खिन्न हुन र रुनभन्दा रमाउन र हाँस्न नै मज्जा लाग्छ हामी सबैलाई । शरीरविज्ञानअनुसार हाँसो एक शारीरिक प्रतिक्रिया या प्रस्तुति हो । खोकी, हाच्छ्युँ वा डकारजस्तै प्रतिक्रिया हो हाँसो । जब शरीरमा कुतकुत हुन्छ या मानसिक रूपमा कुनै ‘स्टिमुलस’ वा ‘इनपुट’ मिल्छ (जस्तो, रमाइलो दृश्य, रमाइलो र फरक कुरा, फरक हाउभाउ ), सर्वप्रथम मस्तिष्कको अग्रभागमा अवस्थित फ्रोन्टल लोबको विशेष स्थान तरंगित हुन पुग्छ । जसको प्रभावलाई स्नायुहरूको मद्दतले हाम्रो मुहारमा रहेका कबिर १२ प्रकारका मांसपेशी, फोक्सोभन्दा मुनि अवस्थित ‘डायफ्राम’ नामक मांसपेशीलगायत पेटका अन्य मांसपेशीसमेत खुम्चिन तथा प्रतिक्रियात्मक हुन पुगी स्वरकेन्द्र (ल्यारिङ्गस) र मुखको सहायताले हाँसो प्रस्फुटन हुन पुग्छ । हाँसोका लागि कारक तŒव जत्रो आकारको भयो, त्यही अनुपातको हाँसो सृजित हुने गर्छ । हाँसोको लागि यति धेरै शृंखला, संयोग र अटोमेटिक समन्वय आवश्यक पर्ने हुनाले हाँसो भनेको स्वतःस्फूर्त हुने गर्छ वा भनौँ कृत्रिम तवरले हाँसो सृजना गर्न कठिन हुने गर्छ ।
हाँसोको विषयमा ठूलठूला अनुसन्धान हुन बाँकी नै भए पनि हालसम्म गरिएका अध्ययनहरूले हाँस्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक देखिएका छन् । हाँसोका बेला निस्कने इन्डोर्फिन र सेरोटोनिनजस्ता हर्मोन र न्युरोट्रान्समिटरहरूले हाम्रो शरीरमा आनन्द र खुशी सञ्चार गर्छन् । साथै, हाँसोका कारण हाम्रो शरीरमा कर्टिसोल र इपिनोफ्रिनजस्ता स्ट्रेस हर्मोनको मात्रामा कमी पनि आउँदछ । युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा सन् २००५ मा गरिएको एक अनुसन्धानले हाँसोका कारण रगतको नसा केही खुकुलो भई अंगहरूमा रक्तप्रवाह बढ्नुका साथै रक्तचाप केही कम हुने भन्ने परिणाम देखाएको छ । त्यसका अलावा हाँसोले हाम्रो शरीरलाई नै खुकुलो बनाई तनावबाट मुक्त गराउँछ । हाँसोका खातिर निस्किने सूक्ष्म रसायन एवं हर्मोनहरूले शारीरिक दुखाइ कम गर्न समेत मद्दत पुग्ने देखिन्छ । यस प्रकारले शारीरिक स्वास्थ्यमा त हाँसोको सकारात्मक प्रभाव छ नै । चिन्ता, तनाव कम गर्न, डर हटाउन, मुडलाई राम्रो राख्न र सकारात्मक सोच्ने बनाउन पनि हाँसोको उत्तिकै भूमिका देखिन्छ । त्यसभन्दा पनि माथि रहेर एकआपसमा एकताबद्ध गर्न, टिमवर्कको विकास गर्न, अरूलाई आकर्षित गर्न पनि हाँसोको महŒवपूर्ण योगदान हुन सक्छ । एकजनाले हाँस्न सुरु गरेपछि त्यसले उपस्थित सबैलाई हाँसो प्रस्फुटन गराउन सक्ने क्षमता राख्छ । कक्षामा एकजना खितखित हाँसेपछि कक्षा नै आफसेआफ हाँस्न थाल्ने दृश्य हामी सबैलाई थाहा भएकै हो ।
हँसाउने क्षमता भएकाहरूको साथी धेरै बन्नु वा उनीहरूको जीवनसाथी राम्रो पर्ने सम्भावना हुनबाट पनि हाँसोको फाइदा जान्न सकिन्छ । हँसाउने शिक्षकको कक्षा छोड्न मन नलाग्नु, खूब हाँसो जमेको जमघटले हाम्रो स्मृतिमा सदा स्थान पाउनुबाट पनि हाँसोका धेरै फाइदा छन् भन्ने बुझिन्छ । हाँसोले मानिसलाई फुर्तिलो र सिर्जनशीलसमेत बनाउने गर्छ । आगामी दिनमा हाँसो र स्वास्थ्यका विषयमा अझ धेरै रिसर्च हुने र यसका विषयमा अझ धेरै तथ्य बाहिर आउने प्रस्ट देखिन्छ । हालसम्मकै तथ्यमा आधारित हुँदै हाँसोका फाइदालाई विचार गरिएरै भनिएको हुनुपर्छ– ‘लाफ्टर इज द बेस्ट मेडिसिन’ अर्थात् हाँसो सर्वाेत्कृष्ट औषधि हो । त्यसैले दिल खोलेर हाँसौँ र शरीर स्वस्थ बनाऔँ ।
Leave A Comment