पोखरीमा पसेर ज्यान जोगाउनेहरू

बुधबार, १५ बैशाख २०७३, ०७ : २०
पोखरीमा पसेर ज्यान जोगाउनेहरू

त्यो पोखरीमा गोमनलगायत विषालु सर्प हुन्छन् । दाँत तिखारेर बसेका भोका गोही र कसमाथि जाइलागूँ भनेर ढुकेझैँ गरी बसेका जलगैँडा पनि त्यहीँ हुन्छन् । यी सारा खतराको पर्वाह नगरी हजारौँ दक्षिण सुडानी त्यही जलाशयमा लुक्न जान्छन् । किनभने, जमिनमा उनीहरूमाथि त्योभन्दा ठूलो खतरा मडराइरहेको हुन्छ । अर्थात्, आफ्नै सरकारबाट उत्पन्न खतरा । अमेरिकाले सत्तासीन हुन सहयोग गरेको दक्षिण सुडानको सरकारसँग, त्यहाँको सेनासँग दक्षिण सुडानी गोहीसँग भन्दा बढ्ता भयभीत छन् ।

'जब सरकारका सैनिक गाउँमा आउँछन्, हामी हतारहतार पानीभित्र पस्छौँ । नाकमात्रै पानीबाहिर निस्किने गरी जलाशयभित्र लुक्छौँ,' आफ्नै देशको सैनिकका कारण थातथलोबाट लखेटिएकी याकियर गाट्लौकले मसँग भनिन् । विभिन्न जलाशय र नदी पार गरेर उनी एउटा टापूमा पुगिन् । त्यही टापूले अहिले उनलाई आश्रय प्रदान गरिरहेको छ । त्यहीँ मैले उनलाई हालसालै भेटेको थिएँ ।

पानीभित्र लुक्न जाँदा उनी र अन्य अभिभावकले आफ्ना छोराछोरीलाई हल्ला नगरीकन नाक पानीबाहिर निकालेर जलाशयभित्र लुक्न लगाउने गर्छन् । यसरी मात्रै सैनिकहरूको आँखा छल्न सकिन्छ भन्ने उनीहरूलाई लाग्छ ।
पानीभित्र लुक्दा गोहीसँग डर लाग्दैन ? भनी मैले याकियरलाई सोध्दा उनले भनिन्, 'सैनिकको हातबाट मारिनुभन्दा पानीभित्र सर्प अथवा गोहीबाट मारिनु हामीलाई सजिलो लाग्छ ।'
Sudann
०००

संसारको कान्छो देश दक्षिण सुडानमा भयावह गृहयुद्ध भड्किएको छ । यस्तो गृहयुद्धले सरकारी फौजलाई सिंगै गाउँमाथि आगजनी गर्न, निहत्था किसानको हत्या गर्न, पुरुषहरूको अण्डकोष काटेर मिल्काइदिन, युवतीहरूलाई बलात्कार गर्न र अस्पतालमा समेत लुट मच्चाउन प्रेरित गरिरहेको छ । विद्रोहीहरू पनि यस्तै खालका गतिविधिमा संलग्न छन् । राहतकर्मी र पत्रकार आक्रमणको तारोमा छन् । हतियारधारी पुरुषहरूले क्याथोलिक चर्चको कम्पाउन्डमा पसेर ६७ वर्षीया भिक्षुणीलाई बलात्कार गर्ने खालका काम पनि त्यहाँ भएका छन् ।

गृहयुद्धका कारण २० लाखभन्दा बढी दक्षिण सुडानी आफ्नो थातथलोबाट लखेटिएका छन् । जलाशयभित्र लुकेर ज्यान बचाउनेको संख्या अनिगिन्ती छ । राष्ट्रसंघका अनुसार दुई वर्षयता कम्तीमा ५० हजार मानिसको दक्षिण सुडानमा हत्या भइसकेको छ । यस्ता तथ्यांकमा शंका गर्ने ठाउँ होला । तर, पनि के सत्य हो भने सिरियामा जति नै दक्षिण सुडानमा पनि सर्वसाधारणको हत्या भइरहेको छ । बढ्दो भोकमरीले अवस्थालाई अझ भयावह बनाइरहेको छ । यति हुँदाहुँदै पनि दक्षिण सुडानमा जारी संकटले कूटनीतिक वृत्त अथवा मिडियाको ध्यान पाइरहेको छैन ।

०००

त्यस टापूमा पुगेपछि मैले भेटेको पहिलो व्यक्ति याकियर नै हुन् । गत मे महिनामा औपचारिक पोशाक लगाएर आएका सरकारी फौजले उनको गाउँमा हमला गरेका थिए । केही महिला र केटाकेटीलाई गोली दागेर मारेका थिए । उनकी बहिनीलाई बलात्कारसमेत गरे । संयोगले उनी भागेर त्यस टापूसम्म आइपुगिन् । मृत्युको पञ्जाबाट फुत्किएर भाग्दै आउँदा टापूमा उनले लुक्ने ठाउँ पाइन् । त्यस टापूको नाम म किन खोलिरहेको छैन भन्ने कुरा पाठकहरूले अवश्य पनि बुझिसक्नुभएको छ ।

पानीभित्र लुक्दा ज्वरो आएर उनको तीन वर्षीय छोरो बान्यिनीको मृत्यु भइसकेको छ । चरम कुपोषणका कारण उनको आठ महिनाको छोरोको ज्यान पनि जोखिममा छ । छोरोलाई उनी स्तन चुसाउँछिन् । तर, बिचरी आफैँ भोको छिन् । दूध कहाँबाट आओस् ? एक मध्यान्ह उनलाई भेट्दा उनीसँग त्यस दिन खानका लागि केही पनि थिएन ।

यो अभागी परिवारले भोगेको दुर्दशालाई दशौँ लाखले गुणा गरेर हेर्नुभयो भने संसारकै गरिब मुलुक दक्षिण सुडानले अहिले भोगिरहेको संकटबारे अनुमान लगाउन सक्नुहुन्छ ।

०००

सन् २०११ मा अमेरिकाले दक्षिण सुडानलाई स्वतन्त्रता हासिल गर्न सहयोग ग¥यो । अहिले गृहयुद्ध भड्किएको त्यस देशमा युद्धमा सहभागी हरेक पक्ष बर्बरतामा उत्रिएको छ । दुर्भाग्य नै भन्नुपर्छ, त्यहाँको गृहयुद्धले जातीय स्वरूप लिएको छ ।

एउटा शहरको सानो बजारमा मैले छ वर्षीय बालकलाई भेटेँ, जो त्यहाँको नुएर जातिका थिए । ती बालक ठ्याक्कै बन्दुकजस्तै देखिने माटोबाट बनेको आकृतिसँग खेलिरहेका थिए । उनीसँग माटोबाट बनेका ट्राइपोड, मेसिनगन पनि थिए । त्यसमा जडान गरिने गोलीको माला पनि माटोबाटै बनाइएको थियो । ती सबै उनी आफैँले बनाएका थिए ।

उनको अद्भुत कला र क्षमता देखेपछि भोलि गएर उनी ठूलो इन्जिनियर बन्छन् होला भन्ने मैले सोचेँ । उनको लक्ष्य चाहिँ अर्कै रहेछ । 'म फौजमा भर्ती हुन्छु र डिंका जातिका मान्छेलाई छानी–छानी गोली हानेर मार्छु,' सरकारमा बलियो पकड बनाएको 'विरोधी जाति'प्रति ती बालकले आक्रोश व्यक्त गरे ।

किन उनीहरूलाई मार्छौ भन्दा उनको जवाफ प्रस्ट थियो, 'किनकि उनीहरू हामीलाई मार्न आउँदै छन् ।'

दक्षिण सुडानको अवस्था देख्दा यस्तो लाग्छ– त्यहाँको जातीय हिंसा जातीय नरसंहारको दिशातिर क्रमशः उन्मुख हुँदै छ । र, यसले हतियारधारी लडाकुलाई नभई महिला र बालबालिकालाई बढी जोखिममा पारेको छ । भोकमरी र रोगले उनीहरूमाथिको संकट अझ बढाएको छ ।

०००

दक्षिण सुडानको एउटा ग्रामीण भेगमा मैले यापोट निन्रिउ नाम गरेकी एउटी महिलालाई भेटेँ, जो गृहयुद्ध सुरु हुनुअघि ६० वटा पशुचौपायाकी धनी थिइन् । आफ्नै घरमा उनी सुखसयलको जिन्दगी बाँचिरहेकी थिइन् । केही महिनाअघि सरकारी सैनिकले उनको घरमा हमला गरे र उनलाई बन्दी बनाए । पाँच महिनाकी गर्भवती उनका दुवै हात पछाडि लगेर बाँधिदिए, घाँटीमा पासो लगाए र घरको सिलिङमा डोरी टाँगेर झुण्ड्याइदिए । उनी छटपटाउन थालिन् । त्यत्तिकैमा सैनिकमध्ये केहीले हाँस्दै झुण्ड्याएको डोरी काटिदिए र उनलाई त्यसै छोडेर गए । जानुअघि उनको घर जलाइदिए, घरभित्र भएका लत्ताकपडा लुटे र भएभरका पशुचौपाया लिएर गए । यौनदासी बनाउन उनका दुई बहिनीलाई अपहरण गरेर लगे । संयोगले ती बहिनीहरू अपहरणकारीको पञ्जाबाट उम्किएर भाग्न सफल भए ।

ती सैनिक पुनः फर्किएलान् भनेर पाँच सन्तान साथमा लिई यापोट घरछेउको खाडलमा लुक्न गइन् । सबैजना घाँटीसम्म डुबेर पानीभित्र दिनभरि बसे । रात परेपछि घिस्रिँदै किनारमा निस्किए, निदाउन भनेर । यो क्रम अझै जारी छ । सरकारी फौजको आँखा छल्न यसरी पानीभित्र लुक्ने हुँदा चार र आठ वर्षका उनका दुई सन्तानको डुबेर मृत्यु भइसकेको छ ।

बाँकी संसारले थाहा नपाएको यस्तो बर्बरता दक्षिण सुडानमा जारी छ । त्यहाँका पीडितहरू अहिले संसारकै सबैभन्दा निरीह प्राणी भएका छन् । उनीहरूको दीनहीन अवस्थाबारे बाँकी संसारलाई थाहापत्तो छैन । उनीहरूले बेहोर्नुपरिरहेको दुर्दिनको एउटा महŒवपूर्ण कारण यो पनि हो ।

०००

हालसालै राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकार मातहतका फौजलाई तलबको सट्टा महिलाहरूलाई बलात्कार गर्ने छुट दिइएको छ । 'त्यहाँ संसारभरिकै सबैभन्दा भीषण ढंगले मानव अधिकार उल्लंघन भइरहेको अवस्था छ । बलात्कारलाई आतंक र युद्धको हतियार बनाइएको छ । यति हुँदाहुँदै पनि यसले अन्तर्राष्ट्रिय ध्यान पाउन सकेको छैन,' राष्ट्रसंघीय मानव अधिकार कार्यालयका उच्चायुक्त राड अल–हुसेन भन्छन् ।

०००

राहतमा संलग्न समूहले अप्ठेरोमा परेकाहरूलाई सहयोग गर्ने प्रयत्न साहसी ढंगले जारी राखेका छन् । तर, काम गर्ने वातावरण असाध्यै कठिन र भयावह छ । राहतकार्यमा सरिक हुन राहतकर्मीहरूले ठूलो मूल्य चुकाउनु परिरहेको छ । हरेक दुई सातामा एकजना राहतकर्मीको त्यहाँ हत्या हुने गरेको छ । र, राष्ट्रसंघले पर्याप्त रकम राहतकार्यमा खर्चिएको पनि छैन । राहतकार्यको असाध्यै खाँचो परेको अहिलेको बेला राहतकार्यमा संलग्न केही अन्तर्राष्ट्रिय नियोग दक्षिण सुडानबाट फर्कने तयारीमा छन् ।

दक्षिण सुडानमा जारी संकट समाधानका लागि ठोस नीति बन्न सकेको छैन । दक्षिण सुडानमा हुने हतियार आपूर्तिमाथि नाकाबन्दी लगाएमा र गृहयुद्धमा सरिक दुवै पक्षका मानिसको सम्पत्तिलाई लक्ष्य गरी विभिन्न खाले प्रतिबन्ध लगाएमा अवस्थालाई केही मत्थर पार्न सकिने सम्भावना छ । जातीय नरसंहारविरुद्ध आवाज उठाइरहेको 'इनफ प्रोजेक्ट'मा आबद्ध जोन प्रेन्डरगास्टको सुझाव छ, 'त्यस्ता मानिसको सम्पत्तिलाई तारो बनाऊ र उनीहरूमाथि आर्थिक दबाब बढाऊ । साथै, दुवै पक्षका नेतालाई निगरानीमा राख । यति गरियो भने अवस्थामा केही सुधार ल्याउन सकिन्छ ।'

निश्चय पनि हामी संसारमा हुने सबै बर्बरतालाई रोक्न सक्दैनौँ । तर, दक्षिण सुडानमा जारी अवस्थालाई रोक्न सकिन्छ भन्नेमा म विश्वस्त छु । जब निश्चित जातीय समुदायमा जन्मिएकै कारण मारिने, बलात्कृत हुने, अंगछेदनको शिकार हुने, भोकै रहनुपर्ने अवस्था आउँछ, अमेरिकाले सत्तामा आउन सहयोग गरेको दक्षिण सुडानको सरकार त्यहाँका मानिसका लागि भोका गोहीभन्दा जब डरलाग्दो हुन्छ, तब हामीले थोरै भए पनि तदारुकताका साथ केही गर्नैपर्ने हुन्छ ।
- See more at: http://nagariknews.com/friday/story/62467.html#sthash.zVgU0irt.dpuf

Leave A Comment