झिँगटीसँग रमाइरहेको जिन्दगी

आइतबार, ०५ मङि्सर २०७३, १० : ५४ अम्मर जिसी , Kathmandu
झिँगटीसँग रमाइरहेको जिन्दगी

एक जना वृद्ध दुई तलामाथिको दुईपाखे छानाको पाखैमा बल्लतल्ल अडिएका छन् । खुट्टामा प्लास्टिकको पहेँलो डोरी झुन्ड्याएका उनले हातमा रातो बाल्टिन पनि समाएका छन् । बाल्टिनमा उनको खुट्टामा बाँधिएको डोरी कसिएको छ । तल एक जना अधबैँसे व्यक्ति उनै वृद्धतिर सोझिएर केही भनिरहेका छन् ।
झट्ट हेर्दा जिउ सिरिङ्ङ हुने यो दृश्य ललितपुर, मंलगबजारस्थित सुरश्चन्द्र महाबिहार पुनर्निर्माणको हो । यस्तो जोखिमपूर्ण पुख्र्यौली पेशा धान्दै आएका ७२ वर्षीय पूर्ण अवालेका लागि यो सामान्य दैनिकी हो । अघिल्लो पाला भूकम्प गएको वर्ष (२०४५) देखि यो काममा व्यस्त उनी अहिले सुरश्चन्द्र महाबिहारको छानामा झिँगटी (टायल) छापिरहेका छन् । त्यसअघि उनी इँटाभट्टामा काम गर्थे ।
यो उमेरमा आएर यस्तो जोखिमपूर्ण काम किन गर्नुपरेको ? ‘मलाई खाली बस्नुप¥यो भने बिरामी भएजस्तो लाग्छ,’ उनको पहिलो जवाफ थियो, ‘दिनभरि काम गर्न नपाए छटपटी छुटेर आउँछ ।’
उनी रातको २ बजे नै उठेर केही न केही गरिरहेकै हुन्छन् । यसको प्रमाण स्वरूप सँगै काम गर्ने भीमलाल अवाल बोल्छन्, ‘उहाँको खटनखाटन  रातको २ बजेबाटै सुरु भइहाल्छ ।’
राति २ बजे उठेर उनी सुरुमा पाटन र चोभारको मन्दिर पुगेर पूजा गर्छन् । लगत्तै लाग्छन्, चोभारमै रहेको खेतबारीतिर । झिसमिसेदेखि नै उनी गोडमेल थाल्छन् । टिप्नलायक भएको तरकारी, साग टिपेर खर्पनमा हालेर शहर डुलाउँछन् । बिहानको खाना खानुअघि नै दुईचार सयको व्यापार गरिसक्छन् उनी । खानापछि उनको उही काम सुरु भइहाल्छ, छाना मर्मत । यसबापत दिनको हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।
छानामा झिँगटी बिछ्याउने काम चानचुने होइन । यो संस्कृतिसँग पनि जोडिएको छ । अहिले आधुनिक जमानालाई पनि चित्त बुझाउनुपर्ने चुनौती कायमै छ । साँघुरो खापामा जसोतसो खुट्टा अड्याएर काम गर्नुपर्ने बाध्यता छ । एक तह प्लास्टिक बिछ्याएको छानाबाट सुरर्र झरिएला भन्ने डर उस्तै छ । खुट्टामा झुन्डाइएको बाल्टिनमा भरिभराउ झिँगटी छतमाथि उचाल्नुपर्छ, घाँटीका नसा फुल्ने गरी । ‘यस्ता केटाहरू छतमा चढ्नै डराउँछन्,’ भुइँमा रहेर बाल्टिनमा झिँगटी भरिदिने काम गरिरहेका तन्नेरीलाई देखाउँदै पूर्ण भन्छन्, ‘अनि हामी बुढाहरूले नगरे कसले गर्नु ?’
०००
झट्ट हेर्दा उनीभित्र यति जोश–जाँगर र ऊर्जा छ भन्ने पत्याउन गाह्रो पर्छ । दौडधूप निकै गर्ने उनी खानपानमा कञ्जुस्याइँ गर्दैनन् । एक ताकाका मासुका औधी प्रेमी उनी अचेल मासु नै खाँदैनन् भन्दा पनि हुन्छ । ‘यसो कुखुराको भयो भने एकदुई पिस खान्छु,’ उनी भन्छन्, ‘यो (घुँडा) दुख्न थालेपछि रातो मासु चटक्कै छाडियो । दाल–भात–तरकारी टन्न खाइन्छ । अरू रोगबिमार केही छैन ।’ उनलाई स्याउ असाध्यै मन पर्छ ।
दुई छोरा र दुई नातिका अभिभावक भइसकेका उनी आफ्नो जीवनदेखि सन्तुष्ट छन् । एउटै कुरामा कहिलेकसो मन कटक्क खान्छ भन्छन् उनी । तीन वर्षअघि संसार छाडेकी जीवनसंगिनीको मायाले कहिलेकसो मुटु चस्किन्छ उनको ।
केही समयअघि पूजाआजाकै लागि भनेर उनी गोसाइँकुण्ड पुगे । पूजाआजाप्रति विश्वास छ उनमा । त्योभन्दा ज्यादा विश्वास कामप्रति छ । ‘जहिलेसम्म हातखुट्टा चल्छन्, त्यतिबेलासम्म काम गरेरै खाने हो,’ कर्ममा दृढ विश्वासी पूर्ण भन्छन्, ‘अरूसँग हात थापेर खान नपरोस् भनेर पुकार्छु ।’ आफूले कमाएको पैसाले धेरैथोक गरिसके उनले । कृषि विकास बैंकमा बचत पनि गर्छन् । ‘काम गर्न नसक्दा ब्याजले भात खान त पुग्ला भनेर यसो जम्मा गरेको छु,’ उनले भने ।
उनका दुइटा मोबाइल छन् । एउटा घरमा हुँदा प्रयोग गर्ने, अर्को बाहिर जाँदा । बिहान एक्लै सडकमा हिँड्दा एफएम घन्काएर लमकलमक हिँड्छन् । अरूलाई लखेट्न आउने कुकुरहरू पनि चुप लाग्छन् उनलाई देखेर । ‘मलाई त यतातिरका कुकुरले पनि चिन्छन्,’ उनी ढुक्क छन्, ‘कसैको डर लाग्दैन । बिराउनु न डराउनु ।’
हातमा क्यामस कम्पनीको घडी बाँधेका छन् । ‘यल्ले ट्याम राम्रो दिन्छ,’ उनले भने ।
यो उमेरमा पनि उनका आँखा तेजिला छन् । कान पनि तिखै छन् ।
उनलाई गीत सुन्न मन पर्छ, नेवारी गीत । मदनकृष्ण श्रेष्ठले गाएका नेवारी गीत भनेपछि हुरुक्क हुन्छन् । ‘राजमती, कुमती’ बोलको गीत एकदमै मन पर्छ उनलाई ।
हिन्दी गीत पनि सुन्छन् उनी । ‘दिल दिवाना, बिन सजना के’ बोलको गीत जति सुने पनि अघाउँदैनन् । ‘गीत सुन्दा एक्लै छु जस्तो लाग्दैन,’ उनी भन्छन् ।
उनको एउटा धोको छ– फेरि बिहे गर्ने ।  ‘कोही दुःख पाएकी, मन मिल्ने भेटेँ भने बिहे गर्छु,’ उनी भन्छन् ।
‘म कहाँ बूढो भएको छु र ?’ फोटो खिच्न खोज्दा अनुहारमा छाया नपरोस् भनेर उनी चुच्चे टोपी साइड लगाउँछन् । बिहे गर्ने धोकोको कारण खुलाउँछन्, ‘आफूले नसक्ने बेला तातो पानी दिने मान्छे कोही नभए गाह्रो होला भनेर । कुरो गरिदिने मान्छे पनि मनले खोज्दो रहेछ यो उमेरमा ।’

Leave A Comment