कविता, गजल अनि मुक्तक वाचन । बेलाबेला टिकटमा साहित्य र पुस्तक परिचर्चा । लगभग पोखराको साहित्यिक दैनिकी यही हो । बढी साहित्यिक गतिविधि हुने भएर धेरैले पोखरालाई साहित्यको केन्द्र मान्न थाले । कविशिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अली मियाँ, मुकुन्दशरण उपाध्याय, सरुभक्त, भूपि शेरचन, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षालगायत नामी कविहरुको शहर हो पोखरा ।
विसं २०२१ मा मुकुन्दशरण उपाध्यायले ‘प्राकृत पोखरा’बाट मदन पुरस्कार पाएर पोखराको उचाइ बढाए । जनकविकेशरी धर्मराज थापाले २०२३ सालमा ‘मंगली कुसुम’बाट मदन पुरस्कार पाए । सरुभक्तले २०४८ सालमा ‘पागलबस्ती’ उपन्यासमार्फत मदन पुरस्कार पाए । त्यसपछि भने अरू कुनै सर्जकले पोखरामा मदन पुरस्कार भिœयाउन सकेका छैनन् । ‘अहिले एफएममा ठूलो कवि, वरिष्ठ साहित्यकार भन्दिएको भरमा ठूलो कवि भो । यस्तो हुनुको मुख्य कारण साहित्यकारले चर्चामै जीवन खोज्नु हो,’ पोखराबाट हाल स्तरीय साहित्य सिर्जना नभएको स्विकार्दै कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘साधनाभन्दा हल्लामा रमाउन थालेपछि यो अवस्था आएको हो ।’
पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) का अध्यक्ष दीपक समीपका अनुसार अहिले मुक्तक मञ्च, हेम्जा साहित्य प्रतिष्ठान, गजल सन्ध्या, लेखनाथ साहित्य प्रतिष्ठान, शुक्ला साहित्य समिति, नवनीत साहित्य समाज, कविता क्लब, कविता यात्रा, नमुना साहित्य समूह, संरक्षण कविता आन्दोलन, लोककवि अली मियाँ लोक वाङ्मय प्रतिष्ठान, शुक्ला साहित्य प्रतिष्ठान, ¥यान्डम रिडर्स सोसाइटीलगायत साहित्यिक संघसंस्था क्रियाशील छन् ।
पोयुसांपले हरेक महिनाको पहिलो शनिवार समता काव्य सन्ध्या आयोजना गर्छ । पाका र नयाँ पुस्ताका कविहरुको रचना वाचन काव्य सन्ध्याको विशेषता हो । गजल सन्ध्याले महिनाको दोस्रो शनिवार गजल वाचनको गजल सन्ध्या चलाउँछ । महिनाको तेस्रो शनिवार सोही संस्थाको आयोजनामा अक्षरयात्राअन्तर्गत विभिन्न ठाउँमा पुगी त्यही ठाउँमा रचना सिर्जना र वाचन गरिन्छ । महिनाको अन्तिम शनिवार ¥यान्डम रिडर्स सोसाइटीले पुस्तक परिचर्चा कार्यक्रम सञ्चालन गर्छ । मुक्तक मञ्चले हरेक शनिवार मुक्तक वाचनको शृंखला चलाउँछ । यीबाहेक विभिन्न साहित्यिक संघसंस्थाका सक्रियताले पोखराको साहित्यिक वातावरण तातेकै हुन्छ । नियमित काव्य वाचन नेपालमा सबैभन्दा बढी पोखरामै हुन्छ ।
यति धेरै साहित्यिक गतिविधि भए पनि पछिल्लो समय पोखराका एकाध कवि र स्रष्टाबाहेक राष्ट्रिय साहित्यिक फाँटमा चर्चामा आउनेहरु कमै छन् । हप्तैपिच्छे अनेकन नाममा साहित्यिक गतिविधि भए पनि राष्ट्रिय स्तरमा हस्तक्षेप गर्ने खालका नयाँ अनुहार देखिएका छैनन् । ‘आएकाहरु क्लास बेसभन्दा मास बेसमा गए, नयाँ पुस्तामा पोखराको बिँडो थाम्छन् कि भन्नेहरु बढी हल्लामा विश्वास गर्न थाले,’ कवि रमेश श्रेष्ठ भन्छन्, ‘साधनाभन्दा ग्ल्यामरको पछि लाग्दा र साहित्य रचनालाई फेसन बनाउँदा पोखरेली साहित्यको स्तर खस्केको हो ।’
¥यान्डम रिडर्स सोसाइटीका परिकल्पनाकार तथा लेखक गनेस पौडेल पोखराको साहित्यिक स्तरीयता जाँच्नुअघि नेपाली साहित्य कहाँ पुगेको छ भनेर हेर्न जरुरी रहेको बताउँछन् । उनका अनुसार नेपाली साहित्यमा अहिलेसम्म पनि युग परिवर्तन भएको छैन । ‘कविताको कालखण्ड भूपिकै पालाको छ,’ उनी भन्छन्, ‘उपन्यासको कथावाचन शैलीमा केही परिवर्तन आएको छ । न कविताले, न आख्यानले फरक स्वरको अभ्यास गर्न सकेका छन् ।
पौडेल साहित्यलाई नै मूल पेशा बनाएर बाँच्नेहरू नभएकाले स्तरीय रचना आउन नसकेको बताउँछन् । ‘पोखरामा यति धेरै गतिविधि हुने भएकाले सिर्जनात्मक विचार भएका स्रष्टा पनि धेरै छन्,’ उनी भन्छन्, ‘तर, साहित्यलाई नै मूल पेशा बनाएर बाँच्नेहरु नभएकाले स्तरीय रचना नआएको हो । लेखनलाई पेशा नबनाएपछि छोटो समय मात्रै प्राप्त हुन्छ । जीवन र लेखनको व्यवस्थापन नभएर पनि स्तरीय साहित्य सिर्जना नभएको होला ।’
तस्बिरः युनुस गुरुङ
Leave A Comment