पूर्वमिस नेपाल अर्थ सिग्देल बनिन् साझा पार्टीकी केन्द्रीय सदस्य

आइतबार, २६ साउन २०७६, ०२ : ४८ शुक्रवार
पूर्वमिस नेपाल अर्थ सिग्देल बनिन् साझा पार्टीकी केन्द्रीय सदस्य

गत वर्षकी मिस नेपाल अर्थ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो।

डिभेलप्मेण्ट स्टडिजुमा स्नातक गरेकी सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्। उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र युवा चेन्जमेकरको रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन्।

सिग्देल भन्छिन् मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फ्याशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ। तर मलाई चाहिँ भित्रैदेखि राजनीतिकरूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ। अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ। अग्रज पुस्तासंग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु।

सानै उमेरमा सामाजिक उद्यम शुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक विषय हो भन्ने पार्टीको निष्कर्ष रहेको छ। यो निर्णयले आम युवाहरुलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने हामीले विश्वास लिएका छौं।

Leave A Comment