पालो ‘मिस सुनार क्विन’को

बिहिबार, १२ साउन २०७४, ०२ : १४ शुक्रवार , Kathmandu
पालो  ‘मिस सुनार क्विन’को

सुनार समुदायका युवतीहरुलाई लक्षित गर्दै ‘मिस सुनार क्विन’ नामको सुन्दरी प्रतियोगिता हुने भएको छ । पियस्था इन्टरटेन्मेन्टको आयोजनामा यो ‘ब्युटि पेजेन्ट’ हुन लागेको हो । आयोजकले यतिबेला प्रतियोगिताका लागि सुनार समुदायका युवतीहरुलाई लक्षित गर्दै आवेदन खुलाएको छ । दुई चरणमा युवतीहरु प्रतियोगिताको लागि छनोट गर्ने आयोजकले बताएको छ । पहिलो चरणको अडिसन भैसकेको छ भने दोस्रो चरणको अडिसन शनिबार पोखरामा हुने कार्यक्रम संयोजक मुस्कान सुनारले बताइन् । ‘तथाकथित तल्लो जातिको भनेर समाजमा चिनिदै आएका दलित समुदायको युवतीहरु अझै पनि खुल्न चाहँदैनन् र सुनार समुदायका तिनै युवतीहरु जोसँग प्रतिभा भएर पनि प्लेटफर्म पाएका छैनन्, उनीहरुका लागि नै यो कार्यक्रम लक्षित छ,’ मुस्कानले भनिन् ।

प्रतियोगिताका लागि १९ जना सुनार समुदायका युवतीहरुलाई ‘इन्ट्री’ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि न्यूनतम एसएलसी पास भएका १६ देखि ३० वर्षसम्म युवतीलाई २५ दिनसम्म विभिन्न खाले प्रशिक्षण दिइनेछ । व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, ¥याम्प वाकका विभिन्न शैलीहरु प्रशिक्षणको क्रममा सिकाइने छ । आयोजकले भदौको पहिलो साता प्रतियोगिताको ग्रान्ड फिनाले हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ‘सिल्भर क्राउन’ सहित ५० हजार रुपैँया नगद प्राप्त गर्नेछन् । त्यस्तै ‘फस्ट रनरअप’ले २० हजार रुपैयाँ र ‘सेकेन्ड रनरअप’ले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । साथै प्रतियोगितामा आएका प्रतियोगीहरुका लागि आयोजकले विभिन्न अवसरहरु प्रदान गर्ने पनि बताएको छ । सुनार समुदायका युवतीहरुलाई लक्षित गरी आयोजना भएको सुन्दरी प्रतियोगिता यो नै पहिलो भने होइन । यद्यपि यसअगाडि भएका समुदाय लक्षित यस्ता कार्यक्रमहरुले निरन्तरता पाउन सकिरहेका छैनन् । यद्यपि यो कार्यक्रमलाई भने आयोजक संस्थाले निरन्तर आयोजना गर्दै जाने बताएको छ ।

Leave A Comment