मिस पोखराको आवेदन खुला

बिहिबार, ०५ साउन २०७४, ०२ : ४९ शुक्रवार , Kathmandu
मिस पोखराको आवेदन खुला

मिस पोखराको नवौं संस्करण आगामी असोजमा हुने भएको छ । युवतीहरुमा अन्तर्निहीत क्षमता र प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्नका लागि पोखरा जेसिजले मिस पोखरा २०१७ गर्दैछ । पोखरा जेसिसले मिस पोखरा २०१७ को लागि आवेदन खुला गरेकोे शुक्रबार पत्रकार सम्मेलनामा पोखरा जेसिसका अध्यक्ष शिवप्रसाद कोइरालाले जानकारी दिए ।
प्रतियोगितमा भाग लिन १८ देखि २४ वर्ष उमेर समूहका ५ फिट ४ इन्च उचाई भएका अविवाहित युवतीले प्रतियोगिताको सहभागिताको फर्म भर्न सक्ने आयोजकले जनाएको छ । सुरुवाती चरणमा सहभागिताको आवेदन दिन कुनै शुल्क नलाग्ने कार्यक्रम संयोजक शिवप्रसाद सापकोटाले जानकारी दिए । सहभागिताका लागि आवेदन दिएका मध्येबाट छनोटमा परेका प्रतियोगीले भने निश्चित रकम तिर्नुपर्ने छ ।
सहभागिताको फर्म भरेका मध्येबाट छनोट गरी आगामी भदौ ६ गतेदेखि अभिमुखीकरण सहितको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने र फाइनल प्रतियोगिता असोज ५ गते पोखरा सभागृहमा हुने सापकोटाले बताए । प्रतियोगिताका लागि छनोटमा परेका सहभागीलाई व्यक्तित्व तथा नेतृत्व विकास तालिम, अभ्यास, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको अवलोकनसमेत गराइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले मिस नेपालमा प्रवेश पाउने र स्कुटर सहितका अन्य पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको नवौं संस्करणमा ३५ भन्दा बढीले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च लाग्ने र २९ लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ ।

Leave A Comment