पाँच हेट स्टोरी

बिहिबार, ०२ फागुन २०७५, ०६ : ३८ शुक्रवार
पाँच हेट स्टोरी

प्रेम जति मिठो हुन्छ नि, त्यसमा बदला, ईश्र्या, शंका र धोका मिसियो भने त्यत्ति नै तितो । प्रेममा यी खराब तत्व मिसिँदा गम्भीर आपराधिक घटना हुने गरेका छन् । यो वर्ष पनि प्रेम सम्बन्धमा यौन आवेग, शंका, आक्रोश मिसिँदा केही गम्भीर घटना घटेका थिए । एक वर्षको अवधिमा प्रेमले निम्त्याएका घटनामध्येका गम्भीर ५ घटना :

१ किचकिचले निम्त्याएको परिणाम

घटना भदौ १५ को हो । 
काठमाडौं वसुन्धाराको स्पिड गेस्ट हाउस कोठा नम्बर १०१ मा एक युवतीको शव भेटियो । अनुसन्धानमा गेष्ट हाउसमा युवती एक युवकसहित आएको खुल्यो । तर ती युवक कतिखेर गेष्ट हाउसबाट उम्किए पत्तो थिएन ।

पहिलो शंका उनै युवकमाथि पर्ने नै भयो । किनकि युवती लिएर गेष्ट हाउसमा उनी आएपछि सो कोठामा अन्य युवक गएका थिएनन् । उनी फरार थिए ।

धुर्इँपत्ताल खोज्दा घटनाको २ महिनापछि पोखरामा फेला परे अनिल परियार । जब परियार फेला परे अनि खुल्यो हत्याको रहस्य । 

प्रहरीलाई परियारले दिएको बयानअनुसार १८ वर्षीय युवती लक्ष्मी र उनीबीच फेसबुकमा चिनजान भएको थियो । त्यो बेला उनी विदेशमा थिए । 

नियमित कुरा गर्ने क्रममा दुवै प्रेममा परे । प्रेम सम्बन्ध भएसँगै अनिल विदेशमा टिक्न सकेनन् र प्रेमिका भेट्न नेपाल आए । नेपाल आएर केही समय घुमघाम गरे । दुवैलाई एक अर्को मन प¥यो र विवाह नै गरे ।
विवाहपछि अनिल श्रीमती लिएर खोटाङमा रहेको घर फर्किए । गाउँमा एक महिनाको बसाइपछि काठमाडौं फर्किए । काठमाडौंमा आएका दुवैमध्ये अनिल फर्किए, लक्ष्मी फर्किइनन् । गेष्ट हाउसमै उनको इहलीला समाप्त भयो ।

भर्खर विवाह गरेकी श्रीमतीलाई किन मारेको त ?
अनिलले जवाफ दिए ‘किच किच गरेको गर्यैं गरी, अनि घाँटी थिचेर मारिदिएँ ।’
प्रहरी अनुसन्धानमा पनि हत्याको ठूलो कारण खुलेन । उही ‘किचकिच’ नै देखियो ।

सेक्सको सनक
असार २८ मा पर्साको जगरनाथपुरमा १८ वर्षीया वनिताकुमारी चौधरी मृत अवस्थामा फेला परिन् । एकाएक किशोरी हराएपछि उनको परिवारले खोजिका लागि प्रहरी गुहारे ।

भारत बगाहाकी उनको शव केही दिनपछि भलुवाही खोला किनारामा गाडेको अवस्थामा फेला प¥यो । खोजीको क्रममा उनको सम्बन्ध स्थानीय प्रमेन्द्र चौधरीसँग रहेको खुल्यो । प्रहरीले उनको खोजी सुरु ग¥यो तर उनी फरार थिए । साउनमा उनी पक्राउ परेपछि किशोरी चौधरीको हत्याको कारण खुल्यो ।
प्रहरी अनुसन्धानमा खुलेअनुसार दुवैजना एक अर्कालाई खुबै मन पराउँथे । माया पनि गर्थे । आफन्तको आँखा छलेर भेटिरहन्थे एकान्तमा । घटनाको दिन पनि प्रेमीले बनितालाई भेट्न बोलाए ।

प्रमेन्द्रले उनलाई भलुवाही खोला नजिकको खयरबारीमा भेट्न बोलाए । त्यहाँ पहिला पनि भेटिरहने भएकाले उनी शंकै नगरी गइन् पनि । तर त्यो दिन प्रमेन्द्रको योजना अर्कै थियो । 

खयरबारीमा बसेको केही समयमा प्रमेन्द्रले अनौठो हर्कत गर्न थाले । किशोरीलाई मन परेन । उनले सेक्सको प्रस्ताव राखे, किशोरीले अस्विकार गरिन् । प्रमेन्द्रले जबर्जस्ती गर्न खोजे उनले मानिनन् । 
खै के भो, प्रमेन्द्रको दिमागमा भूत चढ्यो । उनले प्रेमिकाले घाँटीमा बेरेको सल दुईतिर तन्काएर कसिदिए । किशोरीको ज्यान गयो । हत्यापछि उनले किशोरी बनिताको शव घिसारेर खोलाको किनारमा पु¥याएर पुरिदिए । 

आफूलाई कसले शंका गर्ला र भनेर उनी घरमै बसिरहेका थिए । तर प्रहरी अनुसन्धानमा उनी शंकामा परे र घरबाटै पक्राउ परे ।

अस्ट्रेलिया जान खोज्दा
ट्युसन पढाउने क्रममा विराटनगर ग्रामथानकी शिखा घिमिरे र दिनेश भट्टराईबीच मन साटियो । दुवैबीचको सम्बन्ध सुमधुर नै थियो । दुवै जनाबीचको सम्बन्ध परिवारले समेत चाल पाए पनि त्यस्तो अवरोध केही भएन ।

दुवैको पारिवारिक अवस्था ठिकठिकै थियो । शिखा अस्ट्रेलिया जान चाहन्थिन् । त्यसमा दिनेशको पनि कुनै नाइनास्ती थिएन । शिखाले भिसा पक्रिया अगाडि बढाउँदा दिनेशले सहयोग नै गरेका थिए । उनी खुसी नै थिए ।

शिखाको भिसा पनि लाग्यो । उनी एक्लै अस्ट्रेलिया जान चाहन्नथिन् । त्यसैले दिनेशसँग पारिवारिक सल्लाहमै कोर्ट म्यारिजसमेत गरिन् जसले शिखा अस्ट्रेलिया गएपछि दिनेश पनि अस्ट्रेलिया जाने बाटो खुलाउँथ्यो । 

शिखा अस्ट्रेलिया जाने अन्तिम तयारीमा थिइन् । भदौ १ मा दिनेशले शिखालाई घुम्न जाउँ भने र दुवै विराटनगर बजारबाट सँगै स्कुटरमा सिध्राहाको एकान्त स्थानमा पुगे । नहर नजिकै रहेको गोठभित्र छिरे । त्यसपछि जे घटना भयो त्यसले दुवैको परिवार छक्कै परे ।
नहरमा शिखाको शव तैरिरहेको थियो । दिनेश भागिरहेका थिए । भाग्दा भाग्दै उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिए । 
किन मारेको ?
‘मलाई धोका दिएर अस्ट्रेलिया जान खोजिन् त्यसैले ।’

अस्ट्रेलिया जान दुवैबीच सहमति भएको थियो । पछि दिनेश पनि उतै जान कोर्ट म्यारिजसमेत भइसकेको अवस्थामा शिखाले के धोका दिइन् ? परिवार छक्क पर्ने नै भयो ।

अनुसन्धानमा हत्या आकस्मिक उत्तेजनामा भएको पनि देखिएन । किनकि भेट्न जानुअगाडि दिनेशले सँगै दाउ र चक्कु बोकेर गएका थिए । पछि त्यसैले हानेर प्रेमिकाको हत्या गरेकाले उनी हत्याको योजनासहित प्रेमिका लिएर एकान्त स्थानमा पुगेको देखियो ।

उनले प्रहरीलाई बयान दिएपछि शंकाले लङका जलाएको देखियो । बयानमा खुलेअनुसार दिनेश डिप्रेसनमा थिए, औषधि खाइरहन्थे । अस्ट्रेलिया जानुअगाडि ब्युटिसियनको तालिम लिन शिखा काठमाडौं आउन चाहन्थिन् । एक महिना तालिम लिएपछि अस्ट्रेलियामा काम पाउन सहज हुने भन्दा दिनेशले पनि आनाकानी गरेका थिएनन् । तर उनको मनभित्र अस्ट्रेलिया गएपछि अर्कै केटासँग पो लाग्ने हो कि भन्ने शंका बढायो । जसले एक युवतीको जीवन समाप्त बनायो भने उनको जेल यात्रा सुरु भयो ।

प्रेममा पागल भएपछि
असार ८ मा ससुराली हिँडेका कञ्चनपुर पुनर्बासका तेजबहादुर विष्ट अचानक हराए । कतै गएका पो हुन् कि भनेर आफन्तले खोजिरहे । २ महिनाअगाडि मात्रै मागि बिहे गरेका थिए उनले लक्ष्मी बडेलासँग । एकाएक हराउनुको कुनै कारण थिएन ।
२ दिन खोज्दा पनि फेला नपरेपछि बल्ल प्रहरीलाई खबर गरे ।  विष्ट खोज्न खटिएको प्रहरीले फेला त पार्यो तर शव । शव भीरमा थियो ।

उनी श्रीमतीसँगै ससुराली हिँडेका थिए । भर्खरै विवाह भएको र खटपट पनि नदेखिएकाले श्रीमतीमाथि शंका हुने कुरै भएन । भीरमा शव भएकाले कतै लडेर पो घटना भयो कि भन्ने पनि भयो ।
तर, श्रीमती लक्ष्मीको व्यवहारले भने केही शंका देखायो । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा विष्टको मृत्यु भीरमा लडेर हैन, मारेर फालेको देखियो । त्यसमा संलग्न देखिइन् उनै लक्ष्मी र अर्का युवक दीपक खत्री ।

लक्ष्मी र दीपक लामो समयदेखि प्रेममा थिए । यी दुवै विवाह गर्न चाहन्थे, तर लक्ष्मीको परिवार राजी भएन । लक्ष्मी अरूसँग बिहे गर्न राजी थिइनन् । तर परिवारको जोडको अगाडि उनको केही चलेन र विष्टसँग मागी बिहे भयो ।

मागि बिहे भएपछि भै गयो नि त भनेर लक्ष्मीले मन बुझाउन सकिनन् । उता दीपकले पनि लक्ष्मीलाई भुल्न सकेनन् । आखिर दुवैजना मिलेर भर्खरै बिहे भएका विष्टको हत्याको योजना बुने ।

योजनाअनुसार लक्ष्मीले विष्टलाई घुम्न जाउँ भन्दै भीमदत्त राजमार्गको चुरे क्षेत्रमा रहेको भासु भीर नजिकै पुर्याइन् । योजनाअनुसार त्यहीँ रहेका दीपकले विष्टको टाउकोमा रडले हाने र उनी चढेको मोटरसाइकलसहित भीरमा लडाइ दिए । यत्ति गरेपछि प्रहरीले मोटरसाइकल चलाउँदा भीरमा लडेर मरेको ठान्ने र अवस्था सामान्य भएपछि दुवैले बिहे गर्ने योजना बनाएका थिए । 
तर, प्रहरीको अनुसन्धानले यी दुवैको सपना चकनाचुर बनायो । 

प्रेमीका लागि जेल

साथीसँग २ लाख ऋण लिएर भारतमा नेटवर्किङ व्यवसाय गर्न गएका रामचन्द्र खत्री रित्तो हात स्वदेश फर्किए । नेपाल त फर्किए तर लिएको ऋण तिर्नसक्ने हैसियत थिएन, नतिरी सुख पनि थिएन ।
के गर्ने त ? उनले झट्ट प्रेमीका सावित्रीलाई सम्झिए ।

असोजमा सावित्रीको दिदीको मोबाइलमा २ लाख रुपैयाँ फिरौतीको माग गर्दै एसएमएस आउँछ । सबैले सावित्रीको खोजी गर्छन् तर भेटिन्नन् । २० वर्षीया छोरी बेपत्ता हुनु अनि पैसा मागेको एसएमएस पनि आउनु । आत्तिएको परिवार प्रहरीको सम्पर्कमा पुग्छ ।

प्रहरी अनुसन्धानमा सावित्री रामचन्द्रसँग निकट भएको खुल्छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिहान भेट भएको स्विकार्छन् । सँगै उनले साथीकोमा जान्छु भनेको सूचना पनि दिन्छन् ।
एसएमएस आएको मोबाइलको लोकेसनको आधारमा खोजिमा खटिएको प्रहरीले भोलिपल्ट चावहिलको विभोर लजमा सुतिरहेको अवस्थामा सावित्रीलाई फेला पार्छ ।

त्यसपछि जे खुल्छ प्रहरी पनि छक्क, परिवार पनि छक्क ।
सावित्री अपहरणमा नपरी आफैँ लजमा लुकेर बसेकी थिइन् । कारण थियो प्रेमीको ऋण तिरिदिने प्रयास । सिन्धुपाल्चोकका यी दुवैबीच क्याम्पस पढ्नेक्रममा माया बसेको थियो ।

प्रेमी ऋणको तनावमा रहेको सहन नसकेपछि उनी आफ्नै परिवारबाट फिरौती लिएर प्रेमीलाई ऋण चुक्ता गराउन राजी भएकी थिइन् । योजना रामचन्द्रले बनाएका थिए । उनले प्रेमीको योजनामा साथ दिइन् तर योजना असफल भयो । दुवै अपहरणको नाटक गरेको अभियोगमा प्रहरी हिरासत पुगे ।


 

Leave A Comment