एकोहोरो माया : प्रेम ? हैन, राेग !

सोमबार, ०६ फागुन २०७५, १० : २९ उपेन्द्र खड्का
एकोहोरो माया : प्रेम ?  हैन, राेग !

‘पागल प्रेमी’
कसैलाई दुईतर्फी नै अति माया गर्ने मात्रै हैन, एकतर्फी, एकोहोरो माया गर्नेलाई समाजले दिएको उपमा हो । यस्ताप्रति समाजमा सद्भावै देखिन्छ, सहानुभूति राखिन्छ र भन्ने गरिन्छ, ‘हेर कत्ति माया गर्ने रहेछ ! आफैँलाई सम्हाल्न सकेन !’

प्रेमीको हकमा मात्रै हैन, प्रेमिकाको हकमा पनि यस्तै सहानुभूति देखिन्छ । 
यस्ताले आफूले माया गरेका व्यक्तिले ‘हुन्न’ भनेको सहनै सक्दैनन् । अनौठो व्यवहार गर्छन् । कहिले आफैँलाई क्षति पुर्याउँदै आत्महत्यासमेत गर्छन् । कहिले आफूले आगाध माया गरेकाको जीवन बर्बाद पार्न हत्यासम्म गर्न पछि पर्दैनन् ।

यही पुसको एउटा घटनाः
पर्साको पर्सागढी नगरपालिकामा वडा नम्बर १, बागवानाकी सकुन्तलाकुमारी चौधरीमाथि एक्कासि अन्धाधुन्द छुरा प्रहार भयो । उनी बिहान कलेज जाँदै गर्दा नसोचेको घटना भयो । छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल पु¥याइयो । उनलाई छुरा हानेको आरोपमा २० वर्षका राजकिशोर चौधरी पक्राउ परे । प्रहरी केरकारमा खुल्यो– छुरा हान्नुको कारण रहेछ, शकुन्तलाले उनको प्रेम प्रस्ताव अस्वीकार गर्नु ।  
के यो पनि प्रेमै हो त ?
मनोचिकित्सक डा. रवि शाक्य भन्छन्, ‘हैन ।’
उसो भए यो के हो त ? 
प्रस्ट्याउन उनले आफूलाई थाहा भएको एक घटना सुनाए ।

चिकित्सक शाक्यको अस्पताल बेडमा एक जना अविवाहित महिला आइपुगिन् । उमेरले हाराहारी ४० वर्षकी उनी आफ्नो घरनजिकै बस्ने व्यक्तिको प्रेममा चुर्लुम्मै डुबेकी थिइन् । उनलाई लाग्दोरहेछ, ‘ती पुरुषले मलाई औधि मन पराउँछन् ।’

उनलाई ती व्यक्तिले विवाह नै गर्छन् तर लजाएर भन्न नसकेको भन्ने लाग्दो रहेछ तर अवस्था त्यस्तो थिएन । ती पुरुष विवाहित थिए । एकै टोलमा हुँदा देखभेट भए पनि उनी ती महिलालाई मन पराउँदैनथे । महिलाले पछ्याउने, चियो गरिरहने गर्दा परिवारमै समस्या भएपछि हैरान भएर ती व्यक्तिले ‘तिमीलाई मन पराउन्न’ भने तर उनले पत्याइनन् । 

पुरुषले अस्वीकार गरेको गर्र्यै, महिला ढिपी कसेको कस्यै । 

..................................................................................................

थप स्टाेरी

'प्रेम विवाहले अपराध बढ्यो'

पाँच हेट स्टोरी

......................................................................

मनोविद् गोपाल ढकालसँग पाँच वर्षअगाडि यस्तै एउटा केस आइपुगेको रहेछ । उमेरले ३० टेकेकी अविवाहित ती युवती फाइनान्स कम्पनीमा जागिरे थिइन् । उनीसँगै काम गर्ने कम्पनीको एक पुरुषप्रति आकर्षित भइन्, पुरुष भने विवाहित थिए । 

ती पुरुषलाई नदेख्दा युवतीलाई छटपटी हुन्थ्यो । ती पुरुष विवाहित हुन् भन्ने जान्दा जान्दै पनि उनी विवाह गर्न चाहन्थिन् तर सम्भव थिएन ।

जब युवतीले पटक–पटक फोन गर्ने, अफिस नआउँदा म्यासेज गरेर हैरान पार्ने गर्न थालिन्, बल्ल पुरुषले ती युवती आफूप्रति आकर्षित भएकी चाल पाए । पहिला त यस्तै हो भनेर उनी चुपै लागे तर अति भएपछि पुरुषले मुखै खोलेर ‘म मन पराउँदिन’ भने । उनले ‘हुन्न’ भन्दा झन् समस्या थपियो । युवतीले उनलाई पछ्याएको पछ्याई ! परिवारले चाल पाएपछि अति भयो भनेर उनलाई ढकालको क्लिनिकसम्म ल्याए ।
‘यस्तो व्यवहारलाई प्रेमको रुपमै हेरिन्छ,’ मनोचिकित्सक शाक्यले भने, ‘तर यो रोग हो जसलाई अब्सेसिभ लभ डिसअर्डर भनिन्छ ।’

यस्तो रोगले गाँज्दै लगेपछि व्यक्ति भ्रममा पर्छन्, एकोहोरिन्छन्, आफूले चाहेको व्यक्ति पाउन जस्तोसुकै निर्णय गर्न पनि पछि पर्दैनन् । 

मनोविद् ढकालका अनुसार कसैले माया गर्ने वा कोही मनपर्ने सोच मात्रै आउनु अब्सेसन मात्र हो । यसले त्यत्ति पिराउँदैन तर एकोहोरो हुनु, माया गर्दैन भन्ने जान्दाजान्दै अस्वाभाविक व्यवहार दोहोर्याउनु कम्पल्सिभ हो । यी दुवै चरण पार भयो भने अब्सेसिभ लभ डिसअर्डरमा प्रवेश हुन्छ, जुन जटिल मानसिक चरण हो ।

‘पछि लागेको लाग्यै गर्नु, भेट्न खोजिरहनु, नदेख्दा छटपटी हुनु, मैले भनेकै हुनुपर्छ भनेर अड्डी कस्नु अब्सेसिभ लभ डिसअर्डरका लक्षण हुन्,’ डा. शाक्यले भने, ‘यो चरणमा पुगेकाहरुलाई सम्झाएर सम्झिदैनन् । उपाय उपचार मात्र हो ।’

एकै प्रकारको सोच बारम्बार दोहोरिनु अब्सेसिभ लभ डिसअर्डरको संकेत हो । यो प्रेम नभई मानसिक अवस्थाको गडबडी हो । 

त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख डा. सरोजप्रसाद वझा कसैलाई अस्वाभाविक एकतर्फी प्रेम गरिरहेको अवस्थामा पनि अब्सेसिभ लभ डिस अर्डर हुन सक्ने बताउँछन् । 
दुईतर्फी प्रेममा परेका जोडीबीच माया साटासाट हुनु, सम्झना आउनु, भेट्न मन लाग्नु, कुरा गरिरहन रहर जाग्नु सामान्य नै हो तर आफूले माया गरेको व्यक्तिले थाहै नपाई लामो समयसम्म यस्तो संकेत देखिनु सामान्य हैन । 

‘जोडीको सम्बन्ध टुट्दा केही समय यादमा डुबिरहनु स्वभाविक हो,’ डा. वझाले भने, ‘तर बारम्बार लामो समयसम्म एकोहोरो यादमा डुब्नु अस्वाभाविक हो ।’ 

थरिथरिका अब्सेसिभ
चिकित्सकका अनुसार अब्सेसिभ धेरै प्रकारका हुन्छन् । बारम्बार आफैंलाई आफू नराम्रो लाग्नु पनि अब्सेसिभको प्रकार हो । यसलाई चिकित्सकहरु बडी डिस्मर्फी डिसअर्डर भन्छन् । साथीभाइ, इष्टमित्रप्रति मेरो राम्रो सम्बन्ध छैन भन्ने लागिरहनु पनि यसकै एक शाखा हो । यसलाई  रिलेशनसिप अब्सेसिभ डिसअर्डर भनिन्छ । 

‘अब्सेसिभ चरणमा आफूले कल्पना गरेको जोडीको चित्र वा झल्को आइरहन्छ,’ मनोविद् ढकाल भन्छन्, ‘बारम्बार प्रेमको कल्पना गरेको व्यक्तिको याद आइरहनु अब्सेसिभ लभको चरण हो ।’
यो चरणमा पुगेका व्यक्तिले आफूलाई प्रेम गर्ने वा आफूलाई प्रेम गर्ने कल्पना गरेको व्यक्तिलाई सताउन थाल्छन्, इरिटेट गराउँछन् । पन्छिन खोज्दा पनि मुस्किल पर्छ । बारम्बार पछ्याइरहन्छन् । दैनिक व्यवहारमा चियो गर्छन् र त्यस्तै परे हस्तक्षेप पनि गर्छन् । 

कतिपय अवस्थामा अब्सेसिभ लभ डिसअर्डरको चरणमा पुगेका व्यक्ति आफूले चाहेको व्यक्ति पाउन जस्तोसुकै काम गर्न तयार हुन्छन् । विवाह गरेका छन् भने घरबार बिगार्न तयार हुन्छन्, झूटो आरोप लगाएर समाजबाट एक्लै पारेपछि आफूलाई स्वीकार्ने लाग्यो भने त्यस्तो गर्न पनि पछि पर्दैनन् ।
हात काट्नु, मर्ने धम्की दिनु सामान्य नै भयो ।

अब्सेसिभ लभ डिसअर्डर भएका महिला वा पुरुषले प्रेमको भ्रम पालेकालाई बारम्बार इमेल गर्ने, फोन गर्ने, कुरा गरिरहन खोज्छन् । यस्तो गर्दा आफूले माया गरेको व्यक्तिलाई समस्या होला भन्ने सोच्नै सक्दैनन् । आफैं रमाउँछन् ।

नेपालमा यस्ता घटना सार्वजनिक हुने नगरे पनि अन्यत्र भने यस्ता समाचार आइरहन्छन् । केही समयअगाडि अमेरिकाको यस्तै एक घटना सार्वजनिक भएको थियो जहाँ एक महिलाले आफूले एकतर्फी प्रेम गर्ने पुरुषलाई लगातार ६५ हजार म्यासेज पठाएकी थिइन् ।

ती पुरुषसँग महिलाको भेट एक डेटिङ वेबसाइटमा भएको थियो । ती महिलालाई पुरुष एकदम मन प¥यो । युवतीले प्रेम प्रस्ताव राखिन् तर पुरुषले स्वीकार गरेनन् । उनले अस्वीकार गरेको पाटो स्वीकार गर्न सकिनन् ।

उनी ती पुरुषलाई सम्झाउन भन्दै उसको घरमै पुगिन् । आफ्नो प्रेम भावना सुनाउन लगातार ६५ हजार पटक एसएमएस गरिन् । ती पुरुष हैरान भएपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले पक्राउ गरेपछि ती महिलाले भनिन्, ‘जब उनीसँग भेट हुन्छ, मेरो सपनाको राजकुमारलाई भेटेजस्तै लाग्छ । ऊ मेरो म्यासेजबाट हैरान भएको छ भन्ने मलाई थाहै भएन ।’
यो त हैरान बनाएको घटना मात्रै भयो । यो मानसिक रोगले ज्यादै गाँजेको अवस्थामा मर्ने  र मार्नेसम्मको चरणसम्म पनि पुग्न सक्छन् ।

भदौ २७ मा रौतहटमा १८ वर्षीया सम्झना दास र उनकी बहिनी सुस्मिता सुतिरहेको बेला एसिड प्रहार भएको थियो । उपचारको क्रममा सम्झनाको ज्यानै गयो । उनलाई एसिड हानेको अभियोगमा उनको घर नजिकैका ५० वर्षका रामबाबु पासवान पक्राउ परे । उनी पक्राउपछि ‘सम्झनाले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेकाले हानेको’ बयान दिएका थिए ।

तीन चरण, तीन लक्षण
एकोहोरोे प्रेममा फँसेका व्यक्तिले परिवार, आफन्त, साथीभाइको समेत वास्ता गर्दैनन् । एक्लै बस्न रुचाउँछन् । जसलाई माया गरेको ठानेको हुन्छ, उसैको सम्झनामा डुबेको हुन्छ  । 
चिकित्सकका अनुसार प्रेम प्रस्ताव नराखे पनि ‘मेरो प्रेम छ’ भन्ने सोच आइरहनु अब्सेसिभ लभ डिसअर्डरको प्रारम्भिक चरणको संकेत हो । प्रेम प्रस्ताव राख्दा अस्वीकार हुँदा पनि एकोहोरो मन पराइरहने, उसैको प्रेममा डुब्नु दोस्रो चरण हो । यो चरणसम्म पुगेकाहरु बिस्तारै सामान्य अवस्थामा फर्कन पनि सक्छन् । 

लामो समय एक्लै बस्न मन पराउने, पछि लागेको लाग्यै गर्ने, परिवार, समाजले थाहा पाए पनि वास्तै नगर्ने, एकोहोरिने जस्ता असामान्य  व्यवहार देखिए उपचार आवश्यक पर्छ ।
‘यस्ता लक्षण देखिँदैमा सबै उपचार गर्ने चरणमै पुगेका हुन्छन् भन्ने हुन्न,’ डा. शाक्यले भने, ‘एउटै समस्या बारम्बार दोहोरिए चिकित्सकको सल्लाह लिनु राम्रो ।’

ज्यादै ढिपी गरे सचेत हुनु
ठ्याक्कै यही कारणले अब्सेसिभ कम्पलसिभ डिसअर्डर हुन्छ भन्ने छैन । सेरेटोनिन  स्नायु रसायनका कारणले पनि अब्सेसिभ कम्पलसिभ डिसअर्डर हुने मनोविद् ढकाल बताउँछन् । 

वंशाणुगत कारण, स्नायुका रोगको समस्या, मस्तिष्कका विभिन्न अंगको खराबी, तनाव, यौन जीवन तथा प्रेममा खटपट, विछोडको तनाव लगायतका कारणले बारम्बार एउटै कुराको सोच आउने र त्यसले अब्सेसिभ कम्पलसिभ डिसअर्डरको चरणमा पु¥याउने ढकालले बताए । यसले व्यक्तिलाई अब्सेसिभ लभ डिसअर्डरमा पु¥याउन पनि सक्छ ।

‘मैले जे भन्यो त्यही हुनु पर्छ भन्ने ढिपी हुने व्यक्तिमा पनि अब्सेसिभ लभ डिसअर्डरको समस्या हुन सक्छ,’ ढकालले भने ।

चिकित्सकका अनुसार कतिपय मानसिक रोगका कारणले पनि अब्सेसिभ लभ डिसअर्डरमा पु¥याउन सक्छ । छिनमै रिसाउने र छिनमै खुसी हुने व्यवहार बोर्डर लाइन पर्सनालिटी डिसअर्डर हो । यस्तो व्यक्ति प्रेमको भ्रममा पर्ने जोखिम बढी हुन्छ ।

यस्तो समस्यामा फँसेकाहरुसँग सामान्य रुपमा नजिक हुँदा, हाँस्दा, उनीहरुलाई हेर्दा पनि प्रेम बसेको सम्झन सक्छन् । पछ्याउँछन् र हैरान पार्छन् । यसलाई मनोचिकित्सकीय भाषामा एट्याचमेन्ट डिसअर्डर पनि भनिन्छ । 

प्रेमको भ्रम
पाँच वर्ष अगाडि नायक राजेश हमालले मधु शाहीसँग विवाह गर्ने सार्वजनिक भएपछि एक युवतीले आफू हमालको श्रीमती भएको दाबी गरेकी थिइन् । उनले राजेश र आफ्नो सन्तानसमेत भएको दाबी गरेकी थिइन् तर यो दाबीको कतैबाट पुष्टि नै हुन सकेन ।

यो पनि एक प्रकारको मानसिक समस्या रहेछ । डा. शाक्यका अनुसार यसलाई चिकित्सकीय भाषामा इरेटोमेनिया भन्ने गरिन्छ ।

यस्तो समस्या भएका व्यक्तिले प्रख्यात व्यक्तिसँग प्रेमको कल्पनामा डुब्छन् । प्रख्यात कलाकार, आफूभन्दा ठूलो अफिसरसँग प्रेमको कल्पनामा डुब्दाडुब्दै आफ्नो सम्बन्ध भएको भ्रम हुन्छ र भ्रमलाई वास्तविकता सम्झन पुग्छन् । 

समस्या ठूलै देखिन्छ तर अब्सेसिभ लभ डिसअर्डरलाई अझै रोगको रुपमा भने स्वीकार गरिएको छैन । यसलाई बोर्डर लाइन पर्सनालिटी डिसअर्डरको लक्षणका रुपमा लिइएको मनोचिकित्सक डा. शाक्यले बताए । 

पुरषको तुलनामा महिलालाई बढी
सामान्यतः १७ देखि ४० वर्ष उमेर समूहका व्यक्ति अब्सेसिभ लभ डिसअर्डरको समस्या लिएर मनोचिकित्सककहाँ परामर्शका लागि पुग्ने गरेका छन् तर अब्सेसिभ लभ डिसअर्डरको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुने गरेको देखिन्छ । डा. शाक्यका अनुसार विशेषगरी महिलामा आफूभन्दा बढी हैसियत भएका पुरुषसँग प्रेमको भ्रममा पर्ने गरेको देखिने गरेको छ । 

डा. वझा र मनोविद् ढकाल पनि डा. शाक्यको तर्कमा सहमत देखिन्छन् । यी तीन चिकित्सकका अनुसार उनीहरुकोमा यस्तो समस्या लिएर आउनेमा महिलाको संख्या अधिक छ ।
विशेषगरी विवाह नगरी बसेको महिलामा लभ डिसअर्डरको समस्या हुने बताउँछन् डा. शाक्य । बुढेसकालमा समेत प्रेमको भ्रमले सताउने गरेको देखिएको उनले बताए । 

डा वझा पुरुषको तुलनामा महिला बढी भ्रममा परेको देखिए पनि ठ्याक्कै कारण भने भन्न नसकिने बताउँछन् । ढकालको विश्लेषणमा लामो प्रेमको तनाव तथा वैवाहिक सम्बन्धमा भएको तनावले एकोहोरो प्रेमको चक्करमा फँस्न सक्छन् । 

एकोहोरो प्रेमको समस्यामा फँसेको व्यक्तिलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । ‘अब्सेसिब लभ डिसअर्डर भएका व्यक्तिलाई परामर्शबाट ठीक बनाउन सकिन्छ,’ वझाले भने, ‘यसका लागि इल्युजन अफ लभ तथा इरोटोमेनियाको उपचार गर्नुपर्छ ।’

यो रोग गहिरिदै गएको खण्डमा भने लामो समयसम्म उपचार गर्दा पनि भ्रम मुक्त गराउन कठिन हुने बताउँदै चिकित्सक समयमै उपचारमा जान सुझाउँछन् ।
‘उपचार सम्भव छ,’ डा. शाक्यले भने, ‘तर जति छिटो चिकित्सककोमा पुग्यो त्यति सहज हुन्छ ।’
 

Leave A Comment