स्थानीय कलाकारलाई उपेक्षा

शनिबार, ०७ फागुन २०७३, ११ : २५ मनोज घर्तीमगर , Kathmandu
स्थानीय कलाकारलाई उपेक्षा

मेला–महोत्सवको सिजन छ । देशभरमा विभिन्न मेला–महोत्सव चलिरहेका छन् । पोखरामा पनि एकपछि अर्को मेला–महोत्सव चलिरहेका छन् । मेला–महोत्सव गायकगायिकाका लागि आम्दानी गर्ने एउटा विकल्प बनेका छन् । तर, यस्ता कार्यक्रममा पहुँचवाला कलाकारको हालीमुहाली बढ्दा कयौँ नयाँ प्रतिभाले मौका पाउन सकेका छैनन् ।
एकातिर महोत्सवमा सहभागी हुने अवसर पाएका केही कलाकार उचित पारिश्रमिक नपाइएको र भेदभाव भएको गुनासो गरिरहेका छन् भने अर्कोतिर महोत्सवमा कलाकारको ‘ठेकेदारी प्रथा’ चलेको भन्दै केहीले त्यसको विरोध गरिरहेका छन् । स्थानीय उत्पादनलाई महŒव दिने भन्दै गरिएका मेला–महोत्सवमा स्थानीय कलाकारलाई नै उपेक्षा गरिएको भन्दै धेरैले असन्तुष्टि पोखिरहेका छन् । महोत्सव आयोजक र कार्यक्रम सञ्चालनको जिम्मा लिनेहरूको मिलेमतोका यस्तो भइरहेको पनि धेरैको भनाइ छ । ‘कला र गला भएकाभन्दा आसेपासेलाई ठाउँ दिइन्छ । चलेकै कलाकारलाई स्टेज दिइँदैन । जसले मेलामा कलाकार ल्याउने ठेक्कापट्टा लियो उसकै मातहतका कलाकारलाई मात्रै ठाउँ दिइन्छ,’ गायक कृष्ण सुवेदी भन्छन्, ‘फेवा नव वर्ष महोत्सवमा आयोजकले बोलायो, म गएँ । तर, स्टेजमा गीत गाउने अवसर चाहिँ पाइनँ । आयोजकका तर्फबाट खाममा सात हजार रुपैयाँ त पाएँ तर गीत नगाएरै यो लिँदा दुःख लाग्यो ।’
‘एकले अर्काको ठाउँमा हुने महोत्सवमा बोलाउने बाचासहित स्टेज दिइन्छ । यसले गर्दा पोखरामा चल्ने महोत्सवमा सधैँ एकनासे कलाकार देखिन्छन्,’ गायिका वसन्ती थापा भन्छिन्, ‘हाम्रा कोही पनि छैनन् । त्यसैले एक पटक स्टेज पाउन पनि मुस्किल पर्छ ।’
लोकदोहोरी गायक आयुष परियार कार्यक्रमको जिम्मा लिने सञ्चालकले एउटै कलाकारलाई पटक–पटक बोलाउने तर कला भएर पनि पहुँच नभएकालाई वास्ता नगर्ने गरेको सुनाउँछन् । ‘यहाँ धेरै पीडित कलाकार छन् । जो स्टेज नपाउँदा दुःखी छन् । सञ्चालकसँग राम्रो परिचय छैन भने स्टेज पाउनै गाह्रो छ ।’
लोकदोहोरी प्रतिष्ठान गण्डकीले जिम्मा लिने कार्यक्रममा कलाकारहरूले पाउने पारिश्रामिक पहिलेको भन्दा घटेको धेरै कलाकारको गुनासो छ । नेतृत्वमा पुगेकाहरूले बाँडेर खाने गर्दा यस्तो भएको आरोप पनि कतिपयले लगाउने गरेका छन् । मेला–महोत्सवमा कलाकारलाई बोलाउँदा पहिला–पहिला होटलको व्यवस्था, खाजा दिने, मायाको चिनो दिने, सम्मान गर्ने चलन भए पनि आजभोलि हटेको लोकदोहोरी गायक एवं प्रतिष्ठानका केन्द्रीय सदस्य घनश्याम रिजाल बताउँछन् । ‘महोत्सवबाट पैसा आउँछ भनेर धेरै कलाकार भर परेका हुन्छन् । तर, प्रतिष्ठानले जिम्मा लिने कार्यक्रममा पहिलेभन्दा अहिले पारिश्रामिक घटेको छ,’ रिजाल भन्छन्, ‘जहाँ प्रतिष्ठान देखियो त्यहाँ कलाकारको रकम बढ्नुपर्नेमा घट्नु राम्रो होइन ।’
कोठे बैठक गरेर कलाकारको छनोट गर्दा सामान्य सुरतालबारे पनि जानकारी नभएकाले मौका पाएको तर क्षमता भएका कलाकारले स्थान नपाएको धेरै कलाकारको गुनासो छ । ‘पाँचछ जनाबाहेक पोखरामा अरू पनि कलाकार छन र ?’ गायक टेकनारायण चापागाई भन्छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल समिति गण्डकीका अध्यक्ष शंकर विरही गुरुङ भने पहिलाभन्दा धेरै सुधार भएको दाबी गर्छन् । आफ्नो कार्यकालमा प्रतिष्ठान सामाजिक कार्यमा समर्पित रहँदै आएको र प्रतिष्ठानमा कलाकार अक्षयकोषमा रकम थप्न लागि परेकाले केही रकम कोषलाई जाने भएकाले धेरै कलाकार भ्रममा परेको उनको बुझाइ छ । ‘प्रतिष्ठान गण्डकीको जिम्मामा आएका हरेक कार्यक्रम पारदर्शी छन् । कलाकारको पारिश्रमिक राम्रो छ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘सकेसम्म सबै कलारकारलाई आलोपालो मिलाएर मेला–महोत्सवमा स्टेज दिइएकै छ ।’

Leave A Comment