बेलायतमा ‘रैयाँ’ प्रदर्शन

बिहिबार, ०८ असार २०७४, ०१ : २४ शुक्रवार , Kathmandu
बेलायतमा ‘रैयाँ’ प्रदर्शन

नारीप्रधान मगर कथानक नेपाली फिल्म ‘रैयाँ’ बेलायतस्थित मगर संघ भवनमा प्रदर्शन गरियो । मगर समुदायमा छोरीलाई आठदेखि दस वर्षभित्र आमाले गुन्यूचोली,  रैयाँ (बाला) र घलेक दिनैपर्ने संस्कार छ । यही विषयलाई केन्द्रमा राखी बनाइएको फिल्म पहिलो पटक बेलायतमा प्रदर्शन गरिएको हो । नेपालका ८ जिल्लामा ५१ औं पटक, अमेरिका र हङकङमा समेत प्रदर्शन भइसकेको यो फिल्म मगर र नेपाली भाषामा छ ।
अशोक आलेमगर र प्रिया मगर मुख्य भूमिकामा देखिएको फिल्म हेर्न उल्लेख्य सहभागिता थियो । ‘रैयाँ’ हेरिसकेपछि फिल्म उत्कृष्ट भएको धेरैको प्रतिक्रिया थियो । पोखरा, म्याग्दी, तनहुँ, स्याङ्जा लगायतका क्षेत्रमा छायाँकन गरिएको फिल्मले मगर महिलाको परम्परागत गहनालाई ‘रैयाँ’ लाई जीवन्तता दिने प्रयास गरेको छ । दुवै हातमा लगाउँने काँडे बाला (रैयाँ) हातको शोभा बढाउने मात्रै होइन, आपतविपतमा हतियारको समेत काम गर्ने विषयलाई रोचक तरिकाले फिल्ममा उतारिएको निर्देशक मेजन पुनमगरले बताए । मगर फिल्मको पहिलो नायक राज थापाको समेत अभिनय रहेको फिल्ममा हर्क आलेको कथा छ । फिल्मको निर्माता तारामाया मगर, अंकित पुनमगर र हर्क आलेमगर हुन् ।

   
 

Leave A Comment