सुन्दरी प्रतियोगिताको साउने भेल

सोमबार, ०९ साउन २०७४, १२ : ३५ मनोज घर्तीमगर , Kathmandu
सुन्दरी प्रतियोगिताको साउने भेल

पोखरा अचेल सुन्दरी उत्पादन गर्ने कारखानाजस्तै भएको छ । हरेक सहरमा सुन्दरी प्रतियोगिता त हुन्छन् तर काठमाडौँबाहिर पोखराले सबैलाई उछिनेको छ । मिस नेपालबाट सुरु भएको सुन्दरी प्रतियोगिता अहिले ‘प्रकोप’ नै बनिसकेको छ । पोखरामा सरदर १५/१५ दिनमा एउटा सुन्दरी प्रतियोगिता हुन्छ । पोखरामा ‘मिस’ नाम जोडिएर गरिने सुन्दरी प्रतियोगिताको ‘व्यापार’ निकै फस्टाएको छ । साउनको सुरुवातसँगै यहाँ सुन्दरी प्रतियोगिताको साउने भेल सुरु भएको छ ।

पोखरा अहिले मिस नाम जोडेर गर्ने प्रतियोगिताका लागि प्रतिस्पर्धा चलेको छ । पुष्पाञ्जली फेसन एन्ड इभेन्ट प्रालिले गर्ने मिस कल्चर नेपालको अहिले अडिसन चलिरहेको छ । भदौको अन्तिम साता हुने फाइनल स्पर्धाका लागि अहिले युवती छनोट गर्ने क्रम चलिरहेको छ । ब्रेभ इन्टरटेन्मेन्टले गर्ने मिस टिन गण्डकीमा भाग लिएका युवती अहिले क्याटवाक लगायत विभिन्न ‘सीप’ सिक्दैछन् । साउनको १४ गते हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगी निखारिँदैछन् ।
पोखराबाट हुने सबैभन्दा प्रतिष्ठित सुन्दरी प्रतियोगिता नवौं संस्करणको मिस पोखरा २०१७ को आवेदन खुलेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले आवेदन खुलेको जनाएको हो । पोखरा जेसिजले बर्सेनि गर्दै आएको प्रतियोगितमा भाग लिन १८ देखि २४ वर्ष उमेर समूहका ५ फिट ४ इन्च उचाई भएका अविवाहित युवतीले फारम फर्म भर्न सक्ने पोखरा जेसिसका अध्यक्ष शिवप्रसाद कोइरालाले जानकारी दिए । सुरुवाती चरणमा सहभागिताको आवेदन दिन कुनै शुल्क लाग्ने छैन । सहभागिताका लागि आवेदन दिएका मध्येबाट छनोटमा परेका प्रतियोगीले भने निश्चित रकम तिर्नुपर्ने छ । सहभागिताको फर्म भरेका मध्येबाट छनोट गरी भदौ ६ गतेदेखि अभिमुखीकरण सहितको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने र फाइनल प्रतियोगिता असोज ५ गते पोखरा सभागृहमा हुने अध्यक्ष कोइलाले बताए । प्रतियोगिताको विजेताले मिस नेपालमा प्रवेश पाउने र स्कुटर सहितका अन्य पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यी प्रतियोगिता नसकिँदै अन्य सुन्दरी प्रतियोगिता पनि लाइनमा छन् ।
प्रतियोगीको प्रतिभा प्रस्फुटन गर्नेभन्दा यस्ता प्रतियोगिता मुख्यतः कमाउने उद्देश्यबाट प्रेरित हुन्छन् । विभिन्न उद्देश्य राखेर गरिने सुन्दरी प्रतियोगितामा ५ देखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ, स्तर हेरेर । यति खर्च गरेर प्रतियोगिता आयोजना गर्नेले राम्रै आम्दानी गर्छन् । एउटा प्रतियोगिताबाट दुईदेखि पाँच लाखसम्म फाइदा हुने सुन्दरी प्रतियोगिता गर्ने संस्थाको भनाइ छ । राम्रै आम्दानी हुने भएकाले पनि यस्ता सुन्दरी प्रतियोगिता गर्नेहरुको बाढी आएको हो । ‘राम्रोसँग गर्ने हो भने यस्ता प्रतियोगितामा कहिल्यै घाटा हुँदैन,’ कोरियोग्राफर सुरज थापा भन्छन्, ‘टिकट बिक्री, सहभागी शुल्क र प्रायोजकबाट राम्रै आम्दानी हुन्छ । विजेताले पनि राम्रो प्लेट फर्म पाउँछन् तर अहिले प्रतियोगितामा विकृति आउँदैछ ।’

पोखरामा सुन्दरी प्रतियोगिता गर्ने लहर दिनदिनै बढ्दो छ । यहाँ हरेक हप्ता कुनै न कुनै नामको सुन्दरी प्रतियोगिताको टिकट भिराउनेहरुको बिगबिगी हुन्छ । पोखरामा सुन्दरी प्रतियोगितको संख्या यति धेरै भएको छ कि सुन्दा पनि वाक्क लाग्छ । युवतीहरुको सुन्दरता र प्रतिभाको मापनका गर्न मिस टिन, मिस कल्चर, मिस पश्चिमाञ्चल, मिस फेरी, मिस लिटिल, मिस पोखरा, मिसेज पोखरा, मिस लेखनाथ, मिस गण्डकी, सानो परि, हङकङ ब्युटी ट्यालेन्ट, लिटिल फेरी, मिस टिन पोखरा, मिस तारा, मिस एसइई, मिस पश्चिमाञ्चल, मिस एन्ड मिस्टर कलेज, मिस एन्ड मिस्टर हस्पिटालिटी, मिस भ्याली, मिसेज गन्डकी लगायतका प्रतियोगिता हुन्छन् । हुँदाहुँदा पोखरामा जातीय सुन्दरी प्रतियोगिता पनि थपिएका छन् । मिस तमुस्यो, मिस तमु, मिस नेवा, मिस मगर, मिस दलित, मिस सुनार, मिस तामाङ, मिस थकाली, मिस क्षेत्री लगायतका प्रतियोगिता पनि हुन्छन् यहाँ ।

सुन्दरी प्रतियोगिता गर्ने आयोजकले कमाउने नाफा बढ्दै जानु, यस्ता कार्यक्रम धेरै हुनुको प्रमुख कारण हो । आफ्ना छोरीको शीरमा सानो क्राउन चढेको हेर्न चाहने आमाबुबाका कारण आयोजक पनि सुन्दरी प्रतियोगिता गर्न सफल भइरहेका छन् । अभिभावकलाई लाग्दो हो–प्रतियोगितामा भाग लिएपछि छोरीले केही न केही सिक्छे । हुन पनि हो । सुन्दरता भनेको युवतीको बाहिरी आवरण मात्र होइन । उसको व्यक्तित्व, क्षमता र ट्यालेन्ट पनि हो तर नेपालमा हुने विभिन्न शीर्षकका सुन्दरी प्रतियोगितामा युवतीहरुले अपवादबाहेक आफ्नो क्षमता प्रस्तुत गर्दैनन् । उनीहरुले त केवल तालिमबाट सुँगा रटाइका आधारमा सिकाइएका कुरा मात्रै बोल्छन् । उनीहरु मनले नभई अनुहारले मात्र बोल्छन् । झलक्क एक छिन मुस्काउँछन् । त्यसपछि डरले रातोपिरो हुन्छन् । तैपनि आयोजकहरु यस्ता युवतीको व्यक्तित्व विकास हुने दाबी गर्छन् । ‘युवायुवती जो पनि पब्लिक फिगर हुन चाहन्छन्, त्यसका लागि एकै पटक मासमा आउन स्टेज चाहिन्छ । त्यो स्टेज हामी दिन्छौँ,’ विभिन्न नामका ब्युटी प्याजेन्ट गर्दै आएको पुष्पाञ्जली फेसन एन्ड इभेन्ट प्रालिका अध्यक्ष शोभा गौतम भन्छिन्, ‘हामीले युवा वा युवतीले के गर्न सक्छन्, उसको क्षमता के छ, उनीहरुभित्र भएको प्रतिभालाई बाहिर ल्याउने गरेका छौँ ।’
प्रतियोगितामा भाग लिएर उपाधि जित्नेको त काम छैन भने अन्य सहभागीको के गन्ती ? यस्ता प्रतियोगिता छ्याप्छ्याप्ती भएपछि स्तरीय प्रतियोगिता गर्दैै आएकाहरुको मन कुँडिएको छ । यसका सकारात्मक र नकारात्मक पक्षबारे पोखरामा बहस सुरु भएको छ । अहिले सामाजिक सञ्जालमा हेर्ने हो भने पोखरेलीले सुन्दरी प्रतियोगिताबारे बहस चलाएका छन् । यसबारे वादविवाद सुरु भएको छ । ‘पोखरामा आयोजना हुने प्याजेन्ट भोलि नेपाललाई नै रेप्रीजेन्ट गर्न सक्ने लायकको हुनुपर्छ । यहाँ बनेका मिस पोखराले धेरै अगाडि नै मिस नेपाल बनेर देखाइसकेका छन्,’ थुपै्र ब्युटी प्याजेन्ट गरिसकेको र इभेन्ट म्यानेजमेन्ट गर्ने ओम इभेन्ट्सका म्यानेजर अरुण गिरी भन्छन्, ‘पोखरामा आयोजित पछिल्ला ब्युटी प्याजेन्टका आयोजकहरुले इभेन्टको प्रभावकारिता, व्यापकता र गुणस्तरीयतामा अब ध्यान दिनु जरुरी छ । अब बन्ने मिस पोखरा, यही वर्ष मिस नेपाल बनोस् । अन्य प्याजेन्टका विजेताहरुको नाम लिँदा मान्छे नहाँसून् !’

Leave A Comment