असंख्य भाइहरूकी दिदी

शनिबार, १३ कार्तिक २०७३, १२ : ०४ अम्मर जिसी , Kathmandu
असंख्य भाइहरूकी दिदी

उनका आफ्ना आमाबाबुले जन्माएका भाइ त छैनन् । तर, उनको भाइटीका भने कहिल्यै रोकिएन । कहिल्यै निधार खाली भएन । कहिल्यै दुःखी भएर बस्नु परेन । अनगिन्ती भाइहरू भाइटीका लगाउन उनीकहाँ आइपुग्छन् । लाइन लागेर टीका र आशीर्वाद थापेर जान्छन् ।
५३ वर्षीया विमला कपालीलाई दिदीभाइको नाता ‘रगतको मात्र हो’ भन्ने कहिल्यै लागेन । आत्मीयता र भावना ठूलो कुरा लाग्छ उनलाई । त्यसैले त आफ्नै आमाबाबाले जन्माएको दाजुभाइ नहुँदा पनि कयौँ दाइभाइहरूको प्रेम पाएकी छिन् उनले । जात, रङ, क्षेत्र, भाषा, धनी, गरिब... केही पनि वास्ता नगरी हरेकलाई समान दाइभाइका रूपमा सहर्ष स्विकार्दै आएकी उनी आफूलाई भाग्यमानी दिदी ठान्छिन् ।
उसो त उनको मन कहिलेकसो भारी नहुने कहाँ हो र ? ‘म पनि मान्छे न हुँ,’ उनी भन्छिन्, ‘सानैमा बितेको आफ्नो भाइको यादले कहिलेकसो मन कटक्क खान्छ ।’ उनले चित्त बुझाउन सकेकी छिन्, टीका थाप्न लाइन लाग्ने दाइभाइको मुहार हेरेर ।
काठमाडौँ, जमलमा माइली छोरीका रूपमा जन्मेकी उनले नौ वर्षकै उमेरमा भाइ गुमाउनुपरेको थियो । उनका एक दिदी र दुई बहिनी छिन् । सबै दिदीबहिनी तिहारको बेला असंख्य दाइभाइलाई टीका लाइदिएर आशीर्वाद दिन्छन् । उनका अनुसार कपाली थरका दिदीबहिनीले भाइटीकामा सार्वजनिक रूपमै भाइटीका लगाउने परम्परा उहिल्यैदेखि चलिआएको हो ।
काठमाडौँको रानीपोखरीमा भाइटीकाका दिन दिनभरिजसो भाइटीका लगाउनेहरूको भीड हुन्छ । कपाली परिवारका दिदीबहिनीले हरेक वर्ष पालैपालो गरेर टीका लगाउने जिम्मा पाउँछन् । सप्तरंगी टीका र सुपारीको माला दाइभाइलाई लगाइदिएर आशीर्वाद दिन्छन् । दाइभाइहरू खुशीले दिदीबहिनीलाई फूल, दक्षिणा दिएर तिहार मनाउँछन् ।
विमलाका अनुसार वर्षमा हजारौँ दाइभाइहरू आउने गर्छन् । दिदीबहिनी नहुने वा भएर पनि भेट्न नपाउनेहरू धेरै हुन्छन् । दिदीबहिनी भएर पनि कपाली दिदीहरूबाट टीका ग्रहण गर्न आउने पनि हुन्छन् । पोहोरको भाइटीका दुःखद भयो, महाभूकम्पका कारण । रानीपोखरी नै छिन्नभिन्न हुने गरी क्षति पुग्यो । यसपटक भने केही सुखद हुने संकेत छ । मर्मत कार्य धमाधम चलिरहेको छ ।
उनलाई भगवान् भनेको आत्मा अर्थात् मन हो जस्तो लाग्छ । ‘यो ढुंगाको मूर्तिलाई भगवान मानेर पुज्ने यही मन त हो,’ रानीपोखरी छेउको सोह्रहाते गणेशको मन्दिरमा भेटिएकी विमलाले गणेशको मूर्ति देखाउँदै भनिन्, ‘सबभन्दा ठूलो त आत्मा रहेछ । आत्मा शुद्ध नहुने हो भने पूजाआजा, धर्मकर्म केही होइन ।’ उनलाई भाइटीकामा लगातार भेट्ने पाँचजना भाइहरू छन् । साना नाबालकदेखि सय वर्ष उमेरसम्मका व्यक्तिहरू टीका थाप्न आएको अनुभव उनको छ । ‘मभन्दा ठूलाले पनि मलाई दिदी भनेर बोलाउँछन्,’ उनले हाँस्दै भनिन्, ‘बहिनी भन्ने पनि छन् ।’ उनलाई धेरैले गोडामै ढोग्छन् । अप्ठेरो लागे पनि त्यसलाई उनले दिदीबहिनीलाई दाजुभाइले गर्ने प्रेमका रूपमा बुझ्छिन् । भाइटीकामा मात्र नभएर अन्य दिन भेट्ने दाइभाइ पनि थुप्रै छन् उनका ।
दिदीबहिनीमा एउटा शक्ति छ भन्छिन् उनी । कस्तो शक्ति ? ‘दिदीबहिनीले चाह्यो भने दाइभाइमा खुशी मिल्न सक्छ,’ उनी भन्छिन्, ‘दिदीबहिनीबाट प्राप्त हुने आशीर्वादमा त्यो शक्ति छ । जुन शक्तिले दाइभाइको जीवन सुधार्न सक्छ । सही बाटो लिन नसकेका दाइभाइलाई सपार्ने वचन दिन सक्छन् । दिदीबहिनीको वचन काट्ने दाइभाइ कमै देखेकी छु मैले ।’
आफ्नो जीविका सुखद छ भन्छिन् उनी । ‘यत्रा भाइहरूको माया पाएकी छु,’ उनले भनिन्, ‘मेरो मन यही कुराबाट खुशी छ । परिवारमा शान्ति छ । योभन्दा अरू के चाहियो र ?’ उनका एक छोरा र एक छोरी छन् । श्रीमान् रानीपोखरीभित्रको मन्दिरका पूजारी हुन् ।

 

Leave A Comment