पोखरा लेखनाथ महानगरपालिका महानगर हाँक्न चाहनेका ‘भिजन’

आइतबार, २४ बैशाख २०७४, ०१ : ३५ मनोज घर्तीमगर , Kathmandu
पोखरा लेखनाथ महानगरपालिका
महानगर हाँक्न चाहनेका ‘भिजन’

जिल्ला समन्वय समिति कास्की कार्यालय परिसरमा मंगलवार बिहान १० बजेदेखि नै चहलपहल थियो । दलहरूले बाजागाजासहित उत्साहजनक तरिकाले मनोनयन दर्ता गराए । देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथ र चार वटा गाउँपालिकामा उम्मेदवारी दर्ता भए । यहाँ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले उम्मेदवारी दिएर स्थानीय चुनावमा सहभागिता जनायो ।
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा १७ र उपमेयरमा ११ जनाको उम्मेदवारी परेको छ । मेयरमा पाँच जनाको स्वतन्त्र उम्मेदवारी परेको छ भने उपमेयरमा युवा व्यवसासी सिरोज कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसले मेयरका लागि रामजी कुँवरलाई उम्मेदवार बनाएको छ । कुँवरले स्थानीय स्तरबाटै जनमत संकलन गरी विभिन्न योजनासहित मैदानमा उत्रिएको बताए । ‘स्मार्ट र समृद्ध पोखरा बनाउने मेरो सपना हो, यसलाई पूरा गर्न उम्मेदवारी दिएको हुँ ।’ उपमेयरमा कांग्रेसले सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ ।
एमालेले मेयरमा मानबहादुर जीसी र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । मेयरका उम्मेदवार जीसीले जनताका आधारभूत आवश्यकता पूरा गर्दै पोखरालाई समृद्ध बनाउने आफ्नो पहिलो योजना भएको बताए । ‘सम्भावना र चुनौतीलाई पहिचान गर्दै योजनागत रूपमा अघि बढ्नेछु,’ उनले भने, ‘महानगरलाई जनताले महसुस गर्ने खालको शहर बनाउने मेरो योजना छ ।’
माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई मेयरमा र गोमा ढकाललाई उपमेयरमा उम्मेदवार बनाएको छ । ‘पोखराको हितमा काम गर्ने हामीसँग विशेष योजना छ,’ लामिछानेले भने ।
यता, राप्रपाले मेयरमा गीता गुरुङ र उपमेयरमा रमेशबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ । संघीय समाजवादी र नयाँ शक्तिले संयुक्त रूपमा मेयरमा हुम गुरुङ र उपमेयरमा लक्ष्मी खातीलाई उम्मेदवार बनाएका छन् । त्यसै गरी, अखण्ड नेपालबाट माती गिरी, नेकपा मालेबाट टेकनाथ भण्डारीले मेयरमा उम्मेदवार दिएका छन् ।
उम्मेदवारका एजेन्डा
रामजी कुँवर (मेयर उम्मेदवार, नेपाली कांग्रेस)
स्मार्ट र समृद्ध पोखरा बनाउने मेरो सपना हो । यसलाई पूरा गर्न मेरो उम्मेदवारी हो । पर्यटनबाट लाखौँ युवालाई रोजगारी दिन सकिन्छ । त्यसका लागि पोखराका संभाव्यता अध्ययन गरेका विज्ञहरूको समन्वयमा विकास खाका बनाउँछु ।

मानबहादुर जीसी (मेयर उम्मेदवार, नेकपा एमाले )
महानगरलाई जनताले महसुस गर्ने खालको शहर बनाउने मेरो योजना छ । पूर्वाधारदेखि सुशासनसम्मका विषयलाई सही व्यवस्थापन गर्नेछु । कम्तीमा सय वर्षका लागि विकास योजना तयार गर्नेछु ।
विश्वप्रकाश लामिछाने (मेयर उम्मेदवार, माओवादी केन्द्र)
भूमिको वर्गीकरण गरेर पोखराको मास्टर प्लान बनाउँछु । कृषि, पर्यटन, औद्योगिक क्षेत्र र व्यवस्थित आवास क्षेत्र छुट्याएर त्यहीअनुसार संरचना बनाउने योजना छ । हरेक क्षेत्रको विकास गरेर पोखरालाई स्मार्ट सिटी हुँदै मेगासिटी बनाउने मेरो योजना छ ।

Leave A Comment