‘आफ्नै देशमा गरिखान आनन्द’

आइतबार, ०७ कार्तिक २०७३, ०९ : ५१ शुक्रवार , Kathmandu
‘आफ्नै देशमा गरिखान आनन्द’

सन्देश श्रेष्ठ
बा. १ ज ६८२६
गुरुजीको घर कता हो ?
लखनपुर, रामेछाप हो ।
गाडी चलाउन थालेको कति वर्ष भयो ?
एक वर्ष भयो ।
गाडी लाइनमा कसरी आइयो ?
११ पढ्दा–पढ्दै मलेसिया गएको थिएँ । तीन वर्ष जति त्यहीँ बसियो । कमाइ पनि नहुने, सुरक्षा पनि नहुने भएर नेपाल फर्किएँ । त्यसपछि केही समय ट्याक्सी सिकेर चलाउन थालेको हुँ । आफ्नै देशमा गरिखान आनन्द रहेछ ।
गाडी आफ्नै हो ?
साहूको हो । कहाँ आफैँ किन्न सकिन्छ र ?
कति कमाइन्छ ?
तेल हालेर साहूलाई सात सय रुपैयाँ तिनुपर्छ । बचेको आफ्नै हो । दिनमा १५ सय त सजिलै कमाइन्छ ।
दशैँपछि आम्दानी कस्तो छ ?
अहिले त ठप्पै छ । सबैजसो दशैँ मनाउन घर गएका छन् । ट्रिप नै पाइँदैन । खर्च मात्रै ठिक्क छ ।
गीतसंगीत कत्तिको सुन्नुहुन्छ ?
सुनिन्छ । तामाङ सेलो र आधुनिक गीत धेरै सुन्छु ।
प्यासेन्जरले कस्ता गीत फर्माइस गर्छन् ?
स्वभावअनुसार फरक–फरक हुन्छ । गाउँघरबाट आएकाहरू लोकदोहोरी सुन्न रुचाउँछन् । शहरकाले पप, रक बजाउन भन्छन् ।
तपाईंलाई मन पर्ने गायक–गायिका ?
कमल खत्री र अञ्जु पन्त मन पर्छन् ।
आफू गीत गुनगुनाउनु पनि हुन्छ ?
सुन्ने मात्रै हो ।
फिल्म कत्तिको हेरिन्छ ?
पहिला त खूब हेरिन्थ्यो । आजकल हलमा गएर हेर्ने फुर्सद नै हुँदैन । कहिलेकाहीँ मोबाइल र टीभीमा हेर्छु ।
कस्ता फिल्म मन पर्छन् ?
एक्सन, लभस्टोरी र कमेडी फिल्म धेरै हेर्छु ।
मन पर्ने हिरो ?
अनमोल केसी मन पर्छ । युवा पुस्ताको मन जित्ने खालको फिल्म खेल्छन् उनी ।
राजनीतिमा चासो दिनुहुन्छ ?
ट्याक्सी चलाएरै फुर्सद छैन । राजनीतिमा ध्यानै जाँदैन ।
यो लाइनका समस्या के–के हन् ?
सडक भत्किएर एम्बुसजस्ता भएका छन् । कतिबेला कुन खाल्डोमा परिने हो, थाहै हुँदैन । ट्राफिक जरिवाना बढेको बढ्यै छ । तर, ट्राफिक व्यवस्थामा सुविधा झन् घट्छ ।
ट्राफिक जरिवानामा कत्तिको परिन्छ ?
अहिलेसम्म त परेको छैन । नियमअनुसार चल्नेलाई कसले कारबाही गर्न सक्छ ?
प्रस्तुतिः हिमाल

Leave A Comment