कोरोना महामारीका कारण त्रसित देश चार महिनाभन्दा लामो समयदेखि लक डाउनमा छ। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको असर सबै क्षेत्रमा परिरहेकै छ। त्यसमध्ये एक हो नेपाली फिल्म हल क्षेत्र। सरकारले चैत ६ गतेबाट भीडभाड हुने विभिन्न स्थानहरू सँगै फिल्म हलहरू बन्द गर्न निर्देशन दिएको थियो। तर, त्योभन्दा एक महिनाअघिदेखि नै फिल्म हलहरू सुनसान भइसकेका थिए। यतिबेला हल मालिकहरूलाई दैनिक लाखौं घाटा भइरहेको छ। तीन पुस्तादेखि फिल्म हल व्यवसायमा लागिरहेको पोखराको द्वा परिवारले यति ठूलो धक्का सहनु परेको पहिलोपटक हो । ‘संकटकालका बेला पनि ठूलै संकट व्यहोरेका थियौं। तर, त्यतिबेला कम्तीमा खर्च त उठ्थ्यो’ पोखरामा पाँचवटा हल सञ्चालन गरिरहेका उत्तम द्वा भन्छन्, ‘अहिले पाँच महिनादेखि जिरो कारोबारमा छौं। धेरै ठूलो संकट आइलागेको छ।’
उत्तम द्वा र उनको परिवार फिल्म र हलको व्यवसायमा लागेको करिब आधा शताब्दी हुन थाल्यो। विसं. २०४० सालतिर उत्तम द्वाका पिता जितप्रसाद द्वाले पोखरामा फिल्म हलको व्यवसाय सुरुवात गरेका थिए। बुटवलपछि पोखरामा विन्ध्यवासिनी हल सञ्चालनमा ल्याएपछि द्वा परिवार यो व्यवसायमा निरन्तर लागिरहेको छ। फिल्म हल व्यवसायको बाटो जीतप्रसाद द्वाले खोले पनि यसको फराकिलो बाटो बनाउने मुख्य श्रेय उत्तम द्वालाई नै जान्छ। उनले हल व्यवसायलाई आफ्नो काँधमा ल्याएपछि नै हो विन्ध्यवासिनी हलकै परिसरमा तीनवटा नयाँ फिल्म हल थपिए। बिन्ध्यवासिनी फिल्म हलमा नेपाली फिल्म लामो समयसम्म चल्न थालेपछि दर्शक, आफन्त र साथीभाइले उत्तम द्वालाई भन्न थाले–हिन्दी फिल्म खै चलाएको। त्यतिबेला विन्ध्यवासिनी मुख्य त नेपाली फिल्म देखाउने हलको रुपमा चिनिएको थियो। उत्तमलाई यस्ता सोधाइले झकझकाइरह्यो। विकल्पमा उनले हिन्दी फिल्म मात्रै देखाउने योजनाका साथ श्रीकृष्ण चलचित्र मन्दिर खोले, तेर्सापट्टीमा। जस्तो सोचेका थिए, उत्तमले त्यस्तै भयो। फिल्म हल गबज चल्न थाल्यो। उत्तम अझ हौसिए– अनि थपे बाराही क र ख गरेर दुईवटा अत्याधुनिक दुई फिल्म हल। उत्तम द्वाले हलको जिम्मेवारी आफ्नो काँधमा लिएको झण्डै ४० वर्ष पुग्न थाल्यो।
पोखराको इतिहास हेर्ने हो भने यहाँ धेरै हलहरु खुल्ने र बन्द हुने क्रम चलिरहेको छ। दीपज्योति फिल्म हल, अन्नपूर्ण फिल्म हल र महालक्ष्मी फिल्म हल बन्द भए। अन्य पनि खुल्दै बन्द हुँदै गरे। २०५१÷५२ साल त नेपाली फिल्मको स्वर्ण युग थियो। फिल्म यति धेरै चल्थे कि हल व्यवसायीलाई पनि गजब मुनाफा हुन्थ्यो। जब २०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो, त्यसले केही असर पार्न थाल्यो। २०५८ सालदेखि २०६६ सम्म त अरु व्यवसायजस्तै हल व्यवसायलाई पनि चौपट बनायो। थुप्रै संकटहरु आइपरे। तर उत्तम द्वा डगमगाएनन्। बरु झन् बढी यही क्षेत्रमा सम्भावना देखे। उनी आफ्नो लक्ष्यमा अगाडि बढिरहे। ‘जनयुद्ध ताका कुनै दिन १६ सय रुपैयाँ मात्रै उठ्यो, तर फिल्म देखाउन छाडेनौं। निकै दुःख कष्ट हामीले पनि भोग्यौँ। धेरैले आफूले गर्दै आएका व्यवसाय छाड्दै पलायन पनि भए। तर हामीले हिम्मत हारेनौँ’ उत्तम द्वा हल व्यवसायको त्यो कहालीलाग्दो दिन सम्झिन्छन्, ‘तर, यति ठूलो संकट कहिल्यै सहनु परेको थिएन। कोरोनाले गर्दा हाम्रो व्यवसाय खत्तमै भयो।’
नेपालमा शान्ति प्रक्रिया छाएपछि फिल्म हलको व्यवसाय मालामाल हुन थाल्यो। द्वा परिवारले फिल्म क्षेत्रसँगै सम्बन्धित अरु विधामा पनि लगानी विस्तार गरिसकेको छ। अहिलेसम्म यो व्यावसायिक घरानाले पोखरासँगै लेखनाथमा वाराही मुभी स्टुडियो सँगै एफडी कम्पनी र डिसिएनजस्ता फिल्म वितरण कम्पनी र एफ डि नामक फिल्म वितरण कम्पनीमा लगानी विस्तार गरिसकेको छ। हल व्यवसायको बाटो खोल्ने बुटवलमा कालिका चलचित्र मन्दिर त भइनै हाल्यो। फिल्म क्षेत्र बाहेक उत्तम वस्त्र भण्डारमार्फत ६० वर्षयता कपडाको आयात पनि यो परिवारले गर्दै आएको छ।
द्वा परिवारको फिल्म हल व्यवसाय अहिले तेस्रो पुस्तामा छ। बाजे पुस्तादेखि सुरु भएको हल व्यवसाय अहिले नाती पुस्तासम्म आईपुगेको छ। अहिले द्वा परिवारको उत्तराधिकारीको रुपमा निकेश द्वा म्यानेजिङ डाइरेक्टर रहेर पोखरा सभागृहमा हलसहितको ‘मिडटाउन ग्यालरिया’ सञ्चालनमा आएको छ। उनीहरुको व्यवसाय अझ फराकिलो र परिस्कृत रुपमा आएको छ। द्वा परिवारले पछिल्लोपटक पोखराको सभागृहको नजिकै ‘मिडटाउन ग्यालरिया’ नामक हल सञ्चालनमा ल्याएको थियो। व्यावसायिक मलका रुपमा खोलिएको यो ग्यालरियामा करिब ३० करोड रुपैयाँ लगानी भएको छ। द्वा परिवारले आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै यो मलमा ‘मिडटाउन सिनेमाज’ नाम दिएर दुईवटा अत्याधुनिक मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको थियो। यसको व्यापार राम्रो थियो। तर, अहिले लकडाउनका कारण फिल्म हल सुनसान छ। ‘झण्डै पाँच महिनादेखि हल सुनसान छन्। ‘महिनामा एक करोड जति कारोबार हुन्थ्यो,’ मिडटाउन ग्यालरियाका म्यानेजिङ डाइरेक्टर निकेश द्वा भन्छन्, ‘हाम्रो व्यापार खत्तम भयो। नेपाल चलचित्र संघले ४०–४५ प्रतिशत सिट अकुपाइ गरेर चलाउँछाँै भनेर सरकारलाई बुझाएको छ। केही रिप्लाई आएको छैन।’
‘मिडटाउन ग्यालरिया’ सञ्चालन गर्न उनीहरुलाई निकै गाह्रो भयो। पोखराको मापदण्डअनुसार ३५ फिटभन्दा अग्लो भवन बनाउन नपाइने भएकाले पोखरा लेखनाथ महानगरपालिकाबाट नक्सा पास भएन। २०६७ मै ‘मिडटाउन ग्यालरिया’ दर्ता भए पनि यो काम गर्न चार वर्ष लाग्यो। उनीहरुले निकै झण्झटिलो अवस्था पार गर्दै नगर विकास समितिबाट विशेष अनुमति लिएर यो ‘मिडटाउन ग्यालरिया’ बनाएका हुन्। द्वा परिवारले पछिल्लोपटक लञ्च गरेको फिल्म हल र मल अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सबैभन्दा पछिल्लो ‘टेक्नोलोजी’ मा आधारित थियो। उनीहरुको यो हल व्यवसाय नयाँ प्रविधिसँगै फैलनेवाला थियो। तर, सञ्चालन भएको केही समयम कोरोनाको कारणले तीन पुस्ते हल व्यवसायीलाई ठूलो घाटा लागेको छ। ‘अन्य फिल्म हलले कसैलाई भाडामा दिएर चलाएका छन् कुनै हलमा च्याउखेतीदेखि खुकुरा पालनसम्म भयो। तर हामी बदलिएको प्रविधिअनुसार काम गरेकाले निरन्तर हुन सक्यौं,’ उत्तम भन्छन्, ‘बजारमा जति पनि नयाँ प्रविधि आए त्यो अनुसार अपडेट भएर नै अहिलेसम्म हल व्यवसायमा टिकेको थियौं। तर, यो पटक निकै गाह्रो भइरहेको छ। बैंकको ब्याज तिर्न समय बढाए पनि छाड्दैन क्यारे। कसरी तिर्ने धेरै हैरानी छ।’
मिहिनेत र निरन्तरताले नै द्वा परिवारलाई अहिलेको स्थितिमा ल्याएको उनी बताउँछन्। उत्तम द्वाका अनुसार अहिले फिल्म हलको व्यवसायले कोल्टे फेरेको थियो। व्यापार राम्रै हुन थालेको थियो। व्यवसायबाट हौसिएको द्वा परिवारले बुटवल, भैरहवा र नारायणगढमा मिडटाउन ग्यालरियाको व्यापार विस्तार गर्ने योजनामा थियो। त्यसलाई समेत असर गरेको छ। द्वा परिवारले अहिलेसम्म फिल्म हल व्यवसायमा करिब एक अरब जति लगानी गरिसकेको छ। उनीहरुको फिल्म हल व्यवसाय नातिपुस्ता मात्रै हैन ज्वाइँहरुमा पनि सरेको छ। द्वा परिवारका ज्वाइँहरुले नारायणगढ र दाङमा फिल्म हल व्यवसाय सञ्चालन गरेका छन्।
द्वा परिवारको हल व्यवसायको कहानी
द्वा परिवारको फिल्म हल व्यवसायको कहानी लामो छ। अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन् उबेला। इन्टरनेट त धेरै टाढाको कुरा नेपालमा टेलिभिजन धरी खुलिसकेको थिएन। मनोरञ्जनको साधन भनेकै रेडियो थियो। त्यसले बेलाबखत गीत सुनाउँथ्यो। त्यो जमानामा अर्थात् पाँच दशकअघि द्वा परिवारमा आइडिया फु¥यो–मनोरञ्जन उद्योगमा हात हाल्ने। त्यसकै परिणाम थियो कालिका चलचित्र मन्दिर। जितप्रसाद द्वा, हरिप्रसाद द्वाले बुटवलको कालिका चोकमा ‘कालिका चलचित्र मन्दिर’ खोले। विसं. २०३४ सालमा सुरु गरिएको चलचित्र मन्दिर २०३६ मा निर्माण सकियो। चलचित्र मन्दिरमा फिल्म हेर्न आउनेको ताँती लाग्न थाल्यो। कुनै–कुनै फिल्म त तीन महिनासम्म चल्न थाले। मानिसहरु गाउँगाउँबाट बस रिजर्भ गरेर फिल्म हेर्न आउँथे। टिकट किन्न मारामार हुन्थ्यो।
बुटवलमा फिल्म हल सोचेभन्दा राम्रो चल्न थालेपछि जीतप्रसाद द्वालाई लाग्यो, पोखरामा फिल्म हल किन नखोल्ने ? त्यसपछि उनी कस्सिएर लागे। २०४० सालमा फिल्म हल निर्माण सुरु गरे। २०४१ साल कात्तिक २२ गते सुरु भयो–विन्ध्यवासिनी फिल्म हल। त्यतिबेला पोखरामा कल्पना, पूर्णिमा र दीपज्योति फिल्म हल थिए। चारवटा फिल्म हलको दह्रो प्रतिस्पर्धा हुन्थ्यो। कलेज पढ्दापढ्दै जीतप्रसादका छोरा उत्तम द्वाले हल व्यवस्थापन हेर्न थाले। द्वा परिवारको फिल्म हल व्यवसाय छोरा पुस्तामा स¥यो। त्यतिबेला फिल्म हलमा दर्शकको भीडभाड कहिल्यै घटेन। फिल्म हलहरुमा नयाँ फिल्म फेरिँदाको दिन ठूलै मेला लाग्थ्यो। टोले दादाहरुले आफ्नो शक्ति देखाउने मुख्य थलो नै फिल्म हल हुन्थे।
मान्छे सबैभन्दा बढी एकै चोटि जम्मा हुने ठाउँ नै फिल्म हल थियो। फिल्म हेर्नका लागि सर्वसाधारणहरुले टोले दादाहरुको मन जित्नुपर्ने बाध्यता थियो। टिकट लिनका लागि घण्टौं कुर्नुपर्ने बाध्यता भएपछि सर्वसाधारणहरु ब्ल्याक टिकट किनेर आफूलाई मन परेको फिल्म हेर्नका लागि पनि उत्सुक हुन्थे। ‘फिल्महरु यति राम्रो चल्थे कि विन्ध्यवासिनी फिल्म हलको वरपर गाउँगाउँबाट आएका मान्छेले रिजर्भ गरेर ल्याएका १५÷२० वटा गाडीको लाइन हुन्थ्यो,’ पोखराका एक मात्र पुराना फिल्म हल व्यवसायी उत्तम द्वा भन्छन्, ‘तीन महिनासम्म एउटै फिल्म चल्थ्यो। त्यो बीचमा राम्रो फिल्म हल आए पनि चलाउन पाइएन।’
Leave A Comment