साम्राज्ञी शाह भर्सेज भुवन केसी

बिहिबार, २५ असार २०७७, ०१ : ४५ पुष्पा थपलिया
साम्राज्ञी शाह भर्सेज भुवन केसी

नायिका साम्राज्ञी राज्यलक्ष्मी देवी शाहले निर्माता, निर्देशक तथा कलाकार भुवन केसीले पाँच वर्षअघि आफू अभिनित पहिलो फिल्म ‘ड्रिम्स’का बेला आफूलाई सुटिङ सेटमा दुव्र्यवहार गरेको, जापान भ्रमणका बेला अनावश्यक रुपमा नजिक आउन प्रपञ्च रचेको अभिव्यक्ति दिएसँगै कलाकार केसीले चलचित्र कलाकार संघमा अभिनेत्रीले लगाएको आरोपको छानबिन गरिपाऊँ भन्दै निवेदन दिएकी छिन्।

साम्राज्ञीले आफूमाथि गलत आरोप लगाएको भन्दै उनले मानहानीको मुद्दा दायर गर्ने चेतावनीसमेत दिएका छन्।
नायिका साम्राज्ञीले, उनको पहिलो फिल्म सुटिङ गर्दा नायक अनमोल केसी र आफूमा ठूलो भिन्नता गरेको, पानी पिउनसमेत नदिएको आरोप लगाएकी थिइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा करिब १२ मिनेटको भिडियो राख्दै उनले आफूलाई अहिलेसम्म काम गरेका ब्यानरले राम्रो व्यवहार नगरेकै कारण दोहोर्‍याएर ती ब्यानरसँग काम नगरेको दुखेसो पोखेकी थिइन्।
उनले आरोप लगाएका अन्य दुई ब्यानर सुनील कुमार थापा तथा झरना थापाको फिल्म ‘ए मेरो हजूर २’ र ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण गर्ने समूह आईकोर फिल्म्स रहेका छन्। यी दुई ब्यानरका निर्माताहरुले भने साम्राज्ञीले लगाएको आरोपमाथि आफ्नो कुनै सफाई पेश गरेका छैनन्।

भुवन केसीको सन्दर्भमा भने यत्तिका लामो समयपछि बोलेको भन्दै केहीले आलोचना गरिरहेको सन्दर्भमा सुरुमा बोल्न डर लागेको र आफूलाई त्यो समयमा के सही र के गलत पनि थाहा नभएको भन्दै अहिले हिम्मत जुटाएर आफ्नो अभिव्यक्ति दिएको बताएकी थिइन्। अंग्रेजी भाषामा निकै भावुक शैलीमा पोस्ट भएको उक्त भिडियो बाहिरिएसँगै भुवन केसीले फेसबुकमा लामो स्टाटस लेखी उनले गलत आरोप लगाएको स्पष्टोक्ति दिएका थिए। सो स्पष्टोक्तिले भने भुवन केसीमाथि नै ब्याकफायर गरेको थियो। सामाजिक सञ्जालमा साम्राज्ञीमाथि सहानुभूति र भुवन केसीमाथि आक्रोश पोख्नेको जमात देखिएको थियो।
केसीले फेसबुकमा स्टाटस लेख्दै ‘जुन थालमा खाएको त्यसैलाई दुलो पारेको’ आरोप लगाएका थिए। उनले सामाजिक सञ्जालमा गरे जत्तिको अभिनय फिल्ममा गरेर देखाउनसमेत आग्रह गरेका थिए।

पहिलो भिडियोमा साम्राज्ञीले कसैको नाम लिएकी थिइनन् तर जब भुवनले फेसबुकमा आफ्नो धारणा राखे, साम्राज्ञीले त्यसको जवाफमा दोस्रो भिडियो बनाउन बाध्य हुनुपर्‍यो। उनले सो भिडियोमा नामै तोकेर भुवनले आफूमाथि शारीरिक शोषण गरेको आरोप थपेकी थिइन्। उनले जापानमा भएको अवार्ड कार्यक्रममा जाँदा भुवन केसीले नराम्रो व्यवहार गरेको र त्यसबारे बाहिर नभन्न भन्दै त्यसमा पनि दुव्र्यवहार गरेको बताइन्। उनले भनेकी छन्, ‘आई लभ यु बाबा, छोरी भन्दै गालामा मुख ल्याएर टाँस्न खोज्थ्यो।’ आफूले केसीलाई ‘अंकल’ भन्दा रिसाएको र ‘दाइ’ भन्न लगाएको पनि उनको भनाइ छ।
उनको त्यस्तो प्रतिक्रिया आएपछि अन्य कलाकारहरु पनि साम्राज्ञीको सपोर्टमा आए। उनीहरुले सामाजिक सञ्जालमार्फत यदि त्यस्तो भएकै हो भने हदैसम्मको कार्बाही गर्नुपर्ने माग पनि गरे। यस्तो माग गर्नेहरुमा निशा अधिकारी, केकी अधिकारी, रेखा थापा, रीमा विश्वकर्मा लगायतका अभिनेत्री रहेका छन्। यी अभिनेत्रीहरुले यतिबेला जिरो टोलरेन्स लगायतका अभियान चलाइरहेका छन्। चलचित्र क्षेत्रमा हुने शोषणविरुद्ध आवाज उठाउन नयाँ पुस्तालाई प्रेरित गरिरहेका छन्।

यसरी आवाज उठाउनुलाई अभिनेत्री सरिता लामिछानेले राम्रो र तारिफयोग्य कुरा भने पनि ठाउँका ठाउँ आवाज उठाउँदा विवादमा नपरिने उनको सुझाव छ। उनले भनिन्, ‘म पनि यो उद्योगमा यत्तिका वर्षदेखि काम गरिरहेकी छु। कहिल्यै अप्ठेरोमा परेको अनुभव छैन। तर मेरो भित्री हृदयले भन्छ, आफूलाई अप्ठेरो परेको बेला तत्काल प्रतिक्रिया दिने हो भने अनावश्यक शोषणबाट जोगिइन्छ।’ यस घटनामा पनि साम्राज्ञीले तत्काल प्रतिक्रिया नदिँदाको परिणाम हुनसक्ने लामिछाने बताउँछिन्। साम्राज्ञीले भने आफूभन्दा अग्रजले यस्तो शोषण हो र यसबारे आवाज उठाउनुपर्छ भन्ने कसैले नसिकाएको गुनासो गर्छिन्। यस घटनाको पटाक्षेप अबका केही दिनमा हुने देखिएको छ। भुवनले कलाकार संघ गुहारेपछि अब संघले के–कस्तो प्रक्रिया अघि बढाउला भन्ने कुर्नेहरु पनि धेरै छन्। यस सम्बन्धमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालाई मोबाइल सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्। केसीले संघमा निवेदन दिँदै साम्राज्ञीले आफूमाथि लगाएको आरोपको सत्यतथ्य उधिन्न अनुरोध गरेका छन्। उनले हरेक कुराको तीन पाटो हुने भन्दै त्यसको जिम्मा कलाकार संघ र कानुनलाई दिएको बताएका छन्।
साम्राज्ञीले फिल्म क्षेत्रमा असल साथी बनाउन नसकेको, घमण्डी र मुडी स्वभाव भएको आलोचना खेपिरहन्थिन्। पत्रकारलाई अन्तवार्ता नदिने र दिए पनि फिल्म प्रमोसनका बाहेक कुरा गर्न नचाहने भनेर पनि उनी मिडियाबाट टाढिएकी थिइन्।

कलाकारले गरे आफ्नै बेइज्जती
यसबीचमा पनि अन्य कलाकारका ‘काण्डहरु’ सार्वजनिक भएका छन्। यसअघि पनि नायिका वर्षा राउतले लिम्पियाधुरा सीमा विवादका कारण आफ्ना भारतीय साथीहरुलाई के–कस्तो जवाफ दिने भन्ने बताउँदा विवादमा परेकी थिइन्। उनले पछि दर्शक/स्रोतासँग माफी माग्दै आफूलाई देशको माया नभएको भए उहिल्यै विदेश पलायन भइसकेकी हुने थिएँ भनी भावुक टिप्पणी गरेकी थिइन्। पछिल्लो टिप्पणीले त विदेशमा बसेका कलाकारहरुले पनि देशको माया नभएर विदेश गएको अर्थ लागेको भनी विदेशमा रहेका कलाकारहरु जल शाह लगायतले आपत्ती जनाएपछि उनले देशप्रेम देखाउन कालापानी गएर झुण्डिएर मर्न तयार छु भन्दा समेत उनको भावुकतालाई प्रशंसकहरुलाई छोएन। यस्तै तीन महिनाअघि फिल्मको प्रचारका क्रममा एउटा टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा नेपालमा १४ जिल्ला र ७२ प्रदेशको जवाफ दिएर पूजा शर्मा विवादमा आइन्। उनको आई क्युको स्तर देखेर छक्क परेका दर्शकले सम्पूर्ण सेलिब्रिटीलाई नै बुद्धि नभएका भन्न भ्याए।

फिल्म लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेना बताउँछन्, ‘पहिले फिल्म उद्योग र पत्रकारहरुलाई मात्र कलाकारहरुको गुदी छैन भन्ने थाहा थियो, अहिले त त्यो छताछुल्ल नै भयो।’ यस्तै अर्को विवाद लिएर आइन्, दीपाश्री निरौलाले। उनले सम्पूर्ण नेपालीले महानायक मानेका राजेश हमाललाई उनी महानायक हुन योग्य नै छैनन् भन्ने आशय व्यक्त गरेको भन्दै हमालका फ्यानहरुको तारोमा परिन्। अन्त्यमा उनले आफ्नो आशय त्यस्तो नभएको र व्यक्तिगत रुपमा हमालसँग निकै राम्रो सम्बन्ध भएको समेत बताउनु पर्‍यो। उनले यस्तो हुनुमा मिडियालाई नै दोष लगाएकी थिइन्।

मिडिया चेपुवामा !
आफूले नभनेका अभिव्यक्ति पनि मिडियाले लेखिदिने, हेडलाइन बिगारेर अर्कै बनाइदिने गरेको आरोप लगाउने उनले अहिलेको यस घटनामा पनि आफ्नो नाम बेचेर पत्रकारले पैसा कमाएको मन नपर्ने यस पटकको विवादमा अभिनेत्री साम्राज्ञीले टिप्पणी गरेकी थिइन्। यो लाइनमा साम्राज्ञी मात्र होइन, अधिकांश कलाकारहरु पर्ने गरेका छन्। यी सबै घटनालाई नियालिरहेका निर्माता तथा कलाकार दीपकराज गिरी त मिडियालाई ‘कलमे डन’ समेत भन्न पछि पर्दैनन्। उनको नजरमा पनि यस्ता कुरामा मुख्य दोषी मिडिया नै छ। उनले सामाजिक सञ्जालहरुमा अन्तर्वार्तादेखि सावधान हुन कलाकारहरुलाई सुझाएका छन्।
त्यसो त, आफू क्यामेरा र बुम बोकेको मान्छे देख्नेबित्तिकै मुखमा आएको बक्न सुरु गर्ने अनि केही समस्या आए मिडियालाई दोष दिने परम्परा नयाँ भने होइन। यस्ता कुराले हाम्रा सेलिब्रेटी भनिनेहरुको हैसियत दर्साइरहेको छ भन्ने प्रष्ट हुने बताउँछन्, फिल्म लेखक तिमल्सेना। सेलिब्रेटी शब्दकै यतिबेला मजाक बनिरहेको उनको धारणा छ। यस्तोमा सञ्चार माध्यमलाई मात्रै दोष दिनुको सट्टा आफूले पनि कस्तो मिडियामा बोल्ने, कति बोल्ने र कस्तोमा नबोल्ने छुट्याउन सक्नुपर्ने बताउँछन्।

यस्तो अवस्था आउनुमा पत्रकार र सेलिब्रेटीको घनिष्ठ मित्रता नै कारक रहेको पनि उनले बताए। उनी भन्छन्, ‘पत्रकार र सेलिब्रेटी भनेका मित्रता सम्भव नभएका क्षेत्र हुन्। पत्रकार त आन्तरिक कुरा थाहा पाउन सकिन्छ नै भनेर पनि सेलिब्रेटीको मित्र बन्न लालायित हुन्छ तर दुरी बनाउने भनेको सेलिब्रेटीले नै हो।’ उनले अहिलेसम्म सेलिब्रेटीलाई कहाँ के बोल्नुपर्छ भन्ने थाहा नभएको कुरा पत्रकार र यस क्षेत्रका मानिसलाई मात्र थाहा भएको तर अब उनीहरुकै कमजोरीका कारण सबैमाझ छताछुल्ल भएको पनि बताए। सेलिब्रेटी आफैँ एयरपोर्टदेखि बेड रुमसम्म पत्रकारलाई घुसाउने र अहिले दोष जति मिडियालाई लगाउने भन्दै तिमल्सेनाले राम्रा र सही कुरा लेख्ने मिडियालाई मात्रै अन्तर्वार्ता दिने, अन्तर्वार्ता दिनुअघि गृहकार्य गर्ने गर्दा यस्ता समस्या नआउने उपाय पनि सुझाए।

Leave A Comment