गर्बुजालाई अर्जुन नेपाली संगीत पुरस्कार

बिहिबार, २९ असार २०७४, १२ : ३५ शुक्रवार , Kathmandu
गर्बुजालाई अर्जुन नेपाली संगीत पुरस्कार

अर्जुन नेपाली स्मृति संगीत पुरस्कार यसपटक गायक खड्क गर्बुजालाई प्रदान गरिने भएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराले दुई÷दुई वर्षमा व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कार यसपालि म्याग्दीका गायक गर्बुजालाई प्रदान गर्न लागिएको हो । असार ३० गते एक समारोहका १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाले गर्बुजालाई पुरस्कार अर्पण गर्ने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष गौतम बिजुक्छेले बताए । कवि तीर्थ श्रेष्ठको संयोजक, हरिदेवी कोइराला र कृष्णबहादुर श्रेष्ठ सदस्य रहेको प्रतिभा छनोट समितिले यसपटक गर्बुजालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशिमा ५ हजार रुपैयाँ थप गरेर दिने अक्षयकोष स्थापना गर्ने परिवारका सदस्यले जनाएका छन् । लामो समयदेखि मौलिक लोक संस्कृतिको संरक्षण र गायनमा सक्रिय गर्बुजाले चियरबाटै गीत गाएर देश, विदेश घुमेका छन् । २०४३ सालमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते गर्बुजा खुट्टाले हिँड्न नसक्ने भए पनि ह्विल चियरबाटै गीत गाएर वाहवाही पाएका छन् । २०४७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर गायन यात्रामा लागेका गर्बुजाले झन्डै १ हजार गीतमा आवाज दिएका छन् ।
पानी खायो बाघैले, आकाशैमुनि, हेर्दाहेर्दै कान्छीले लगायत झ्याउरे, सालैजो, यानीमायाका चर्चित गीत गाएका गर्बुजाले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, अरुण स्मृति संगीत पुरस्कार लगायत दर्जनौं पुरस्कार तथा सम्मान पाएका छन् । यस पुरस्कारबाट यसअघि बिमाकुमारी दुरा, हिमाली सांस्कृतिक परिवार, प्रजापति पराजुली, बिबी अनुरागी, विवेक श्रेष्ठ र राजकुमार श्रेष्ठ पुरस्कृत भइसकेका छन् । अर्जुन नेपालीको स्मृतिमा संगीत प्रशिक्षण केन्द्रले पुरस्कार स्थापना गरेको हो । अर्जुन नेपाली शास्त्रीय संगीतका साधक तथा तबला वादक थिए । वामपंथी विचारमा झुकाव राख्ने स्व. नेपालीले आफ्नो समग्र जीवन संगीतको विकासमा समर्पित गरेका थिए ।

 

Leave A Comment