आयोजकै फरार

आइतबार, १९ मङि्सर २०७३, ११ : ३९ मनोज घर्तीमगर , Kathmandu
आयोजकै फरार

सौन्दर्य प्रतियोगिताका विजेताले पुरस्कार नपाएका घटना नौला होइनन् । हप्तैपिच्छे हुने यस्ता प्रतियोगिताका विजेतालाई डमी चेक थमाइने र पुरस्कार रकम नदिएका समाचार अखबारमा आइरहन्छन् । गत हप्ता पोखरामा भने अनौठो घटना भयो । पोखरा सभागृहमा शनिवार ‘मोडल्स ब्याटल’ नामक सौन्दर्य प्रतियोगिता चल्दै थियो । विभिन्न चरण पार गर्दै प्रतियोगीहरू अन्तिम चरणमा पुगेका थिए । जब विजेता घोषणा गर्ने बेला भयो, आयोजक नै गायब भए ।
सुन्दा नाटकीय लागे पनि यो सत्य हो । प्रतियोगिताको ताज पहिरिने उद्देश्यले अन्तिम प्रतिस्पर्धामा उत्रिएका युवायुवती निराश भए । प्रतियोगिताको विजेता घोषणा गर्ने समयमा आयोजक नै भागेपछि पोखरा सभागृहमा केही बेर तनाव सिर्जना भयो । नेपाल मोडल्सको आयोजनामा युवायुवतीका लागि भएको मोडल्स ब्याटल नामक सौन्दर्य प्रतियोगितामा आयोजक विजेता नै घोषणा नगरी गायब भए । प्रतियोगिताका लागि पहिलो चरणमा छनोट भएका ४० युवायुवतीबाट अन्तिम प्रतिस्र्धामा सात युवती र १० युवा सहभागी थिए । नेपाल मोडल्सको टिमले करिब दुई महिना अघिबाट प्रतियोगिताको तयारी गर्दै आएको थियो ।
युवतीतर्फ मेलिना सुवेदी, आकृति गुइदेल, लक्ष्मी कोइराला, प्रमिला शर्मा, मनु गुरुङ र युना वस्ती अन्तिम प्रतिस्पर्धामा आएका थिए । यीमध्ये सुवेदी, गुइदेल र कोइराला अन्तिम तीनमा छनोट भइसकेका थिए । यस्तै युवातर्फ संचित सुवेदी, हरि रिजाल, अर्जुन गहतराज, आभास जोशी, रोशन दवाडी, प्रतीक पराजुली, दीपेश बराल, सागर परियार, विशाल रानाभाट र अशोक भण्डारी अन्तिम प्रतिस्पर्धामा थिए । उनीहरूमध्ये संचित, हरि र अर्जुन अन्तिम तीनमा छनोट भइसकेका थिए । ‘हामीले टप थ्रीको रिजल्ट आयोजकलाई बुझाइ सकेका थियौँ । घोषणा हुने बेलामा केही व्यक्तिले हुलदंगा गरे । त्यसपछि आयोजक गायब भए,’ प्रतियोगिताका निर्णायक रहेका फिल्म निर्देशक नेत्र गुरुङले भने, ‘हामी नै अक्क न बक्क प¥यौँ । आयोजकको फोन अफ भयो । कार्यक्रम सञ्चालक रोजिन शाक्यले पत्रकार सम्मेलन गरेर विजेता घोषणा गर्ने भनेपछि कार्यक्रम स्थगित भयो ।’
स्रोतका अनुसार प्रतियोगमीध्ये एक आभास जोशीले आफू टप थ्रीमा किन परेन ? जसरी पनि पर्नुपर्ने हो भन्दै बखेडा झिकेका थिए । विवादले चर्को रूप लिएपछि आभासले विजेतालाई बाँड्न ठिक्क पारिएको क्राउनलगायत सामग्री फुटाइदिए । त्यतिबेलै आगोमा घिउ थप्ने काम अरू असन्तुष्टहरूले गरे । कोहीले अडियन्सबाट पनि चुज गर्न पाउने भन्दै कराउन थाले । कसैले सबैभन्दा धेरै टिकट बिक्री गरेको मान्छे टप फाइभमा पनि किन नआउने भनेर हुलदंगा मच्चाए । असुरक्षित महसुस गरेपछि आयोजक कार्यक्रमस्थलबाट भागे ।
निर्णायक फिल्म निर्देशक नेत्र गुरुङ, मिस नेपाल–२००० विजेता उषा खड्गी र जिपी तिमल्सिना अलमल परे । आयोजक नेपाल मोडल्सका जनार्दन लामिछाने अहिलेसम्म सम्पर्कविहीन छन् । उनको मोबाइलको स्विच अफ छ । कार्यक्रमस्थलमा हुलदंगा भएपछि प्रतियोगीसहित त्यहाँ उपस्थित दर्शक अन्योलमा परे । कार्यक्रममा विजेताका लागि तयार पारिएको ट्रफी तथा प्रमाणपत्र सबै बोरामा पोको पारेर लगियो ।
आयोजकले युवायुवती दुवै तर्फका विजेतालाई ५०÷५० हजार रुपैयाँ पुरस्कार दिने र एक वर्षसम्म निःशुल्क इन्टरनेट सुविधा, म्यागजिनमा कभर फोटो, म्युजिक भिडियोमा अभिनय गर्ने मौका दिने र अल्ट्रालाइट उडानलगायत पुरस्कार दिने बताएको थियो । प्रतियोगीहरूले अहिले पनि पत्रकार सम्मेलन गरेर विजेता घोषणा गरिदिन निर्णायकलाई बारम्बार फोन गर्ने गरेका छन् ।

Leave A Comment