‘म फेमस सुर्खेती बाजे’

बिहिबार, ०९ मङि्सर २०७३, १२ : २७ अम्मर जिसी , Kathmandu
‘म फेमस सुर्खेती बाजे’

पर्शुराम तिमिल्सिना

भे. १ ख १६७६
गुरुजीको घर कता प¥यो ?
दैलेखमा जन्मिएर सुर्खेतमा जिन्दगीको मज्जा लिइरहेछु ।
कसरी मिल्दो रहेछ मज्जा ?
आफ्नो काममा खुसी हुन सके त्यसै मिल्छ मज्जा ।
त्यसो भए खुशी हुनुहुन्छ ?
खुशी छु । मनले चाहेको काम गर्न पाएको छु । सबैले ‘सुर्खेती बाजे’ भनेर माया र इज्जत दिएकै छन् ।
गुरुजी भन्दा खुशी हुनुहुन्छ वा सुर्खेती बाजे ?
सबले मलाई सुर्खेती बाजे नै भन्छन् । यसैमा खुशी लाग्छ । अचेल त गाडीमै लेखिदिएपछि नचिनेकाहरूले पनि यही नामले डाक्छन् । म त फेमस सुर्खेती बाजे पो हुँ त ।
कहिलेदेखि यो काममा हुनुहुन्छ ?
नेपालमा २०५७ देखि । त्यो भन्दा पहिला इन्डियामा सात वर्ष जति चलाएँ ।
गाडी चलाउन भारतमै सिक्नुभएको हो ?
हो । १४ वर्षको अल्लारे उमेरमा साथीभाइको लहैलहैमा लागेर भागेर इन्डिया छिरियो । सुरुमा त भड्डु म्यानेजर (भाँडा माझ्ने) भइयो । त्यो काम मन नपरेर गाडी ग्यारेजमा लागेँ । ग्यारेजमा काम गर्दागर्दै गाडी चलाउन सिक्न पाइयो ।
नेपाल किन फर्कनुभयो ?
आर्मी बन्ने सपना बोकेर फर्केको थिएँ । तर, हुन सकिएन ।
किन सकिएन ?
एक पटक इन्डियन आर्मीमा अन्तिममा फाल्दियो । तीन पटक नेपाल आर्मीमा फाल्यो । मेरो बुबा इन्डियन आर्मी भएर पनि फौजी हुन मन थियो । बुबा आफ्नो नाम ढाँटेर आर्मी हुनुभएको थियो ।
कसरी ?
उतिबेला बाहुनको छोरालाई लाँदैन भनेर नि । नागरिकता नचाहिने क्यारे । गल्ला आएर छान्थ्यो । रामबहादुर खत्री भनेर हुनुभएछ आर्मी । नागरिकतामा भवानीप्रसाद तिमिल्सिना थियो ।
यो मिनिट्रक कुन रुटमा धेरै चलाउनुहुन्छ ?
जता पनि गइन्छ । प्रायः नयाँ रुटमा चलाउँछु । सुर्खेत, दैलेखका गाउँघरमा धेरै हुन्छु । कर्णालीतिर पनि जान्छु ।
प्रायः नयाँ रुट किन ?
नयाँ रुटमा पाइने इज्जत पिच बाटोमा कहाँ पाउनु ? पैसा पनि ठीकैठीकै हुन्छ ।
इज्जतको ज्यादै ख्याल गर्नुहुँदो रहेछ ?
इज्जत ठूलो कुरा हो । पैसा नकमाए पनि इज्जत कमाइएको छ ।
रमाइलोका लागि के गर्न रुचाउनुहुन्छ ?
सबैसँग मीठो बोल्दा रमाउँछु । हँसीमजाक पनि गर्छु । हास्य सिरियल हेरिरहन्छु । चुट्किला पनि मन पर्छ ।
तपाईंलाई मन पर्ने हास्य कलाकार ?
माग्ने बूढा र धुर्मुस ।
गीत कस्ता सुन्नुहुन्छ ?
लोकदोहोरी मन पर्छ । पशुपति शर्मा र मञ्जु महत मन पर्छ । तर, बिचरा मञ्जु बितिसक्नुभयो । उहाँ बित्दा दुःख लागेको थियो । गीत अहिले पनि सुनिरहन्छु ।
पुराना लोकगीत मन पर्दैनन् ?
मन पर्छ । ‘भैँसी लड्यो है माया’ धेरै मन पर्छ ।
गाडी आफ्नै कि साहूको ?
मामाको छोराको ।
कति कमाउनुहुन्छ ?
तलब १६ हजार छ । त्यो मज्जाले बचाउन सक्छु ।  
तपाईंलाई मन पर्ने नेता को हो ?
मनमोहन अधिकारी मन पर्नुहुन्थ्यो पहिले । अचेल उहाँका छोरा भरतमोहन मन पर्छ ।

 

 

Leave A Comment