Comment