ऋण काढेर डीजे बनेका रुकेन

शनिबार, ०१ असोज २०७३, ११ : २९ शुक्रवार , Kathmandu
ऋण काढेर डीजे बनेका रुकेन

डिस्को र पार्टी राजधानीको नाइट लाइफको विशेषता नै भइसकेको छ ।  राजधानीमा सञ्चालित अधिकांश डिस्को, पब, बार र रेस्टुरेन्टमा अहिले डीजे सेसन हुन्छ । जहाँ ग्राहकले दिल खोलेर नाच्छन् अनि भरपूर मनोरञ्जन लिन्छन् । उनीहरूलाई नचाइरहेका हुन्छन्, उफारिरहेका हुन्छन् डीजे अर्थात् डिस्क जक्कीले । रेकर्डेड म्युजिकलाई प्ले गरेर डीजेले अडियन्सलाई इन्टरटेन गर्छन् । पार्टी प्रेमी र नाइट लाइफमा रमाउनेहरूका लागि एउटा प्रिय नाम हो, डीजे रुकेन ।
उनको वास्तविक नाम चाहिँ रुकेन श्रेष्ठ हो । काठमाडौँका रैथाने उनले डिजेइङ गर्न थालेको साढे पाँच वर्ष भइसक्यो । अहिले उनी काठमाडौँ, सुन्धाराको भेनिस क्लबका बजाउँछन् । ‘प्यासनका रूपमा सुरु गरेको डिजेइङ अब मेरो प्रोफेसन नै बनेको छ,’ रुकेनले भने । आफू पार्टी प्रेमी रहेको उनी बताउँछन् । ‘पार्टीमा धाउँदाधाउँदै डीजे बन्ने रहर जाग्यो । कक्षा–१० मा पढ्दैदेखि नै बिहान हुने बंकर्स पार्टी धाइन्थ्यो । त्यति सानै उमेरमा पार्टीतिर धाउनु त ठीक थिएन । तर, सायद मेरो खप्परमै डीजे हुनुथ्यो, उनले भने, ‘अरू त्यहाँ नाँच्थे, म डीजेका औँला नियाल्थेँ । कसरी म्युजिक प्ले गरेको होला जस्तो लाग्थ्यो ।’
त्यसपछि उनी डीजे बन्ने दौडमा लागेछन् । नेपा म्युजिक सेन्टरमा पुगेर केही महिना सिकेछन् । डीजे बिकीसँग दुई महिनासँगसँगै हिँडेछन् । ‘उहाँको पार्टी जहाँजहाँ हुन्थ्यो त्यहाँत्यहाँ जान्थेँ । उहाँले बजाएको हेर्थें र सिक्थेँ,’ उनले भने ।
उनको डीजे बन्ने दौड त्यति सहज भने थिएन । डिजेइङ सिक्नका लागि घरबाट पैसा नपाएपछि साथीबाट सहयोग लिएको रुकेन सुनाउँछन् । ‘साथीको ममीको नाममा सहकारीबाट २५ हजार ऋण लिएँ,’ उनले भने, ‘त्यो ऋण तिर्न मलाई दुई वर्ष लाग्यो । ऋण तिर्नकै लागि मैले पसलमा सेल्स ब्वाईको काम गरँे र सहकारीमा कलेक्टरको काम गरेँ । ऋण तिर्न नसक्दा एक वर्ष त पेनाल्टी नै तिर्नुपरको थियो ।’ त्यतिबेला उनी डिजेइङ पनि गर्थें तर पारिश्रमिक चाहिँ ‘शून्य’ । ‘सानातिना इभेन्टजस्तै भोज, बर्थडे पार्टीमा बजाउने मौका मिल्थ्यो,’ उनले भने, ‘पैसा चाहिँ भोलि दिन्छु, पर्सी दिन्छु भन्थे र दिँदैनथिए । ५०–६० वटा इभेन्टमा त मैले सित्तैमा बजाए ।’
अहिले यही काम आफ्नो गुजारा टार्ने माध्यम भएको उनी बताउँछन् । ‘क्लबको जागिर र बाहिरी इभेन्टलाई जोडेर महिनामा ३५ हजारजति कमाइन्छ,’ उनले भने ।
रुकेनले प्रत्येक रात भेनिस क्लबमा कम्तीमा चार घण्टा डीजे प्लेयर चलाउँछन् । ‘डीजेले अडियन्सको म्युजिकको स्वादलाई बुझ्न सक्नुपर्छ,’ रुकेनले भने, ‘डान्स फ्लोरमा कुन उमेर समूहका कस्ता अडियन्स छन् । उनीहरूको चाहनाअनुसार म्युजिक प्ले गर्नुपर्छ ।’ म्युजिक चेन्ज गर्ने उनको स्टाइलबाट त्यहाँ आउने ग्राहक रमाउने गरेका छन् । डिजेइङ उनको नशा भइसक्यो अहिले । ‘दुई दिन प्लेयर छुन नपाएर हात चिलाउँछ,’ उनले भने,  ‘क्राउड नहुँदा अलि थाकेजस्तो महसुस गर्छु । क्राउड भयो भने त उनीहरू नथाकुञ्जेल बजाइदिन्छु, नचाइदिन्छु । क्राउडलाई नचाउन सक्नु नै हाम्रो सफलता हो ।’

रातमा काम गर्नेहरूप्रति समाजको दृष्टिकोण गलत रहेको रुकेनको भनाइ छ । ‘सुरुमा घरपरिवारदेखि छरछिमेक सबैले कुरा काट्थे,’ उनले भने , ‘अहिले त्यस्तो छैन । बिस्तारै समाज परिवर्तन भइरहेको छ । डिजेइङ पनि एक किसिमको आर्ट हो भन्ने बुझ्न थालिएको छ ।’ डीजेहरूका आफ्नै दुःख छन् । ‘भनेको गीत बजाइदिएन भने थर्काउने र बाहिर भेट्दा कुट्छु भन्दै धम्की दिनेहरू कति हुन्छन्, हुन्छन्,’ उनले भने ।

Leave A Comment