आफ्नै ज्यानको दुश्मन किन ?

शनिबार, ०१ असोज २०७३, ११ : ४४ डा. रवि शाक्य , Kathmandu
आफ्नै ज्यानको दुश्मन किन ?

जानीजानी आफ्नो जिन्दगी अन्त्य गर्ने कार्यलाई आत्महत्या भनिन्छ । आफ्ना समस्याप्रति पूर्ण रूपले असहाय र निराश भएर जिउनुभन्दा मर्नु सबभन्दा उचित समाधान ठानी आत्महत्या गर्ने गरिन्छ । मर्ने इच्छा नराखी अन्य उपलब्धिका लागि जानीजानी आफूलाई हानि गर्नु आत्महत्या होइन, यो सुनियोजित आत्मसंहारमात्र हो । आत्महत्या अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक एवं सामाजिक दुर्घटना हो । धार्मिक तथा सामाजिक दृष्टिले यसलाई पाप एवं अपराध आदि मानिँदै आए तापनि आधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज र आत्महत्याको सोच तथा कोसिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संवेदनशील चिकित्सकीय विपद्का रूपमा हेरिन्छ ।  
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सन् २००३ को प्रतिवेदनअनुसार विश्वमा प्रतिवर्ष १० लाख मानिसले आत्महत्या गर्छन् । यो तथ्यांक अहिले प्रतिवर्ष १५ लाख पुगेको अनुमान गरिएको छ । विश्वमा हरेक तीन सेकेन्डमा एकजनाले आत्महत्याको प्रयास गर्ने र प्रति ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ । यो संख्या समस्त प्राकृतिक तथा मानवसिर्जित प्रकोप, युद्ध, आतंककारी हमला, हत्या र हिंसाबाट हुने वार्षिक मृत्युदरभन्दा पनि बढी हो । महिलाहरू पुरुषभन्दा बढी आत्महत्या प्रयास गर्छन् । तर, खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरू नै बढी मर्ने गरेको पाइन्छ ।
आत्महत्या गर्नेमा किशोरकिशोरी बढी
विगत दशकमा विश्वका प्रायः देशमा बालबालिका तथा किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढेको पाइएको छ । १५ देखि ४४ वर्ष उमेर समूहका मानिसले बढी आत्महत्या गर्ने गरेका छन् । केही वर्षअघिसम्म ४० वर्षभन्दा माथिका व्यक्तिले धेरै आत्महत्या गर्ने गरेको तथ्यांक थियो । नेपालमा आत्महत्याको यकिन तथ्यांक पाउन मुश्किल छ । अत्महत्या भएका केसको अनुसन्धान नहुने, भएका अनुसान्धानको रेकर्ड नहुने, आत्महत्यालाई लुकाउने आदिले गर्दा आधिकारिक तथ्यांकको कमी छ । नेपाल प्रहरीको उपलब्ध तथ्यांकअनुसार प्रति वर्ष ३.७ देखि १०.३ प्रति एक लाखमा आत्महत्या भएको पाइन्छ । नेपालमा आत्महत्या मृत्युको तेस्रो ठूलो कारण भएको अध्ययनले देखाएको छ । आत्महत्याको दर गृहिणी, विद्यार्थी, मजदुर र बेरोजगारमा बढी पाइन्छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा मात्रै हरेक दिन दुईदेखि तीनजना आत्महत्या प्रयास गरेका व्यक्ति उपचारका लागि इमर्जेन्सीमा ल्याउने गरिएको तथ्यांक छ । पाटन अस्पतालको मानसिक रोग विभागमा उपचारका लागि आउने बिरामीमध्ये ५० प्रतिशतले आत्महत्याको सोच बनाएको उपचारका क्रममा बताउने गरेका छन् । प्रतिदिन औसतमा आउने ८० जना बिरामीमध्ये ४० जनाले आफूलाई आत्महत्या गर्ने सोच आएको बताउने गरेका छन् ।
आत्महत्या किन गर्छन् ?
कुनै पनि मानव व्यवहारको एकमात्र स्पष्ट कारण प्रायः हुँदैन भनेझैँ आत्महत्याका पनि थुप्रै अस्पष्ट कारण हुन्छन् । आत्महत्यालाई पनि विभिन्न वैज्ञानिक सिद्धान्तअनुरूप व्याख्या गरिएका छन् तर कुनै पनि सिद्धान्त पूर्ण भने छैनन् । अत्महत्यामा जैविक, वंशाणुगत, सामाजिक तथा मनोवैज्ञानिक पक्षहरूको भूमिका हुने गरेको पाइन्छ । अत्महत्या प्रयास गर्नेहरू मध्ये झण्डै ९५ प्रतिशत मानसिक रोगले ग्रस्त पाइएका छन् । मानसिक रोग भन्नाले पूरै विक्षिप्त, जथाभावी गरेर हिँड्ने मात्र नभई शारीरिक रूपमा पूरै स्वस्थ तर आफू र वरिपरिको वातावरणसँग मेलमिलाप नभई भित्रभित्रै पीडितहरू पनि जनाउँदछ । तीमध्ये डिप्रेसन प्रमुख (८० प्रतिशत) मानिन्छ । यसैगरी सिजोफ्रेनिया, डिमेन्सिया, रक्सी तथा अन्य लागुपदार्थ दुव्र्यसन, व्यक्तित्व गडबडी आदि पनि आत्महत्याका महŒवपूर्ण कारण हुन् ।
आत्महत्याको जैविक कारण
आत्महत्या गर्नेहरूका मस्तिष्क झोलमा पाँच हाइड्रोअक्सी इन्डोल एसिटिक एसिड (एआईएए) रसायन तथा ट्रिप्टोफेन हाइडोक्सिलेज इन्जाइम कमी पाइएको छ । मानिसको हरेक व्यवहार वंशाणुले निर्धारण गर्न सक्ने हुनाले आत्महत्या पनि विभिन्न वंशाणुमा निर्भर हुने सिद्धान्तले मान्यता पाएको छ । परिवारको कुनै सदस्यले आत्महत्या गरेमा अरू सदस्यले पनि गर्ने जोखिम बढ्ने तथ्यले पनि यस सिद्धान्तलाई बल मिलेको छ ।
सामाजिक कारण
समाजशास्त्री एमिल दर्खाइमका अनुसार मानिसहरू तीन कारणले आत्महत्या गर्छन्ः

  1.  कुनै पनि सामाजिक समूहसित आबद्ध नहुने एकलकाँटे व्यक्तिले आफ्नै लागि आत्महत्या गर्ने गर्छन् । यसलाई इगोइस्टिक आत्महत्या भनिन्छ ।
  2.  कुनै समूहसित प्रगाढ आबद्धता जनाई उनीहरूका भलाइका लागि भन्दै गरिने आत्महत्यालाई लोकोपकारी (एल्ट्रुइस्टिक) आत्महत्या भनिन्छ । आजकाल आतंककारी समूहद्वारा गरिने आत्मघाती हमलालाई यसै सिद्धान्तअनुरूप व्याख्या गर्न सकिन्छ ।
  3. सामाजिक आबद्धतामा गडबडी वा अस्थिरताले पनि आत्महत्या निम्त्याउँछ । आर्थिक मन्दी, बेरोजगारी, युद्ध आदि समयमा प्रायः बढ्ने यस किसिमका आत्महत्यालई एनोमिक आत्महत्या भनिन्छ ।

मनोवैज्ञानिक कारण

  1.  आफैँमाथि लक्षित अत्यधिक रिसः असफलता वा दुर्दशाको जिम्मेवार आफूलाई ठानी आफैँमाथि अत्यधिक रिस लक्षित हुँदा आत्महत्या गर्न पुग्छन् ।
  2. उल्टिएको मानव हत्या इच्छाः विश्वविख्यात मनोवैज्ञानिक सिग्मन्ड फ्रायडका अनुसार हरेक मानिसमा अन्य मानिस मार्ने दबित इच्छा हुन्छ । जब यो दबित इच्छा आफैँप्रति लक्षित हुन्छ, तब मानिस आत्महत्या गर्छन् ।
  3.  आत्महत्यापश्चात् नतिजा सम्बन्धी अनेकौँ भ्रमः कैयौँ मानिस विशेष परिवेश वा समयमा मर्दा विशेष लाभ हुने, मृत आफन्तसँग भेट्न पाइने जस्ता अन्धविश्वासका कारण पनि आत्महत्या गर्न उत्प्रेरित हुन्छन् ।

आत्महत्या हुन सक्ने जोखिमका संकेत
आत्महत्याबारे कुराकानी, इच्छा व्यक्त गर्नु, सधैँ मृत्युबारे सोचिरहनु वा कुराकानी गर्नु, आफू बेकार, असहाय वा निराश भएको व्यक्त गर्नु, ‘म नजन्मेको भए राम्रो हुन्थ्यो, म मरेपछि तिमीहरू पछुताउलाऊ, अब कुनै उपाय नै छैन’ आदि वाक्य बोल्नु, खूब दुःखी भइरहेको मान्छे अचानक शान्त र खुशी हुनु, मृत्युको इच्छा राख्नु वा मृत्यु निम्त्याउन सक्ने खालका कार्य गरी अकारण जोखिम उठाउनु, पहिलाका रुचिहरूमा चाख हराउनु, आफन्त साथीभाइहरूसँग नबुझिँदो बिदाइ, माफी माग्नु, आफ्ना कामकाज, हिसाब–किताब विस्तारमा फस्र्यौट गर्नु, मर्ने उपायबारे जानकारी खोज्नु आत्महत्या हुन सक्ने जोखिमका संकेतहरू हुन् ।
आत्महत्या प्रयास गरेकालाई के गर्ने÷के नगर्ने ?
हरेक आत्महत्या प्रयासलाई चिकित्सकीय एवं मनोवैज्ञानिक विपद् ठानी अस्पतालको इमर्जेन्सी विभागमा तुरुन्त लानुपर्छ । लाज, डर, संकोच र आवेग मानेर वा हल्का ठानेर हेलचेक्य्राइँ गर्दा बचाउन सकिने मानव जीवन गुम्न सक्छ । अस्पतालको इमर्जेन्सी विभागमा शारीरिक संकटको उपचारपछि तत्काल मानसिक रोग विशेषज्ञको परामर्श लिनुपर्छ । मानसिक रोग भए÷नभएको, आत्महत्याको भविष्यमा खतरा भए÷नभएको निर्धारण गरी सकेसम्म मानसिक रोगको सेवा पाइने अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्छ । फेरि प्रयास गर्दा झन् खतरनाक उपाय अपनाउन सक्ने हुँदा अत्यन्त सावधानीपूर्वक बिरामीलाई निगरानीमा राख्नुपर्छ ।
चक्कु, ब्लेडजस्ता धारिला हतियार, डोरी, विषादी, औषधि आदि  आत्महत्या प्रयास गर्नेको पहुँचबाट टाढा राख्नुपर्छ । त्यस्तै, उसलाई उचाइ भएका भवन वा स्थानमा जानबाट रोक्नुपर्छ ।
विशेषज्ञको सल्लाहबमोजिम नियमित उपचार, मनोचिकित्सा आदि गर्नुपर्छ । परिवार, आफन्त वा अन्यले पनि संवेदनशील भएर मद्दत गर्नुपर्छ । गालीगलौज गर्ने, लज्जित पार्ने वा सजाय दिएर सो व्यक्तिलाई अझ वेदना दिनु हुँदैन । सुरक्षित एवं आत्मीय वातावरणमा सो व्यक्तिलाई उसको भावना व्यक्त गर्न दिनुपर्छ ।
आत्महत्या रोकथाम

यस वर्षको विश्व अत्महत्या रोकथाम दिवसको नारा ‘सम्पर्क, सञ्चार र हेरचाह’ भन्ने छ । यो नाराले समेटेको भावना व्यवहारमा लागू गर्ने हो भने आत्महत्या रोकथाम गर्न सकिन्छ । समयमा उचित कदम, उपचार, सजगता अपनाएमा व्यक्तिलाई यो दुःखान्त घटनाबाट बचाउन सकिन्छ । अधिकांश आत्महत्या मानसिक रोगको प्रतिफल हुने हुँदा सर्वप्रथम त मानसिक स्वास्थ्य प्रवद्र्धन हुने सबै खाले कदम फलदायी हुन्छन् ।

 

Leave A Comment