‘समाज भाँडिएर केही फरक पर्दैन’

सोमबार, २३ भदौ २०७६, १२ : ०७ शुक्रवार
‘समाज भाँडिएर केही फरक पर्दैन’

लेखनमा सक्रिय सावित्री गौतम पोखरामा बस्छिन्। पत्रपत्रिकाका लागि निरन्तर लेखिरहने उनी महिला अधिकार र समानता बारेको बहसमा अग्रपंक्तिमा छिन्। उनका नयाँ लेख आयो कि बहस शुरु हुन्छ। समाज भाँडेको आरोप पनि लागिरहन्छ उनलाई। गौतमसँग पठन यात्रा र उनको आलेखमा पाठकले दिने प्रतिक्रियाबारे शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानी :

अहिले के पढिरहनुभएको छ ?
दुईवटा पुस्तक सँगै पढिरहेकी छु। सामन्था पावर अमेरिकन पत्रकार रै’छिन्। उनको पुस्तक ‘अ प्रोब्लम फ्रम हेल’। एक जना साथीले तिम्रोजस्तै लेखनशैली भएको पुस्तक छ पढ्नू भनेर सुझाव दिनुभएकाले यो पुस्तक पढेकी हुँ। उनको शैली पनि घटनाको व्याख्या गर्दै लेख्ने रहेछ। राम्रो लाग्दैछ। अर्काे पुस्तक युभल नोह हरारीको ‘सेपियन्स’ पढ्दै छु। मोटो पुस्तक देखेपछि पल्टाउन अलि अत्यास लाग्छ। त्यसमाथि यो साइन्सको बारेमा हो भन्ने लागेको थियो तर यो पुस्तकमा त मानव विकास क्रमबारे सरल तरिकाले लेखेको रहेछ।

प्रायः नेपालीको पठन कोर्स बुकबाटै शुरु हुन्छ। कोर्स बाहेकको पुस्तकमा कसरी रस बस्यो ?
सानोमा अन्तर्मुखी थिएँ। किताबमा मात्रै खुल्थेँ। हाम्रो बाहुनक्षेत्रीको घरमा स्वस्थानी, महाभारतका पुस्तकहरु हुने। संस्कृत पढेपछि स्पष्ट बोल्छन् भनेर चर्काे गरी पढ्न लगाइन्थ्यो। सुरुमा सांस्कृतिक पुस्तक नै पढेँ। पढाइमा स्कुलमा राम्रो विद्यार्थी थिएँ। गण्डक क्षेत्रमा हुर्किएका कारण पुस्तकको एकदमै अभाव हुन्थ्यो। पछि चितवन गएर बसेपछि भने फुर्सद भयो कि पुस्तक पढ्ने बानी बस्यो। महात्मा गान्धी, बिपी कोइराला, डायमन शमशेरका पुस्तकहरु स्कुल पढ्दा नै पढेकी थिएँ। साथीको पुस्तक पसल थियो, त्यहाँबाट पनि खुब पढियो। महिनावारी भएको बेला घरमा अरु काम गर्न नहुने, कोर्सको पुस्तक पढेकी छ कि अरु भन्ने वास्ता पनि नगर्ने। महिनाको ४ दिन त कोर्स बाहिरको पुस्तक पढेर बित्थ्यो।

हिजोआज पठनसंस्कृतिको कुरा जोडतोडले उठेको छ। यसमा तपाईंको धारणा ?
पठन संस्कृतिको नाममा भइरहेको बहसका एक दुईवटा कुरा अनौठा लाग्छन्। पहिलो व्यक्तिगत खर्चमा महँगा किताब पढेर मात्रै ठूलोमान्छे भइन्छ भनेजस्तो तरिकाको सो अप  भइरहेको जस्तो देख्छु। त्यसले किताब किनेर पढ्न नसक्नेलाई हीनताबोध गराउँछ। अर्कोचाहिँ यति रुपैयाँको मम खानुभन्दा त यति रुपैयाँको किताब आउँछ भन्ने खालको कुरा पनि देखिन्छ। सबै मान्छे पढन्ते हुनुपर्छ भन्ने जरुरी छैन। कोही हातमा पैसा आएपछि किताब किन्ने हुनसक्लान्, कोही थरीथरीका खानेकुरा खान मन गर्ने हुन सक्लान्। यो मम खाने पैसाको किताब आउँछले पनि समाजमा विविध रुचि भएका मान्छे हुन्छन् भन्ने कुरालाई त अस्वीकार गरेको ठहर्छ नि ! पढ्नेहरु मात्रै सबैथोक हुन् भनेको जस्तो भयो।

पठन भनेको संस्कृति भन्दा पनि चाहको कुरा हो। जबरजस्ती हुने कुरा होइन। म भारतमा पढ्न बस्दा मेरो एक जना साथीले भन्थी, तैँले पढेको देखेर पागल हुन्छु। सबै आफ्नो रुचिअनुसार भर पर्ने कुरा हुन्।

तपाईंका रोजाइमा कस्ता पुस्तक पर्छन् ?
सुरुवाती चरणमा जस्ता पुस्तकहरु भेटिन्थ्यो, त्यस्तै पुस्तक पढिन्थ्यो। जे भेटेँ, त्यही पढेँ।  फिक्सन भन्दा नन्फिक्सन ज्यादा पढिरहेकी हुन्छु।

कुनै पुस्तक लामो समयसम्म मस्तिष्कमा बस्छन्। कुनै पढ्यो सक्कियो। पढेकामध्ये कुनै पुस्तकले लामो समयसम्म प्रभाव पारेको छ ?
नामै लिनु पर्दा म्याक्सिम गोर्कीको ‘आमा’। रसियन साहित्य खुब पढेकी थिएँ। वैचारिक लाग्ने पुस्तकले प्रभाव पा-थ्यो। अहिले पनि कहिलेकाहीँ सोचिरहेको बेलामा आमा पुस्तकका पात्रहरु सम्झना आइरहन्छन्।

अब लेखनमा जाउँ। तपाईंंका लेखहरु बढी फेमिनिस्ट हुन्छन् हो ?
फेमिनिस्ट बढी  र कम भन्ने हुँदैन। महिलाहरु पनि मान्छे हुन् भन्ने मान्नुभयो भने समस्या आउँदैन। तिमीहरुलाई यति अधिकार भन्दा कति चाहियो भन्ने सोचाई राखेर मेरो लेख पढिन्छ भने बढी भएको लाग्न सक्छ। मेरो लेख पढेपछि धेरैले फेमिनिस्ट भने। मनमा खुल्दुली लाग्यो, विश्वका फेमिनिस्ट कस्ता छन् त ? जब ‘द सेकेन्ड सेक्स’ पुस्तक पढेँ, म त यति धेरै इज्जतिलो शब्द फेमिनिस्ट प्राप्त गर्न योग्यता नै पुगेको छैन जस्तो लाग्यो। फेमिनिस्ट हुन मैले धेरै काम गर्न बाँकी नै छ।

तपाईंको लेखमा समाज र संस्कृति भाँड्ने, तहसनहस पार्ने मनसाय बढी हुन्छ भनिन्छ नि ! हो त ?
यो असामनताले भरिएको समाज भाँडिएर के भयो त ? राज्यले नै फलानो लिंग भएकाले यति अधिकार र फलानो लिंग भएकालाई उति अधिकार भनेर विभेद गर्छ भने त्यो समाज त भत्कनै पर्छ।

जसलाई म दिने हुँ, यिनीहरु लिने हुन्, महिलाको पनि जन्मजातै प्राप्त अधिकार हो भन्ने बुझेको हुँदैन, त्यस्तो सोचाई भएको मान्छेलाई समाज भाँडिएको लाग्नु स्वाभाविक हो। फेरि मेरो लेखको उद्देश्य पनि विभेदकारी समाजको व्यवस्था भाँड्नु नै हो। अझ भाँडिने गरी कामै हुन सकेको छैन। सफाई कार्यक्रम मात्र चलेको छ। जबसम्म महिलाहरु सत् प्रतिशत मान्छे हुन पाउँदैनन् नि, तबसम्म समाज भाँड्ने काम भइरहन्छ।

हरेक तहको पदमा संविधानमा नै अनिवार्य गरेको पनि दिने चलन छैन। देशकै प्रधानमन्त्रीले महिलाहरुले ट्याउट्याउँ गर्लान् भन्ने अनि केही बौद्धिक भनिएकाहरुले अन्याय भयो भनेर बोल्दा डलर बकेको भन्ने आरोप लाग्ने गरेको छ। के महिलाहरु अधिकारकर्मीहरु डलर नखाई बोल्न सक्दैनन् ?
मेरो व्यक्तिगत कुरा गर्दा म कुनै एनजिओ आइएनजिओमा संलग्न छैन तर जसले डलर खाएर बकेको भन्नुहुन्छ, उहाँहरुलाई भन्ने गरेकी छु, हाम्रो देशको कति कार्यक्रम होलान् जुन वैदेशिक लगानी बिना बनेका ? त्रिविका कति कार्यक्रम दाताबाट चल्ने हुन् ? गैर सरकारी संस्थाहरु भनेको आमाको दुध नआएको अवस्थामा ल्याक्टोजिन खुवाएजस्तो हो। अरु केही भएको होइन, आफ्नो मुठ्ठीमा चेपेर, हडपेर राखेको अधिकार दिन गाह्रो भएको मात्र हो।

विभेदका अन्य कारण पनि छन् तर लेख पुरुष विरोधी मात्र हुनुको कारण ?
मैले बारम्बार भनेकी छु, म पुरुष विरोधी हैन। पुरुषलाई मात्र केन्द्रमा राखेर बनाइएको सामाजिक, राजनीतिक आर्थिक संरचनाको विरोध गरेको मात्र हो। तर फेमिनिस्ट भनेकै पुरुष विरोधी चित्रित गरिन्छ तर बुझ्नेले त्यस्तो भन्दैनन्। खाईपाई आएको गुम्छ भन्ने पितृ सत्तात्मक सोच भएकाले विरोध गरेका हुन्।

सन् १९५० ताका दुईथरि महिलावादी थिए। एकथरि पुरुष सँगै समानान्तर मिलेर समानताको कुरा गर्ने अनि अर्काे चाहिँ पुरुषलाई पूरै बायस गर्ने। नेपालमा चलेको कुन चैँ हो त ?
कुनै बेला पुरुषलाई पुरै बायस गरेर जाने भन्ने मुभमेन्ट पनि चलेको थियो। भएको के होला भने पुरुषको हिंसाबाट दिक्दार भएको बेला यस्तो थ्योरीको विकास भएको होला। बेलाबेला सबै थ्योरी परिर्वतन हुने गरेका छन्। सबै कुरा रिभाज्ड भइसक्यो। महिला अधिकार भनेको पुरुष बायस हैन, पुरुष बराबर हो भन्ने बुझ्नुप-यो।  

महिलाहरु खासै पढ्दैनन्, विषयवस्तु नै बुझ्दैनन् पनि भनेको सुनिन्छ। हो ?
महिलाहरुले नपढ्नु एकदमै सही कुरा हो। औपचारिक शिक्षा पढ्न थालेकै कति भयो र ? अझै पनि छोरीमान्छे राम्रोसँग पढ्न पाएका छैनन्। नेपाली समाजमा पढ्ने सांस्कृतिक कारण छन्। ग्रामीण क्षेत्रमा कोर्सको पुस्तक पढ्न त फुसैद त छैन अनि अर्काे कुरा महिलाहरु पनि रुचि नभएका पनि हुन सक्छन्। पढाइ भनेको व्यक्तिगत रुचिको कुरा हो नकि महिला न पुरुष। सबै पुरुषहरु पनि पढ्दैनन्।

लामो समयदेखि महिला अधिकार क्षेत्रमा काम गर्नुभएकी डाक्टर मीना आचार्यले सोलोडोलो महिलाका मुद्दा आएका छन्। अनुसन्धानमा आधारित आएका छैनन् भन्नुभएको छ। यस्तो किन भएको त ?
हाम्रो देशको समस्या नै के हो भने कुनै पनि विषयमा गहिरो अनुसन्धान छैन। केही निजी तवरबाट मार्टिन चौतारीजस्तो संस्थाले गरिरहेका छन् तर पर्याप्त पुगेको छैन। महिलाको विषयमा नै भएको त्यही हो। पहिलो कुरा, रिसर्च गर्नलाई स्रोत चाहियो। दोस्रो, समय। महिलाको कुरा महिलाले नै अनुसन्धान गर्न सामाजिक, सांस्कृतिक कारणले पनि हुन सकिरहेको छैन। अनुसन्धानमा आधारित कुरा आउन वातावरण छैन। जसोतसो आफैँ वातावरण सिर्जना गरेर महिलाको मुद्दा स्थापित गर्न महिलाहरु लागिपरेकै छन्।

Leave A Comment