मधुमेह
इन्सुलिन भन्ने हर्मोनका कारण मधुमेह लाग्छ । हाम्रो पेटमा रहेको प्यांक्रियाजले इन्सुलिन हर्मोनको उत्पादन गर्छ । यसको मुख्य काम भनेको रगतमा रहेको चिनीको मात्रालाई सन्तुलनमा राख्ने हो । यदि इन्सुलिनको उत्पादनमा कमी आयो भने वा राम्रोसँग काम गर्न सकेन भने मधुमेह रोग लाग्छ ।
खाली पेटमा सय एमजी÷डीएलभन्दा कम र खाना खाएको दुई घण्टापछि (पीपीबीएस) १४० एमजी÷डीएलभन्दा कम छ भने सामान्य मानिन्छ । तर, खाली पेटमा (एफबीसी) १२६ एमजी÷डीएलभन्दा वा त्योभन्दा माथि र खाना खाएको दुई घण्टापछि (पीपीबीएस) दुई सय एमजी÷डीएल वा त्योभन्दा माथि भएमा मधुमेह भएको मानिन्छ । यसका लागि रगतको जाँच गर्नुपर्ने हुन्छ ।
सुगर कम हुने रोग
इन्सुलिन कम उत्पादन भएर वा काम गर्न नसकेर मधुमेह लाग्छ भने इन्सुलिन उत्पादन बढी हुँदा सुगर कम हुने रोग लाग्छ । प्यांक्रियाजमा सानो ट्युमर पलाएर इन्सुलिनको उत्पादन बढी भयो भने मधुमेह नभएका व्यक्तिलाई पनि सुगर कम हुने रोग लाग्न सक्छ । यस्तो अवस्थामा एकै पटक सुगर कम हुने, घबराहट हुने, मुटु ढुकढुक हुने, पसिना आउने, हात काँप्ने र समयमै उपचार भएन भने बिरामी बेहोस हुन्छ । प्रायः खाली पेटमा हुने यो समस्या लाखौँमा एकजनामा देखिन्छ ।
थाइराइड
थाइराइड ग्रन्थी घाँटीमा रुद्रघण्टीको तल हुन्छ । यस ग्रन्थीले थाइराइड हर्मोन उत्पादन गर्छ । यो हर्मोनले शरीरको मेटाबोलिजमलाई नियन्त्रणमा राख्ने काम गर्छ । थाइराइड हर्मोन बढी उत्पादन हुने अवस्थालाई हाइपरथाइराइड भनिन्छ भने कम उत्पादन भयो भने हाइपोथाइराइड हुन्छ । हाइपर र हाइपो थाइराइडको लक्षण पनि फरक–फरक हुन्छ । हाइपर थाइराइडमा व्यक्ति दुब्लाउदै जाने, गर्मी धेरै हुने, पसिना धेरै आउने, मुटु धेरै धकधक हुने, दिसा धेरै पटक लाग्ने, हातखुट्टा काम्ने, सास फुल्ने, निद्रा नलाग्ने, गलगाँड निस्कने, आँखा ठूलो हुँदै जाने, महिनावारी गडबड हुने, निःसन्तान हुने जस्ता लक्षण देखापर्छन् ।
त्यसैगरी हाइपो थाइराइडमा मोटाउदै जाने, जाडो धेरै हुने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने, कपाल झर्ने, निद्रा धेरै लाग्ने, कब्जियत हुने, महिनावारी गडबड हुने जस्ता लक्षण देखापर्छन् । धेरै व्यक्तिमा टन्सिल बढ्ने र दुख्ने गरेको पाइन्छ ।
महिनावारीमा गडबडी र निःसन्तान
महिनावारी गराउने हर्मोनलाई सेक्स हर्मोन भनिन्छ । यो हार्मोन दुई किसिमका हुन्छन् । एउटा दिमागको तल रहेको पिट्युरी ग्रन्थीबाट निस्कने हर्मोन एलएच, एफएसएच र प्रोल्याक्टिन भन्ने हर्मोन हुन्छ भने दोस्रो डिम्बबाट निस्कने हर्मोन एस्ट्रोजन र प्रोजेस्टेरोन भन्ने हुन्छ । यी दुवैको कम्बिनेसनबाट महिनावारी हुने गर्छ । यीमध्ये कुनै पनि हर्मोनमा गडबडी भएमा महिनावारीमा समस्या उत्पन्न हुन्छ । १६ वर्षभित्र हुनुपर्ने महिनावारी कसैकसैलाई २० वर्षसम्म पनि नहुने हुन्छ । महिनावारी भए पनि समयमा नहुनुको साथै रक्तस्राव धेरै हुने हुन्छ । पिट्ट्युरी ग्रन्थीका कारण महिनावारी गडबड हुनुलाई सेकेन्डरी हाइपोगोनाडिजम भनिन्छ । त्यसै गरी डिम्बमै समस्या भएर महिनावारी गडबड हुनुलाई प्राइमरी हाइपोगोनाडिजम भनिन्छ । सेक्स हर्मोनको उत्पादन राम्रोसँग हुन नसकेमा महिनावारीमा गडबडीका साथै निःसन्तानको समस्या धेरै हुन सक्छ ।
महिलाको शरीरमा धेरै रौँ उम्रने
हर्मोनकै कारण महिलामा चाहिनेभन्दा धेरै रौँ निस्कने हुन्छ । पुरूषमा जस्तै दाह्रीजुँगा आउने, छाती तथा यौनांगलगायत शरीरका धेरै स्थानमा रौँ आउने हुन्छ । टेस्टोस्टेरोन हर्मोनको उत्पादन धेरै भयो भने महिलामा यस्तो समस्या देखिन्छ । पोलिसिस्टिक सिन्ड्रोममा कारण पनि यस्तो हुन सक्छ । डिम्बाशयमा कुनै ट्युमरका कारण पनि कहिलेकाहीँ महिलाको शरीरमा धेरै रौँ उम्रने हुन सक्छ । पेटमा एड्रिनल भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाको माथि हुन्छ । यस ग्रन्थीले डीएचईएएस नामक अर्को हर्मोन बढी निकालेमा पनि महिलाको शरीरमा रौँ आउने हुन्छ । यसको उपचार दुई किसिमले गर्न सकिन्छ । एउटा हर्मोनल उपचार र दोस्रो लेजर उपचार गर्नुपर्छ । यसका लागि एउटा मात्र उपचार गरेर हुँदैन । लेजर प्रविधिद्वारा उपचार सँगसँगै हर्मोनको पनि उपचार गर्नुपर्ने हुन्छ । यसमा हर्मोनको असर देखिन पाँचछ महिना लाग्छ ।
स्तनबाट दूध चुहिने
प्रोल्याक्टिन भन्ने हर्मोनको मात्रा बढ्न गएमा स्तनबाट दूध चुहिने हुन्छ । प्रोल्याक्टिन हर्मोन पिटुट्युरी ग्रन्थीका कारण बढ्ने हुन्छ । पिटुट्युरी ग्रन्थीमा ट्युमर पलायो भने वा अन्य कुनै रोगका कारण हर्मोनको मात्रा बढ्न जान्छ । साथै औषधिको कारण पनि यो हर्मोन बढ्ने हुन्छ । कसैकसैलाई थाइराइडका कारण हुने सम्भावना हुन्छ । गर्भवती भइसकेको समयमा दूध चुहिनु सामान्य हो । तर, अविवाहित युवती, गर्भवती हुनुपूर्व वा सामान्य अवस्थामा पोल्याट्रिन हर्मोनका कारण दूध चुहिने हुन्छ ।
पुरुषमा स्तन बढ्ने
पुरूषको स्तन बढ्नुलाई गाइनेकोमास्टिया भनिन्छ । यसका धेरै कारणमध्ये एक हर्मोनको गडबडी पनि हो । सेक्स हर्मोनको कमी भयो भने पुरुषको स्तन बढ्ने हुन्छ । यसको उपचार तीन किसिमले गर्न सकिन्छ । पहिलो कुरा जीवनशैलीमा परिवर्तन गर्न जरूरी हुन्छ । खानपिन र व्यायामको माध्यमबाट मोटोपन घटाउनुपर्छ । स्तन टेस्टोस्टेरोन हर्मोनको कमीले गर्दा बढ्ने भएकाले हर्मोनको उपचार गर्नुपर्छ । हर्मोनको कारणले होइन भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । महिलामा मात्र होइन स्तन बढ्ने समस्याका कारण पुरूषमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।
पुड्को हुने वा धेरै अग्लो हुने
जन्मेदेखि १८ वर्षमा जुन किसिमको उचाइ बढ्नुपर्ने हो त्यसमा सबभन्दा ठूलो भूमिका ग्रोथ हर्मोनको हुन्छ । जुन, पिटुट्युरी ग्रन्थीबाट निस्कन्छ । पिटुट्युरी ग्रन्थीलाई मास्टर ग्रन्थी पनि भनिन्छ । यसले शरीरलाई आवश्यक पर्ने धेरै हार्मोन उत्पादन गर्छ । पिट्ट्युरी ग्रन्थीमा कुनै कारण रोग लाग्यो भने ग्रोथ हर्मोनको कमी हुन्छ । जसबाट उचाइ बढ्दैन । ग्रोथ हर्मोनको कमी भयो भने यसको इन्जेक्सन लगाएमा हर्मोनको उत्पादन हुन्छ । तर, यो हर्मोनको इन्जेक्सन महँगो हुन्छ । बच्चा अवस्थामै थाइराइड भएमा वा राम्रोसँग उपचार नभएमा पनि उचाइ बढ्न सक्दैन । त्यसै गरी पिटुट्युरी ग्रन्थीबाट हर्मोनको उत्पादन बढी भयो भने मानिसको उचाइ बढी हुन्छ । बच्चा अवस्थामै उपचार गर्न सकेमा उचाइ सामान्य हुन सक्छ । तर, ढिला थाहा भयो भने यसलाई नियन्त्रण गर्न सकिँदैन । तर, ग्रोथ हर्मोन बढी भएर हुने अन्य असरलाई कम गर्न सकिन्छ ।
यौन इच्छामा कमी आउने
पिटुट्युरी ग्रन्थीबाट निस्कने हर्मोन एलएच, एफएसएच र प्रोल्याक्टिनमा समस्या देखियो भने यौन इच्छामा कमी आउने हुन्छ । यसका साथै यौनसम्पर्क गर्न गाह्रो हुने, लिंग कडा नहुने, वीर्य ननिस्कने, वीर्यमा शुक्रकीटको कमी हुने, दाह्रीजँुगा नआउनेजस्ता समस्या देखापर्छन् । यौन अवस्था १२/१३ वर्षमा सुरु हुनुपर्नेमा हर्मोनको कमीले यौन अवस्था नै नहुने हुन्छ । जसका कारण पुरुषमा पनि निःसन्तानको समस्या हुन सक्छ ।
यौवन अवस्था चाँडो वा ढिलो
हर्मोनको गडबडीका कारण केटीहरूमा सात वर्षभन्दा कम उमेरमै यौन अवस्थाको लक्षण देखापर्न सक्छ । समयभन्दा पहिला नै स्तन बढ्ने, महिनावारी सुरु हुने जस्ता कारणमा सेक्स हर्मोन बढी हुनु नै हो । यसको उपचार गरिएन भने सुरुमा उचाइ बढ्ने तर पछि गएर कम हुने हुन्छ । त्यसै गरी केटाहरूमा नौ वर्षभन्दा पहिले नै अण्डकोष ठूलो हुने, लिंग बढ्नेजस्ता लक्षण देखिन्छन् । यसको पनि समय मै उपचार भएन भने पुड्कोपन हुने सम्भावना हुन्छ ।
हड्डी बारम्बार टुट्ने तथा खिइने
हर्मोनको सम्बन्ध हाडजोर्नीसँग पनि हुन्छ । हड्डीलाई बलियो बनाउने भनेको क्याल्सियम र फस्फोरसले हो । यिनीहरूलाई सही तरिकाले राख्न प्याराथाइराइड हर्मोनले निकाल्ने हर्मोनको भूमिका हुन्छ । यदि प्याराथाइराइड हर्मोन बढी भयो भने रगतमा क्याल्सियमको मात्रा बढ्ने गर्छ । जसका कारण हड्डी खिइदै जाने र सामान्य चोटपटकमा पनि भाँचिने गर्छ । भिटामिन डी हर्मोनले पनि शरीरमा क्याल्सियम र फस्फोरसको मात्रा ठीक राख्छ । यदि भिटामिन डीको कमी भयो भने हड्डी दुख्ने हुन्छ । महिलामा हड्डी खिइने समस्या महिनावारी बन्द भइसकेपछि हुनेगर्छ ।
मोटोपन
मोटोपनका कारण धेरै हुन्छन् । थाइराइडका कारण मानिसको मोटोपन बढ्छ । दोस्रो एड्रिनल ग्रन्थीले कटिजोल हर्मोन बढाउँदा पनि मोटोपन बढ्छ । कटिजोल हर्मोन बढी भएमा कुसिङ सिन्ड्रोम भन्ने रोग लाग्छ । जसका कारण मोटोपन हुने, बसेर उठ्न गाह्रो हुने, सुगर, प्रेसर बढ्नुका साथै अनुहार सुनिन्ने हुन्छ । खानपिनको गडबडी, खानामा चिल्लोको मात्रा, व्यायामको कमीजस्ता कारणले मोटापन बढ्छ ।
Leave A Comment