६० जना केयरगिभर इजरायल जाँदै

बुधबार, १७ जेठ २०७४, ०२ : ०५ रुद्र खड्का , Kathmandu
६० जना केयरगिभर इजरायल जाँदै

केयरगिभरका लागि थप ६० जना इजरायल जाने भएका छन् । अघिल्लो महिना दरखास्त दिएकामध्ये अन्तिम छनोटमा ६० जना सफल भएपछि उनीहरू इजरायल जाने तयारीमा रहेका हुन् ।
वैदेशिक रोजगार विभागमा दरखास्त दिएकामध्ये अघिल्लो साता इजरायलको जनसंख्या तथा अध्यागमन विभागले ६० जनालाई छनोट गरी अन्तिम नामावली प्रकाशित गरिसकेको छ । जसमा १८ जना पुरुष र ४२ महिला छन् ।
करिब नौ वर्षसम्म रोकिएको नेपाली केयरभिगरलाई दुई वर्षदेखि पुनः इजरायलले लैजान थालेको हो । पाइलट प्रोजेक्टको रूपमा सुरु गरिएको उक्त कार्यक्रमअनुसार पहिलो वर्ष नै तीन सय युवायुवतीलाई इजरायल लैजाने भनिए पनि विभाग र इजरायली दूतावासले ढिलासुस्ती गर्दा कार्यक्रम सुरु भएको दोस्रो वर्षपछि मात्र थप ६० जना केयरभिगर इजरायल जान थालेका हुन् ।
यसपटक छनोटमा परेका केयरगिभर आउँदो असोज महिनासम्म इजरायल उडाइसक्ने विभागका कर्मचारी बताउँछन् । पहिलो वर्ष नै पठाउने भनिएका तीन सय केयरगिभर इजरायल उडिसकेपछि आगामी संख्याबारे यकिन हुने विभागका कर्मचारी बताउँछन् ।
विभागले चैत ९ गतेसम्म निर्धारण गरेको फारम संकलन अवधिभर १ हजार ४ सय ७७ युवायुवतीले दरखास्त फारम भरेका थिए । जसमध्ये सुरुमा एक सय जना छनोट गरिएका हुन् भने दोस्रो पटक ६० जना छनोट गरिएका हुन् ।  अघिल्लो वर्ष ५९ जना केयरगिभर इजरायल गइसकेपछि बाँकीलाई लैजाने प्रक्रिया सुरु नहुँदा केयरगिभर कार्यक्रम सुरु हुन्छ या हुँदैन भन्ने अन्योल सिर्जना हुँदै आएको थियो । लामो समयदेखि रोजगारीका लागि इजरायल जान कैयौँले प्रयास गरे पनि सरकारले स्वीकृति नदिँदा धेरैको इजरायल जाने इच्छा पूरा हुन सकेको थिएन । केयरगिभर खुलेको सुन्नेबित्तिकै केयरगिभर प्रशिक्षण तथा अन्य सीप सिक्न दूरदराजका युवायुवती काठमाडौँ आएका थिए ।
सुरुमा एकमहिने केयरगिभरको तालिम लिएकाहरूले प्रतिस्पर्धा गर्न पाउने भन्दै इजरायल खुले पनि पछि वैदेशिक रोजगार विभागले एक महिनाको साटो तीनमहिने केयरगिभरको तालिमलाई अनिवार्य गरेको थियो । पहिलो चरणमा तीनमहिने केयरगिभरको प्रशिक्षण लिएकाहरू नभेटिएपछि विभागले  नर्स, अनमीलगायतलाई छनोट गरेका थिए ।
जसका कारण लामो समयदेखि हिब्रु, अंग्रेजी भाषा र केयरगिभरको तालिम लिएका निराश थिए । केयरगिभरको तालिम लिए पनि पहिलो चरणको प्रतिस्पर्धामा सहभागी हुन नपाएकी बारा, निजगढकी गंगादेवी प्रसाईले चार वर्षदेखि हिब्रु तथा अंग्रेजी भाषा र केयरगिभरको तालिम गर्दैमा दुई लाखभन्दा रुपैयाँ बढी सकिएको दुखेसो पोखिन् ।
इजरायल नखुलेका कारण वर्षांै त्यसको प्रतीक्षा गरेकी प्रसाईका लागि लामो समयपछि खुलेको इजरायल अन्तिम समयमा ‘हात्ती आयो फुस्सा’ सरह भयो  । ‘इजरायल जानका लागि आवश्यक पर्ने सबै तयारी पूरा गरेकी थिएँ,’ उनले भनिन्, ‘तर, अन्तिम समयमा विभागले केयरगिभरको प्रमाणपत्रलाई मान्यता नदिँदा इजरायल जाने प्रक्रियामा सहभागी हुनै पाइएन । दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्ने विचार पनि अधुरै रहेको छ ।’
धनकुटा, सल्लेकी भीममाया पूर्वछानेले पनि विभागले इजरायलको केयरगिभरमा जान चाहनेका लागि दरखास्त आह्वान गरेपछि फारम भरेकी थिइन् । ‘इजरायलकै लागि भनेर थुपै्र समय र आर्थिक लगानी गरियो,’ उनले भनिन्, ‘अन्तिम समयमा विभागले प्रक्रियामै नलैजाँदा हामीलाई अन्याय भयो ।’ इजरायलका लागि आवश्यक पर्ने सबै प्रक्रियाको तयारीस्वरूप धनकुटाबाट पटक–पटक काठमाडौँ आउँदा÷जाँदा दुई लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको बताउने पूर्वछानेले इजरायलका नाममा खर्च भएको रकम कसरी जुटाउने भन्ने समस्या टड्कारो रूपमा आएको गुनासो पोखिन् ।
२०७२ असार २१ गते  जीटूजी (नेपाल र इजरायल सरकार) प्रक्रियाद्वारा केयरगिभरमा कामदार लैजान सहमत भएपछि विभागले प्रक्रिया थालेको थियो । पहिलो पटक ८ सय १८ जनाले विभागमा दरखास्त दिएका थिए ।    जसमध्ये १ सय ३९ जनाबाहेक अन्यले एक महिनाको तालिम लिएर तीन महिनाको प्रमाणपत्र पेश गरेको भन्दै विभागले त्यस्ता प्रमाणपत्र पेश गरेका उम्मेदवारलाई प्रक्रियाबाट हटाएको थियो । विभागले उपलब्ध गराएको १ सय ३९ जनाको नामावलीमध्येबाट एक सय जनालाई इजरायली दूतावासले छनोट गरेपछि लिखित परीक्षाबाट ५९ जना सफल भएका पहिलो चरणमा इजरायल जान पाएका थिए ।  
के हो केयरगिभर ?
इजरायलका वृद्धवृद्धा तथा बालबालिकाको हेरचाह गर्ने कामलाई केयरगिभर भनिन्छ । केयरगिभरका लागि २५ देखि ४५ वर्ष ननाघेका,  १.४ मिटर अग्लो तथा कम्तीमा ४५ केजी तौल आवश्यक मानिन्छ ।  त्यस्तै, केयरभिगरका लागि तीनमहिने तालिम या स्वास्थ्यसम्बन्धी विभिन्न कोर्स अध्ययन गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो । दोस्रो चरणका लागि पनि सोही मापदण्डलाई निरन्तरता दिइएको छ ।
इजरायल रोजगारीमा जाँदा एक लाख रुपैयाँभन्दा बढी लागत नलाग्ने र मासिक एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने भएकाले ठूलो संख्याका युवायुवतीको इजरायलप्रति आकर्षण छ । मानव अधिकारको गम्भीरतापूर्वक पालना गरेकाले पनि इजरायलमा महिला सुरक्षित हुने गरेको बताइन्छ ।
केयरगिभरको तालिम सञ्चालन गर्नेहरूका अनुसार इजरायल जानका लागि केही वर्षयता सोही तालिम लिएर बसेकाहरूको संख्या कम्तीमा १० हजार छ । पहिलो चरणमा सबै प्रक्रिया पूरा गरी इजरायल जानेमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छन् ।
विभागका अधिकारीका अनुसार पहिलो हुँदै दोस्रो चरणपछि तीन सय कामदार इजरायल गइसकेपछि पनि उक्त कार्यक्रमले निरन्तरता पाउने सम्भावना बलियो छ । तीन सय जनालाई इजरायल पठाउँदासम्म अहिलेको कार्यक्रम ‘पाइलट प्रोजेक्ट’ को रूपमा रहने बताइएको छ ।  तोकिएका तीन सय कामदार जान तीन वर्षजति लाग्ने विभागका कर्मचारीले अनुमान गरेका छन् ।
विभागले दोस्रो चरणमा छनोट भएको टोली बालबालिका र वृद्धवृद्धाको हेरचाहका लागि गए पनि अबको चरणमा कृषि र उत्पादनमूलक क्षेत्रमा युवायुवती पठाउन प्रयास गर्ने जनाएको छ । विभागकै एक स्रोतले भने इजरायलमा कामदार पठाउन ढिलाइ हुनुको कारणमा श्रम तथा रोजगार मन्त्रालयले इजरायल पठाउने कामदारबारे निर्देशिका तथा ऐन बनाउन र इजरायली अधिकारीसँग गम्भीरतापूर्वक वार्ता गर्न नसक्दा ढिलाइ भएको जनाएको छ । छनोटमा परेका ६० जनाले स्वास्थ्य परीक्षण गर्न भने बाँकी नै छ । ६० जनामा छनोट भएकी नवलपरासीकी अर्पणाकुमारी चौधरीले इजरायल जान आतुर भएको बताइन् ।

‘दोस्रो चरणको कार्यक्रमले सहज भएको छ’
रमा भट्टराई    

निर्देशक, वैदेशिक रोजगार विभाग
इजरायल पठाउने दोस्रो चरणको कार्यक्रम सुरु भएपछि केही सहज भएको छ । दोस्रो चरणको कार्यक्रम सुरु नहुँदासम्म कहिले सुरु हुन्छ भनेर दिनहुँ ठूलो संख्याका युवायुवतीले सोधेर हैरान बनाउँथे ।
अहिले उताबाट माग आइसकेपछि सबै पारदर्शी रूपले काम भइरहेको छ । इजरायल नेपाली युवायुवतीले मन पराएको रोजगारीको प्रमुख गन्तव्यमध्ये पर्छ । मेरो विचारमा कोरियापछि धेरैले मन पराएको गन्तव्य इजरायल नै हो । रोजगारीका गन्तव्यमध्ये उत्कृष्ट गन्तव्यमा गएर राम्रो आम्दानी गर्नु अहिलेको आवश्यकता हो । इजरायल पारिश्रमिकको दृष्टिकोणले जति आकर्षक छ, त्यति नै सुरक्षाको दृष्टिकोणले पनि जोखिम कम भएको मुलुक हो । नेपालले इजरायलजस्ता राम्रा गन्तव्यलाई गुमाउनु हुँदैन भन्ने मेरो धारणा छ ।

Leave A Comment