यो मौन बस्ने समय होइनः महाश्वेता देवी

बुधबार, २२ भदौ २०७३, ०९ : ५७ शुक्रवार , Kathmandu
यो मौन बस्ने समय होइनः महाश्वेता देवी

उत्पीडितका पक्षमा सम्पूर्ण जीवन उत्सर्ग गरेकी भारतीय लेखिका महाश्वेता देवीको हालसालै निधन भयो । सन् १९८० मार्चमा ‘समकालीन तीसरी दुनिया’ का सम्पादक आनन्द स्वरूप वर्मा आफ्ना मित्रहरू गोरख पाण्डेय, उर्मिलेश र चमनलालसहित महाश्वेता देवीलाई भेट्न गएका थिए । त्यतिबेला उनी हिन्दी प्रकाशक ‘राधाकृष्ण प्रकाशन’को निमन्त्रणामा दिल्ली आएकी थिइन् । उनको उपन्यास ‘हजार चौरासी की माँ’को हिन्दी अनुवाद भइसकेको थियो र हिन्दीभाषी लेखक÷पाठकका बीच उनको लेखन शैलीबारे बहस, छलफल सुरु भइसकेको थियो । उत्पीडित समुदायको पक्षमा उनको प्रतिबद्धताले लेखकहरूको एउटा समुदायलाई निकै तीव्र रूपले आकर्षण गरिरहेको थियो । बंगाली भाषामा छापिएको उनको लेख ‘आजको लेखन र केही प्रश्न’ बंगाली लेखकहरूका बीच निकै चर्चामा थियो । वर्माले महाश्वेता देवीसँग लामो कुराकानी गरेका थिए । ‘समकालीन तीसरी दुनिया’को सन् १९८० अप्रिल–मे अंकमा छापिएको त्यो अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।
 सबैभन्दा पहिले लेखकले पूर्ण संवेदनाका साथ जनतालाई माया गर्नुपर्छ । र, इमानदारीपूर्वक उनीहरूको जीवनलाई बुझ्नुपर्छ । जनताका समस्या र संघर्षदेखि अलग्गै रहन खोज्नु लेखकको सबैभन्दा ठूलो अपराध हो ।

साहित्यको विषयमा तपाईको दृष्टिकोण के हो ? तपाईंका उपन्यासहरूको विषय विभिन्न जनआन्दोलनबाट लिइएका छन् । यस्तो अवस्थामा स्वभावतः लेखकको सहभागिता पनि ती आन्दोलनमा कुनै न कुनै रूपमा हुन्छ ।
जनमुखी साहित्यसँग मेरो जहिले पनि सम्बन्ध रहेको छ । सामाजिक आन्दोलन र समाजको विभिन्न सामाजिक–राजनीतिक गतिविधिलाई वास्तविक रूपमा चित्रण गर्नु कुनै पनि लेखकका लागि आवश्यक कुरा हो । किनभने, यसरी उसले समाज र युगका समस्यालाई आफ्ना रचनाहरूको विषय बनाउँछ । म तेभागा आन्दोलन (सन् १९४२–४७) र सन् ५० को दशकको अन्न आन्दोलनमा सहभागी थिएँ ।
‘हजार चौरासी की माँ’लाई हिन्दी पाठकले निकै स्वागत गरे । बंगाली भाषामा यो कहिले प्रकाशित भयो र त्यस क्षेत्रमा यस उपन्यासलाई कसरी लिइयो ?
मेरो यो उपन्यास सन् १९७३ मा प्रकाशित भएको थियो । कम्युनिस्ट आन्दोलनसम्बन्धी अन्य कैयौँ रचनाहरू पनि छापिएका छन् । ‘हजार चौरासी की माँ’ शहरी मध्य वर्गको परिप्रेक्ष्यमा छ । अतः शहरहरूमा व्यापक स्तरमा मानिसहरूले यसलाई स्वागत गरे ।
पछिल्लो दशकका जनसंघर्षहरूले समकालीन लेखनलाई नयाँ परिप्रेक्ष्य दिएका छन् । यस सम्बन्धमा तपार्इंको व्यक्तिगत विचार के छ ?
निश्चित रूपमा नक्सलवाडी किसान संघर्षले समकालीन साहित्यलाई प्रभावित गरेको छ । तर, पनि यस क्षेत्रमा साहित्यकारहरूले विशेष काम गरेनन् । अधिकांश लेखक सन् १९७३ सम्म यसबाट पूरै उदासीन रहे । बंगाली मध्यम वर्गका लागि नक्सलवाडी आन्दोलन केवल शिक्षित युवा र पढेलेखेका बेरोजगार युवाहरूको आन्दोलन हो । तर, नक्सलवाडी आन्दोलन कुनै एक्लो त्यस्तो घटना होइन, बरु यो भारतीय इतिहासको असंख्य किसान संघर्षहरू र तिनका महान् परम्पराको तर्कसंगत ऐतिहासिक परिणाम हो । यो पूरै दशकको संघर्ष र ती मूल्यहरूप्रति इमान्दारीपूर्वक सोचिनु र लेखिनुपर्छ । मात्र सहानुभूति प्रकट गरेर उत्तरदायित्व पूरा हुँदैन । यस रक्तरञ्जित दशकको मूल कारण साना किसानहरू, खेतमा काम गर्ने मजदुरहरू, अधिया गर्नेहरू र आदिवासीहरूको भयानक शोषण हो र यो शोषण आज पनि कायमै छ । शोषणको मूल कारण भारतका नयाँ जमिनदार र उनीहरूलाई दिइने अधिकारमा रहेको छ । उनीहरूलाई भारतको राज्य र केन्द्र सरकारले खुला संरक्षण प्रदान गरिरहेको छ । यी कुरालाई पूर्ण रूपमा न फिल्महरूमा ल्याइयो, न त साहित्यमा । तेभागा र तेलंगाना आन्दोलनको पनि साहित्यकार र फिल्म निर्माताहरूले उपेक्षा गरे । किसान क्रान्तिको ऐतिहासिक प्रक्रियाको साहित्यिक रचनाद्वारा निर्देशन गर्नु आजको सचेत लेखनको दायित्व हो ।
यस सम्बन्धमा वास्तविक रूपमा किन लेखिएन अथवा किन लेखिँदैन ?
मेरो विचारमा महान् जनआन्दोलनका विषयमा नलेखिनु षडयन्त्र हो र यो लेखकीय अपराध पनि हो । नयाँ लेखकहरूले यस दिशामा राम्रो काम गरेका छन् । नयाँ पिढीबाट मैले निकै आशा गरेकी छु । मैले पनि नयाँ उपन्यास ‘मास्टर साहब’ लेखेकी छु, जुन बिहारका किसानहरूको संघर्षमा आधारित छ । तर, त्यसको प्रकाशनमा अलिक समय लाग्छ होला । यस समयका अपेक्षाकृत कम प्रसिद्ध र नयाँ लेखकहरूले कविता, कथा र नाटकका माध्यमबाट नवीन वास्तविकतालाई व्यक्त गरेका छन् ।
यस प्रकारका उपन्यासहरूको लेखनमा ऐतिहासिक सामग्रीको अर्थात् तथ्यहरूको सही जानकारीको आवश्यकता त पर्छ होला ?
लगभग सबै उपन्यास (‘अग्निगर्भ’, ‘जंगल के दाबेदार’ र ‘मास्टर साहब’) का लागि मैले निकै दुःख गर्नुप¥यो । ‘जंगल के दाबेदार’ को भूमिकामा मैले यसबारे उल्लेख पनि गरेकी छु । त्यसका लागि ‘फिल्ड वर्क’, पुस्तकालय र संग्रहालयबाट तथ्य संग्रह गर्नु अनिवार्य हुन आउँछ । ‘हजार चौरासी की माँ’को पूरै परिवेश बंगालमा आफ्नै आँखाले देखेकी हुँ । कलकत्ताको सायदै कुनै टोल बाँकी थियो, जहाँबाट कुनै न कुनै ब्रती (उपन्यासको नायक) को लाश ननिस्किएको होस् ।
यता पंजाबीमा पछिल्लो दशकका जनसंघर्षलाई अधिकांश युवा लेखकले आफ्ना रचनाका विषय बनाएका छन् । पछिल्ला पंजाबी साहित्य पढ्नुभएको छ ?
पंजाबी साहित्यबारे मैले सुनिराखेकी छु तर पंजाबी लेखकहरूको रचना झण्डै पढेकी छैन भन्दा पनि हुन्छ । पढ्न भने चाहन्छु । आजको सन्दर्भमा एउटा निकै महŒवपूर्ण कुरा के लाग्छ भने हामी सबै लेखकलाई जनताको दैनिक जीवनलाई नजिकदेखि ननियालीकन लेख्ने कुनै अधिकार छैन । हामीलाई जनतासम्म जानुपर्ने निकै आवश्यकता छ । उनको नजिक जाऔँ, उनको वास्तविक जीवनसँग जोडिएका कथाहरूलाई बुझौँ र हामीसँग जे छ त्यो उनीहरूलाई दिऔँ । हामीले शोषणको जटिल प्रक्रियालाई सबैका सामु ल्याउनुपर्ने हुन्छ । जनताको संघर्षलाई उनीहरूको विकासको दिशामा व्यक्त गर्नुपर्ने हुन्छ । ताराशंकर, प्रेमचन्द्र र मानिक बन्धोपाध्यायबाट हामीले धेरै सिक्नुपर्छ ।
‘द्रौपदी’ चरित्रका लागि कहाँबाट प्रेरणा पाउनुभयो ?
यो प्रेरणाको कुरा होइन, द्रौपदी त एउटी छैनन् नि । त्यो एउटी वास्तविक द्रौपदी हो । यस्ता कैयौँ द्रौपदी छन् । हरेक ठाउँमा किसानहरूको संघर्षका कारण नयाँ स्थितिहरू पैदा भइरहेका छन् । तिनलाई बुझ्नु र लिपिबद्ध गर्नु आवश्यक छ ।
‘हजार चौरासी की माँ’ले मानवीय संवेदनालाई छोइदिन्छ !
सबैभन्दा पहिला पूर्ण संवेदनाका साथ लेखकले जनतालाई माया गर्नुपर्छ । र, इमानदारीपूर्वक उनीहरूको जीवन, जुन आफैँमा एउटा समस्या हो, त्यसलाई बुझ्नुपर्ने हुन्छ । तब मात्र यस्तो संवेदना पैदा हुनसक्छ ।
हिन्दीमा प्रकाशित यी तीनवटै रचनापछि तपाईं कुन कुरा उठाउन चाहनुहुन्छ ?
ती कारणहरू, समस्याहरू आफ्नो पूर्ण ज्वलन्तताका साथ अझै पनि अस्तित्वमा छन्, जसका लागि जनताले बलिदान दिएका हुन् । आजको अवस्थामा ती कारणहरू, ती समस्याहरू र वर्तमान युगको समस्त अन्तरविरोधलाई उजागर गर्नु नै कुनै पनि रचनाकारको ऐतिहासिक दायित्व हो । म के कुरा स्पष्ट पार्न चाहन्छु भने म कुनै राजनीतिबाट प्रेरित छैन । न त कुनै पार्टी विशेषकी समर्थक हुँ । यो कुरा त मात्र मानवीय भावना र सामान्य मानवीय संवेदना हो । त्यसैले यी उपेक्षित प्रश्नहरूलाई मैले मेरो रचनाको विषय बनाएँ । म यसलाई आफ्नो दायित्व भन्ठान्छु । यो मौन बस्ने समय होइन ।
आजको सन्दर्भमा जनवादी लेखनको भूमिका र विकासका बारेमा तपाईंको ठोस सुझाव के छ ?
आजको साहित्यको ठोस आधारलाई, आजको ठोस परिस्थितिको विश्लेषणबाट नै खोज्न सकिन्छ र तबमात्र यसको जग बलियो हुन्छ । शोषण र उत्पीडनको प्रक्रियालाई नांगेझार पार्नुपर्छ । भारतको जटिल अथवा जेलिएको भूमि–व्यवस्था, भूमि सुधार, कानुनको भेषमा खेतमा काम गर्ने मजदुरको शोषण, जातीय उत्पीडन, वर्गीय उत्पीडन, प्रशासनको सक्कली रूप र आन्दोलनको अवसरवादी, सुधारवादी वामपन्थीद्वारा नेतृत्व, यी सबै समस्याले नै आजको साहित्यको भूमिका र त्यसको विकासको दिशा तय गर्नेछन् । सत्यलाई पटक–पटक दोहो¥याउनुपर्छ । यो निकै संवेदनशील समय हो । आजका पेशेवर अवसरवादी लेखकहरूलाई इतिहासले कहिल्यै माफ गर्नेछैन । हामी सबै लेखक एकजुट भएर जनताका समस्यालाई वास्तविक गतिविधिमार्फत व्यक्त गर्नुपर्छ । लेखकहरू समस्या र संघर्षदेखि अलग्गै रहन खोज्नु सबैभन्दा ठूलो अपराध हो । उनीहरू त्यतिबेला मौन बसे, जतिबेला सेना र सरकारले पालेका गुण्डाहरूले कानुन र व्यवस्थाको नाममा पश्चिम बंगाललाई एउटा विशाल हत्याकुण्डमा परिणत गरिदिए । आज पनि पश्चिम बंगालमा यो स्थिति अर्को रूपमा व्याप्त छ । डेबरा–गोपी बल्लभपुरमा आज पनि सरकारी आतंक कायम छ । लेखकहरूले यस्तो स्थिति र अवस्थासँग जुध्नुपर्छ ।
अनुवादः नरेश ज्ञवाली

Leave A Comment