‘ट्याक्सी चलाएरै छोरो इन्जिनियर बनाएँ’

बिहिबार, १६ मङि्सर २०७३, १० : ३२ शुक्रवार , Kathmandu
‘ट्याक्सी चलाएरै छोरो इन्जिनियर बनाएँ’

शिवप्रसाद अर्याल
पुतलीबजार–१०, स्याङ्जा
ग. १ ज. ४२१४

गुरुजीले ट्याक्सी चलाउन थाल्नुभएको कति भयो ?
२०५३ सालदेखि यही पेशामा छु ।
कामबाट सन्तुष्ट हुनुहुन्छ ?
पहिले सन्तुष्ट थिएँ, अहिले छैन ।
किन ?
धेरै पालो कुर्नुपर्छ । पालोमा नबसी यात्रु बोक्न पाइँदैन । कहिलेकाहीँ त कुर्दाकुर्दै एक टिपमै दिन सकिन्छ ।
पालो नकुरी चलाउन पाइँदैन, किन ?
निश्चित रोक्ने ठाउँहरूमा ट्याक्सीका समिति छन् । बाध्य भएर लाइनमा आउनैपर्छ ।
ट्याक्सी आफ्नै हो ?
१० वर्ष साहुको चलाएँ । त्यसपछि जेठानले जग्गा धितो राखेर ट्याक्सी किनिदिए । ऋण तिरेर आफ्नै बनाएँ ।
ट्याक्सीबाट कत्तिको कमाई हुन्छ ?
महिनामा २०–२५ हजार कमाउँछु ।
कुन रुटमा चलाउनुहुन्छ ?
लेकसाइड बढी बस्छु ।
लेकसाइड नै किन रोजेको ?
पर्यटक धेरै आउँछन् । अलि बढी कमाइएला भनेर यहाँ बस्छु ।
उसो भए कमाई भनेजस्तै हुन्छ होला नि ?
पोहोरको भूकम्पपछि पर्यटक छैनन् अलि गाह्रो छ । मान्छे नभए कसरी कमाउनु ।
पोखरा ट्याक्सी चलाएर खान सकिन्छ ?
नसक्ने भन्ने त छैन । ट्याक्सी चलाएरै छोरो इन्जिनियर बनाएँ । अर्को छोरो पनि इन्जिनियरिङको तयारी गर्दै छ । त्यसैले मेहनत गरे सकिँदो रै’छ ।  
राजनीतिमा चासो राख्नुहुन्छ कि ?
भोट हालिन्छ तर पार्टीको झण्डा नै बोकेर हिँडिन्न ।

प्रस्तुतिः मनोज घर्तीमगर

 

Leave A Comment