‘१४ घण्टासम्म जाममा परेको छु’

आइतबार, १६ असोज २०७३, ०९ : ०८ हिमाल लम्साल , Kathmandu
‘१४ घण्टासम्म जाममा परेको छु’

ना ५ ख ४८०३
प्रवीण लामा, चालक

घर कता प¥यो गुरुजीको ?
हेटौँडा, पदमपोखरी हो ।
कसरी आइयो गाडी लाइनमा ?
१० कक्षा पढ्दापढ्दै बीचैमा छाडियो । काठमाडौँ आएर केही समय ग्यारेजमा काम गरेँ । डेढ वर्ष सहचालक भएर नै हिँडे । २०५६ सालमा लाइसेन्स निकालेर बस चलाउन थालेँ ।
कति वर्ष भयो गाडी चलाउन थालेको ?
१७ वर्ष भइसक्यो ।
कुन रुटमा चलाउनुहुन्छ ?
काठमाडौँ–झापा नाइट चलाउँछु ।
राति बस चलाउँदा कस्तो अनुभव हुन्छ ?
सुनसान सडकमा गाडी गुडाउँदा त मज्जा नै हुन्छ । तर, नाइटमा गाडी चलाउँदा निकै सावधानी अपनाउनुपर्छ । एक सेकेन्ड आँखा झिमिक्क गर्नु हुँदैन । नत्र बर्बाद हुन्छ ।
एक्लै हो गाडी चलाउने ?
एक्लै कहाँ चलाउन सकिन्छ र लामो रुटमा । दुईजनाले चलाउँछौँ ।
लामो रुटमा चलाउँदाका दुःख के–के छन ?
अहिलेको टाउको दुखाइ नै मुग्लिन–नारायणघाट सडकखण्ड हो । जहाँ कति बेला पहिरो खस्ने हो भन्ने जोखिम भइराख्छ । जामको त कुरै नगरौँ ।  १४ घण्टासम्म जाममा परेको छु ।
गीतसंगीत कत्तिको सुन्नुहुन्छ ?
धेरै नै सुन्छु । सेन्टिमेन्टल र रोमान्टिक गीत धेरै मन पर्छ ।
 मन पर्ने गायकगयिका ?
 नारायण गोपाल र अञ्जु पन्त मन पर्छन् । उनीहरूको स्वर साह्रै जीवन्त लाग्छ ।
फिल्म कत्तिको हेर्नुहुन्छ ?
पहिला–पहिला खूब हेरिन्थ्यो । तर, अचेल कहिलेकाहीँ गाडीकै टीभीमा हेरिन्छ ।

मन पर्ने हिरो–हिरोइन ?
निखिल उप्रेती र निरुता सिंह ।
राजनीतिमा कत्तिको चासो छ ?
राजनीति मन पर्छ । तर, सक्रिय भएर लागेको छैन ।
गाडी आफ्नो कि साहूको ?
साहूको हो । आफैँ बस किन्न कहाँ सक्नु ?

 

 

Leave A Comment