‘रातिका यात्रु थोरै मात्र असल’

बिहिबार, २६ पुष २०७५, ०३ : ५४ शुक्रवार
‘रातिका यात्रु थोरै मात्र असल’

रातिको समयमा प्रायः यात्रु राम्रा नराम्रा सबै भेटिन्छन् । राति ८, ९ बजेसम्म त अफिसतिर काम गर्नेहरू भेटिन्छन् भने त्यसपछि डिस्कोबार, दोहोरीबाट निस्कने यात्रुहरु नै हुन्छन् । मातेका यात्रुहरु ट्याक्सी चढेर लफडा गर्ने भेटिने हुन् राती । सबै नराम्रा भन्न त मिल्दैन । कुनै कुनै असल पनि भेटिन्छन् । 
कुनै समय बिरामी परेका, आपतमा परेका यात्रुहरु पनि भेटिनन्छन् भने कुनै समय रमाइलो गर्ने पनि भेटिन्छन् । 

हाउमचले झुक्याएर समाते 
हाउमचवालाहरु प्रायः हिँडिरहेका हुन्छन् । कति बेला झुक्याएर समात्छन् थाहै हँुदैन । आफू त सोझो मान्छे । कसैले दाइ यो ठाउँ जाउँ कति लिनुहुन्छ भन्दा यति लिन्छु भन्नु परिहाल्यो । मेरो देउताको बोली त हैन नि । हाम्रो पनि व्यापार हो । व्यापारीले यसको मूल्य यति हो भन्न त मिल्छ नि । घटाउने काम त यात्रुको हो । केही हप्ताअघि रातिको ८,९ बजेको कुरा हो ।  दुईजना यात्रु आए । मिलनचोक जानुु छ, कतिमा जान सकिन्छ भनेर सोधे । मैले बाटो अप्ठ्यारो छ मिलाएर दिनु न भनेँ । 
उहाँहरुले हामी यसरी आएका हौँ । तपाईं मिटरमा हिँड्नै पर्छ भनेर ३ हजारको चिट काटेर दिनुभयो । म त हेरेको हेरै भएँ । मिटरमा जाउँ भनेको भए त म पनि मिटरमा हिँडिहाल्थेँ नि । कति लिने भन्नुभयो । मैले मिलाएर दिनुभन्दा हाउमच वाला हुनुहुँदो रहेछ । 

यात्रु भाग्दिने समस्या 
दरबार मार्गमा ट्याक्सी रोकेर बसिन्छ । राती यात्रु अलिक बढी यतैतिर पाइन्छ  । अरु ठाउँ त सुनसान जस्तै हुन्छ ।  दरबार मार्गको ट्याक्सी स्टेसनमा बसिरहेको थिएँ । एउटा केटा आयो । उमेरले त्यस्तै ३० वर्षको जस्तो देखिन्थ्यो । दाजु बालाजु माथि  एकछिन पुगेर आउनुपर्ने भयो जाउँ न भन्यो । यात्रु पाएँ भनेर मख्ख पर्दै हुन्छ जाउँ भनेँ । रातिको त्यस्तै ११ बजेको थियो क्यार । मैले त्यो मान्छेलाई चढाएर बालाजु पुर्याएँ । त्यहाँ पुगेपछि रानिबारीतिर हो भन्यो । मैले बाटोमा अलपत्र पार्नु हँुदैन भन्ने लागेर रानिबारीतिर लगेँ । त्यहाँ पुगेपछि दाजु एकै छिन भनेर एउटा घरपछाडि गएजस्तो लागेको थियो  । फर्केर नै आएन । 

५ रुपैयाँ नछोड्ने यात्रु 
मैले ट्याक्सी चलाउन थालेको करिब १२ वर्ष जति भयो । यो अवधिमा मैले धेरै किसिमका यात्रु फेला पारेको छु । चोर फटाहादेखि असल मान्छे पनि बोकेको छु । एक पैसा नछोड्ने यात्रु पनि फेला पारेको छु । केही दिनअगाडिको कुरा हो । न्युरोडबाट मैतीदेवी जाने एक यात्रु मेरो ट्याक्सीमा चढ्नु भयो । मिटरमा त्यस्तै ९५ रुपैयाँ उठेको थियो । 
ती यात्रुले मैतीदेवी पुगेपछि सय रुपैयाँ निकालेर दिए । दाइ मसँग ५ रुपैयाँ फिर्ता छैन के गरुँ भनेँ उनले कहाँ हुन्छ ,यत्रो ५ रुपैयाँ कहाँ छोड्छु म भनेर झोक्किएँ । ५ रुपैयाँ पनि नहुनेले के ट्याक्सी चलाउनु भनेर ठूला–ठूला कुरा गर्न थाले ।  यो रातिमा मैले कहाँबाट पैसा साटेर फिर्ता दिनु । जहाँबाट हुन्छ । फिर्ता त चाहिन्छ भनेर उफ्रिन थालेपछि मैले १० रुपैयाँ दिए । 

ट्याक्सीमा पावर पनि देखाउँछन्
चाबहिलको गणेशस्थानबाट रत्नपार्क ल्याउँदाखेरि म पुलिसको ठूलो मान्छे हो । मलाई त्यहाँ पु¥याइ दे भन्यो मैले त्यहाँबाट रत्नपार्क ल्याइदिएँ । मिटरमा त्यस्तै सय रुपैयाँ उठेको थियो । म पुलिसको मान्छे हो । विचार पुर्याएर भाडा माग भन्यो । मैले तपाईं जो भए पनि के मतलब भयो र मैले तपाईंलाई ट्याक्सीमा रत्नपार्क ल्याइदिएको छु । लागेको चार्ज दिनुस् थर्काउन नखोज्नु भनेँ । सय रुपैयाँमा अझ घटाउन खोज्दै थियो । मैले उठेको भाडा मागेँ । ऊ पावरको कुरा गर्दै थियो । 
                                                          


 

Leave A Comment