‘टहरोमा केको दशैँ ?’

शुक्रबार, २१ असोज २०७३, १२ : ५९ शुक्रवार , Kathmandu
‘टहरोमा केको दशैँ ?’

विष्णु श्रेष्ठ
बा. २ ख २७१२
कुन रुट हो गुरुजी ?
काठमाडौँ–चौतारा ।
घर कहाँ हो ?
चौतारामै हो ।
गुरुजी बनेको कति वर्ष भयो ?
१३ वर्ष ।
यति लामो अनुभव रहेछ । कस्तो अनुभव हुँदैछ ?
कहिलेकसो त यो लाइनै छाडेर विदेश भागौँ जस्तो लाग्छ ।
किन नि ?
आम्दानी छैन । धेरैले हेप्छन् । ड्राइभर, खलासी सबै उस्तै हुन्छन् भन्ने बुझाइ खराब छ ।
आम्दानी किन छैन ?
सरकारले कमाउनै दिँदैन । ट्राफिकले मनपरी कारबाही गरेर हैरान पारेका छन् । यात्रु धेरै भए पनि सुख छैन, कम भए पनि सुख छैन ।
तपाईंहरूको अस्वस्थ प्रतिस्पर्धाले दुर्घटना बढेको भनेर कस्न खोजेको होला नि ?
हामीबीच होइन । सरकारले हामीसँग प्रतिस्पर्धा गर्न खोजेको छ । बीच बाटोमा पुगेका बेला दुःख दिनु भएन । यहीँ बसपार्कबाट मान्छे लान दिनुभएन बरु ।
सरकारले ल्याउने नियमकानुन कार्यान्वयन गर्न सबैले साथ दिनुपर्छ होला नि ?
नियमकानुन बरु अझ कडा होस् । तर, सबैलाई बराबर होस् । सबैका पिरमर्का बुझेर उचित व्यवस्था ल्याओस् । सिस्टममा चल्ने कानुन ल्याउनुप¥यो ।
दशैँको योजना के छ ?
हामी भूकम्पपीडितको के दशैँ योजना हुन्छ ? टहरोमा केको दशैँ ?  पोहोर पनि दशैँ मनाइएन । अहिले पनि उस्तै त हो । मेरो त परिवारका आमाबुबासहित पाँचजना बिते । १८ लाखमा बनाएको नयाँ घर बस्न नपाउँदै भत्कियो । यस्तोमा के दशैँ, के तिहार !
नयाँ घर नबनाउने ?
सधँै टहरामै कसरी बाँच्नु ? रिनधन गरेर बनाउनु त पर्ला ।
सरकारबाट केके पाइयो ?
आश्वासन टन्न पाइयो, पैसा चाहिँ ५० हजार पाइयो । त्यति पैसाले त घडेरी खार्न पनि पुग्दैन ।
सरकारले अरू पनि देला नि ?
सरकारले यसरी थोरैथोरै दिएको पैसाले घर त कसरी बन्ला र ?
दशैँको दिनमा पनि गाडी चलाउनुहुन्छ ?
चलाउनैपर्छ । काम नगरी खान पुग्दैन । के दशैँ, के तिहार ! सधँै उस्तै हो ।

Leave A Comment