भारतीय फकाउँदै पोखरेली पर्यटनकर्मी

सोमबार, ०२ साउन २०७४, ०२ : १२ मनोज घर्तीमगर , Kathmandu
भारतीय फकाउँदै पोखरेली पर्यटनकर्मी

गोरो छाला । खैरो कपाल । अग्लो कद । यस्तै हुलियाका विदेशीलाई मात्रै पर्यटक ठान्थे पोखरेली पर्यटनकर्मी । एक जमानामा तिनले डलर मात्रै झार्छन् भन्ने मानसिकता थियो पोखराका पर्यटन व्यवसायीमा । त्यही भएर भारतीय पर्यटकलाई वास्तै गर्थेनन् । कतिसम्म भने होटलमा तिनले कोठा पाउनै मुस्किल पथ्र्यो । भारतीय पर्यटक पनि त्यस्तै पाराका थिए । गाडीमा नूनदेखि प्याजसम्म, ग्यासदेखि चामलसम्म बोकेर हिँड्थे । गाडीमै भान्सा, उस्तै परे खाली ठाउँ जहाँ पाउँछन् त्यतै बास । समयले अहिले कोल्टे फेरेको छ । तिनै भारतीय पर्यटक ठूलो मात्रामा पोखरा आउन थालेपछि पोखराका पर्यटन व्यवसायीको यो मान्यता पूरै भत्किएको छ । तुलनात्मक रुपमा विदेशीभन्दा भारतीय पर्यटक नै खर्चालु देखिएपछि यस्तो मान्यता भत्किन पुग्यो । भारतीय पर्यटकलाई खासै महत्व नदिने तिनै पोखराका पर्यटन व्यवसायी निम्तो दिँदै कहिले सिक्किम, दार्जिलिङ कहिले विहार त कहिले उत्तर प्रदेशका विभिन्न सहर पुग्न थालेका छन् ।
तौलेर पैसा खर्च गर्ने गोरो छाला भएकाभन्दा भारतीय पर्यटकले नै व्यवसायमा फाइदा दिने यहाँका पर्यटन व्यवसायीको धारणा छ । यही कुरो बुझेका व्यवसायीले छ वर्षदेखि भारतका विभिन्न राज्यका ठूला सहरमा निम्ता बाँड्न सुरु गरेका हुन् । यस पटक पनि पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा यही असार १६ गतेबाट ‘चलिए पोखरा’ अभियान आयोजना भयो ।
पोखरामा पर्यटक आगमनको मौसम सुरु हुनै लाग्दा ‘बोर्डर टाउन सेल्स मिसन’ नाम दिइएको अभियानमार्फत भारतीय पर्यटकलाई निम्ता गर्न असार १६ गते बिहारको पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुर पुगेको टोली असार २० गते पोखरा फर्केको छ । ‘धेरैभन्दा भारतीय पर्यटक पोखरा भिœयाउन सके ठूलो फाइदा छ । त्यसैले हामीले नेपालमा धेरै जान चाहने र गइरहेका भारतीयलाई निम्ता गर्न उनीहरुकै सहरमा पुग्यौँ,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘पटना, लखनउ, गोखरखपुरका पर्यटनसँग सम्बन्धित सरकारी निकाय, पर्यटनकर्मी, अनि राजनीतिक दलका प्रतिनिधि पोखराप्रति धेरै सकारात्मक छन् । उनीहरुले पर्यटकहरुलाई पोखरा पठाउनेमा हामी ढुक्क छौँ ।’ संघले पटना, लखनउ, गोरखपुर लगायतका ठाउँमा स्थानीय पर्यटन व्यवसायी, सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि, पर्यटनविद्, ट्राभल एजेन्सीका सञ्चालक, होटल व्यवासायीसँग वृहत् छलफलसमेत चलायो । छलफलमा भारतका व्यवसायीले स्थानीयलाई पोखरा घुम्न प्रोत्साहन गर्ने आश्वासन दिनुका साथै सरकारी स्तरबाट समेत पहल गर्ने प्रतिबद्धता गरे ।
पोखरेली पर्यटन व्यवसायीले भारतका पर्यटक मात्रै बोलाएका हैनन् । उनीहरुले नेपाली पर्यटकलाई पनि भारत पठाउने वचन दिएका छन् । यसले भारत र नेपालका पर्यटन व्यवसायीबीच साझेदारी बढाउने पोखरेली पर्यटनकर्मीको विश्वास छ । यसबारे होटल संघले विभिन्न ठाउँमा वृहत् अन्तरक्रियासमेत गरेको थियो । बिहारको पटनामा आयोजित अन्तरक्रियामा त्यहाँका सरकारी अधिकारी र पर्यटन व्यवसायीले धेरैभन्दा धेरै पर्यटक पोखरा पठाउँदै आएको र यसमा अझ सरकारी स्तरबाटै पहल गरेर धेरै पर्यटक पोखरा पठाउने प्रतिवद्धता गरे । ‘हामी थुप्रो खर्च गरेर बैंकक, सिंगापुर जान्छौं । त्यहाँभन्दा राम्रो सुविधा सस्तोमा नेपालमै पाउँछौं । प्याराग्लाइडिङ, हिमाल, तालतलैया, बञ्जी जम्प, ¥याफ्टिङ लगायतका हरेक सुविधा पोखरामै छन्,’ इन्डियन टुरिस्ट ब्युरोका निर्देशक  अमिताभ मिश्रले पटनामा आयोजित अन्तरक्रियामा भनेका थिए, ‘पोखरा यस्तो सुन्दर ठाउँ छ, त्यहाँ घुम्ने अवसर नगुमाउनुस् । परिवारसँगै जानलाई बुकिङ गरिहाल्नुस् । म त गइरहन्छु, फेरि पनि जान्छु । अब ब्युरोले पनि नेपाल प्रवद्र्धनमा सहयोग गर्नेछ ।’
होटल संघबाहेक पोखरा अन्य पर्यटनसम्बन्धी संस्थाले पनि पटक–पटक भारत र अन्य देशमा यस्तै अभियान चलाइसकेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पश्चिमाञ्चल होटल संघले पहिलो पटक वि.सं. २०५८ मा ‘जाउँ है पोखरा’ अभियान चलायो । त्यसपछि भारतीय पर्यटक पनि पोखरा बढी मात्रामा जान थालेका हुन् । २०५५ यता होटल संघले हरेक वर्ष देशविदेशमा विभिन्न नाम दिएर पर्यटकलाई पोखरा आउन निम्तो दिन छाडेको छैन । लखउनमा भएको अन्तरक्रियामा भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रवक्ता राजेश तिवारी¬ले नेपालमा धार्मिक पर्यटनको सम्भावना असाध्यै धेरै भएकाले भारतीय पर्यटकको पहिलो रोजाइ नेपाल पर्ने बताए । ‘नेपालको राजपरिवार उत्तरप्रदेशको गोरखपुरका खिर चढाउन आउँछन्, भारतीयहरु त्यसैगरी पशुपतिनाथ र मुक्तिनाथसम्म पुग्छन्,’ प्रवक्ता तिवारीले भनेका थिए, ‘हामी सरकारी स्तरबाट पनि नेपालमा पर्यटक पठाउन सकेसम्मको पहल गर्नेछौं ।’
संघले कहिले भारतका विभिन्न ठाउँमा गएर ‘चलिए पोखरा’ अभियान चलाउँछ । कहिले अन्य विभिन्न मुलुक गएर ‘प्याराडाइज पोखरा’ भन्दै विदेशी पर्यटक बोलाउँछ । ‘देश विदेशका विभिन्न ठाउँमा पुगेर बेलाबेला पोखरा आउन निम्ता बाँड्ने र स्थानीयलाई पोखराबारे जानकारी दिँदा भारतीय पर्यटक ह्वात्तै वृद्धि भएका छन् । ‘पहिला सानो गाडीमा सेल्फ ड्राइभ गरेर आउने कम  थिए, अहिले त्यो संख्या बढेको छ,’ भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ अभियान सुरु गर्नुपर्ने कन्सेप्ट निकालेका पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष हरि शर्मा गैह्रै भन्छन्, ‘हामीले सुरु गरेको अभियानले भारतीयमा असाध्यै राम्रो प्रभाव पारेको छ । तुलनात्मक रुपमा भारतीय पर्यटक पोखरामा सबैभन्दा बढी जान्छन् । बजेट होटलदेखि डिलक्स होटलसम्म भारतीय पर्यटक पुग्ने गरेका छन् ।’
स्वदेशी, भारतीय र अन्य विदेशी पर्यटकलाई निम्ता दिन यतिबेला पश्चिमाञ्चल होटल एसोसिएसन संघ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पोखरा च्याप्टर, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखरा, टान लगायतका संस्थाबीच अघोषित प्रतिस्पर्धा छ । व्यवसायीको अभियान थाहा पाएका आन्तरिक तथा वाह्य पर्यटकले एकपटक पोखरा घुम्नुपर्छ भन्ने मान्यता विकास गर्न थालेका छन् । ‘विनाशकारी भूकम्प, नाकाबन्दी, नोटबन्दी तथा तराई आन्दोलनबाट नराम्रो गरी प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न यस अभियानले सघाउने विश्वास गरिएको छ,’ नेपाल पर्यटन बोर्डका अधिकृत सूर्य थपलिया भन्छन्, ‘कार्यक्रम हामीले सोचेभन्दा असाध्यै राम्रो भयो । भारतीय पर्यटकमा नेपालप्रति भएका केही भ्रम पनि अन्त्य गर्न यो अभियान सफल भयो ।’ पोखरामा चैतदेखि असोजसम्म पर्यटक आउने मुख्य सिजन मानिन्छ । त्यसबाहेक हनिमुन, शैक्षिक अवलोकन र कृषक भ्रमणका समूह पनि पोखरा आउँछन् । हिजोआज यहाँका पर्यटन व्यवसायीले आन्तरिक, भारतीय र गोरो छाला भएका पर्यटकमा कुनै भेदभाव गर्दैनन् । बरु आन्तरिक र भारतीयलाई नै बढी महत्व दिन थालेका छन् । त्यसअघि व्यवसायीको ध्यान भारतीय पर्यटकमा परेकै थिएन । ‘पोखरामा अहिलेसम्म करिब २०¬–२२ प्रतिशत पर्यटक आउँछन्, यो अभियानले कम्तिमा ३० प्रतिशत पु¥याउने हाम्रो लक्ष्य हो हामी त्यसमा सफल भएका छौं,’ पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल भन्छन्, ‘कुनै समय तीर्थयात्रीको रुपमा आएका भारतीय पर्यटकले खानपान सबै आफैँले व्यवस्था गर्ने, जहाँ पायो त्यहीँ फोहोर गर्ने प्रवृत्ति थियो । अहिले त्यस्तो समय छैन । भारतीय पर्यटकमा धेरै परिवर्तन आइसकेको छ ।’ धर्मकर्मप्रति बढी आस्था राख्ने भएकाले पनि पोखरा उनीहरुको पहिलो रोजाइ हो । ‘चलिए पोखरा’ लगायत पोखरा प्रवद्र्धनबारे गरेका विभिन्न कार्यक्रमले पनि धेरै प्रभाव पारेको छ ।’ अभियानका क्रममा पोखरासम्म पर्यटकको सहज पहुँचका लागि सडक मार्गको स्तरोन्नति तथा हवाई सेवा विस्तार गर्दै दिगो पर्यटनमा जोड दिन धेरैले सुझाव दिएका थिए ।

Leave A Comment