बिमाकुमारीको ‘नबास सुनपंखी भाले’

मङ्गलबार, २७ असार २०७४, ०१ : ०४ शुक्रवार , Kathmandu
बिमाकुमारीको ‘नबास सुनपंखी भाले’

कुनै समय लोक गायनमा एकछत्र राज गरेकी बिमाकुमारी दुराले लामो समयको अन्तरालपछि मार्मिक गीत गाएर पुरानै लयमा फर्कने प्रयास गरेकी छन् । सुमधुर स्वरकी धनी बिमाकुमारी केही वर्षदेखि गायनमा निष्क्रिय बसेकी थिइन् । यही मेलोमा गोविन्द पुनको शब्द र नवीन रानाको लय रहेको ‘नबास सुनपंखी भाले’ बोलको गीतमा गायक नवीनको स्वरसँग आफ्नो स्वर मिलाएकी छन् । गीतको म्युजिक भिडियोसमेत बजारमा आएको छ ।
निकै मार्मिक यस गीतको म्युजिक भिडियोको छायाङ्कन बाग्लुङको गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीमा गरिएको हो । भिडियोमा गोविन्द पुन र करुणा पुनले मुख्य अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन दानबहादुर श्रीसले गरेका हुन् । गोविन्द आफैंले निर्देशन गरेको म्युजिक भिडियोमा पुनम पुनको मेकअप र मिलन गुरुङको कलरिङ रहेको छ । सर्जक गोविन्दले यसअघि ‘खाएछ कि कलेजो’ बोलको सालैजो बजारमा ल्याएका थिए । सो गीत निकै चर्चित बनेपछि सर्जक गोविन्द र गायक नवीनले ‘खाएछ कि कलेजो’को भाग २ का रूपमा ‘नबास सुनपंखी भाले’ बजारमा ल्याएका हुन् ।

 

Leave A Comment