आयोजक नै गैरकानुनी

सोमबार, ०६ मङि्सर २०७३, ०१ : ५९ मनोज घर्तीमगर , Kathmandu
आयोजक नै गैरकानुनी

पोखरामा हप्तापिच्छे सुन्दरी प्रतियोगिता हुने गरेका छन् । ‘मिस’ नाम जोडिएर हरेक साता यहाँ कुनै नकुनै प्रतियोगिता भएकै हुन्छ । तर, प्रतियोगिता गराउने संस्था भने गैरकानुनी रूपमा चलेका छन् । एकदुई संस्थालाई छोडेर पोखरामा सुन्दरी प्रतियोगिता गर्ने संस्थाहरूले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता नगरी प्रालि लेख्ने गरेका छन्, जुन गैरकानुनी हो ।
केही संस्था पोखरा उपमहानगरपालिकाको कार्यालयमा दर्ता गरिए पनि नवीकरण भएका छैनन् । ती संस्थाले पोखराबाहिर कार्यक्रम गर्नु गैरकानुनी हो । तैपनि, ती संस्थाले पोखरा बाहिर गएर पनि धमाधम सुन्दरी प्रतियोगिता गरिरहेका छन् । अनेक नामधारी संस्थाले गाँजेमाजे तरिकाले सुन्दरी प्रतियोगिता गर्न थालेपछि पोखरामा इभेन्ट अर्गनाइजरहरू एकीकृत भई इभेन्ट अर्गनाइजेसन संघको स्थापना गरेका छन् । जसमा १७ वटा संस्था आबद्ध छन् । तिनमा आबद्ध केहीबाहेक अरू पनि कम्पनी रजिस्ट्रारमा दर्ता छैनन् । ‘हामीले दर्ता नभएका संस्थालाई सके कम्पनी रजिस्ट्रारको कार्यालयमा नसके स्थानीय निकायमा दर्ता गर्नु भनेर दुई महिनाको समय दिएका छौँ,’ संस्थाका सचिव एवं ब्रेभ इन्टरटेनमेन्टका प्रबन्धक विजय केसीले भने, ‘अहिलेसम्म दुईवटाले मात्रै दर्ताको प्रमाणपत्र बुझाएका छन् । अरू सबै दर्ताबिनै गैरकानुनी रूपमा चलेका छन् ।’
ब्रेभ इन्टरटेनमेन्ट, ट्रेनर नेपाल, एसटी क्रिएसन, सेभेन हर्ट इन्टरटेनमेन्ट, द नेक्स्ट, ग्ल्याम हन्ट इन्टरटेनमेन्ट, मिरर मोडल म्यानेजमेन्ट, गोस्पेल मल्टिमिडिया प्रालि, जीत हाम्रो, द लुक्स फेसन होम, एसपीजेएस प्रोडक्सन, पीएटीएचए, ब्लुरे प्रोडक्सन, इभेन्ट फर यू, रिवर्थ म्यानेजमेन्ट, ओम इभेन्ट, ओएसीसलगायत संस्था गैरकानुनी हुन् । जसले पोखरामा बेलाबेला सुन्दरी प्रतियोगिता गर्दै आएका छन् । यीमध्ये धेरै नगरपालिकामा दर्ता भए पनि नवीकरण गरेको देखिँदैन ।
‘सबै संस्थालाई कानुनी दायरामा ल्याउन संगठित भएका हौँ,’ इभेन्ट अर्गनाइजेसन संघका अध्यक्ष सरन गुरुङले भने, ‘अब सबै संस्थालाई कम्पनी रजिस्ट्रारमै दर्ता गर्ने अभियानमा छौँ ।’
सुन्दरी प्रतियोगितामा ५ देखि ३० लाख रुपैया“सम्म खर्च हुन्छ । यति खर्च गरेर प्रतियोगिता आयोजना गर्नेले राम्रै आम्दानी पनि गर्छन् । एउटा प्रतियोगिताबाट तीनदेखि सातआठ लाखसम्म फाइदा हुने सुन्दरी प्रतियोगिता गर्ने संस्थाको भनाइ छ ।
‘नगरपालिकामा दर्ता गरेर त मान्यता हुँदैन । प्यान वा भ्याटमा जानैपर्छ,’ ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङले भने, ‘पोखरामा यस्ता इभेन्ट म्यानेजमेन्ट कम्पनी धेरै छन्, जो गैरकानुनी ढंगले चलिरहेका छन् ।’

 

 

Leave A Comment