पोखरामा फस्टाउँदै डिस्को

आइतबार, २९ साउन २०७४, १० : ४१ मनोज घर्तीमगर , Kathmandu
पोखरामा फस्टाउँदै डिस्को

बहाना भए पुग्छ, पोखराका युवायुवती मस्ती गर्न अगाडि सरिहाल्छन् । उनीहरु अनेक बहाना बनाएर रमाइलो गर्न माहिर छन् । बिस्तारै विकेन्ड कल्चरलाई पनि अपनत्व महसुस गरिरहेका छन्, पोखरेली । अहिलेको युवापुस्ता सानोतिनो काम भए पनि व्यस्त हुने कल्चर बढेको छ । हप्ताभर व्यस्त हुँदा आफ्नो जोडी भेट्न नपाएर उकुसमुकुस हुने कति छन् कति !

सधैँ कामको मात्रै कति टेन्सन ! कहिलेकाहीँ त रमाइलो गरौँ भन्नेहरुले विकेन्ड कल्चरलाई बढावा दिइरहेका छन् । युवायुवतीलाई पनि ‘गुड फ्राइडे’ फलिफाप भएको छ । कोही घुमफिर गर्छन् । कोही रेस्टुराँमै खुम्चिन्छन् । कोही डिस्कोथेकमा गएर मनाउँछन ‘गुड फ्राइडे’  । ‘शुक्रबार कहिले आउलाजस्तो हुन्छ, एक छिन भए पनि ऊसँग (प्रेमिका) रमाउन पाइन्छ,’ पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा प्रेमिकासँग घुम्न निस्कने बानी परेका सुदीप पाण्डे भन्छन्, ‘साँझपख घुमाघाममा निस्कँदाको मजा बेग्लै हुन्छ ।’

हरेक शुक्रबार यहाँका डाँडाकाँडा, फेवाताल, पावरहाउस, काहुँडाडा, बसुन्धरापार्क, सराङकोटलगायत पर्यटकीय स्पटमा मनाउने जोडीको लर्को देख्न पाइन्छ । यी त भए बाहिरी संसार । भित्री संसारमा रमाउनेहरुको जमात झन् ठूलो छ । समय र बजेट कम हुनेहरु रेस्टुराँको कुनामै थन्किनेहरु पनि उत्तिकै छन् । ‘बाहिर घुम्दा कसैले देख्लान् भन्ने पीरले रमाइलो पनि हुँदैन,’ पोखराको एक रेस्टुराँमा चुरोट उडाउँदै गरेका विमल श्रेष्ठ भन्दै थिए, ‘समय र खर्च पनि वचत । कसैले देख्लान् भन्ने पीर पनि नहुने, टन्टै साफ । भित्र बस्यो, एकछिन रमायो । डेरातिर लाग्यो ।’ यसो भनिरहँदा उनकी प्रेमिका लाजले रातो हुँदै कम बोल्न संकेत गरिरहेकी थिइन् ।

कुनै पर्वको बहाना मात्रै चाहिन्छ, डान्स पार्टी आयोजना भइहाल्छ डिस्कोथेकमा । ‘गुड फ्राइडे’को नाममा सातैपिच्छे डिस्को धाउनेहरुको जमात झन् ठूलो छ यहाँ । खासगरी पोखराको लेकसाइड नै रात्रि जीवनको रमाइलो गर्ने स्थान हो । युवायुवतीलाई साथ दिएका छन्, यहाँका डिस्कोले ।  शुक्रबार र शनिबार विशेष छुट दिने भएपछि ‘गुड फ्राइडे’को नाममा डिस्को जानेको लहर छ । शुक्रबार त थामिनसक्नुको भिड लाग्छ यहाँका डिस्को थेकमा ।

त्यसो त बार, क्लब अनि डान्स पार्टीमा आउने सहभागी सधैँजसो नयाँ–नयाँ भएकाले पनि सांगीतिक वातावरण गजबै हुन्छ । डिस्कोमा नाम चलेका डिजेहरु पनि हुन्छन् । जसले युवायुवतीलाई फरक–फरक संगीतको तालमा नचाउँछन् । नेपाली र गोरा गोरेनीहहरुसँग नाच्न पाउँदाको बेग्लै मजा ! अचेल डिस्कोमा रमाउनेहरु खुबै बढेका छन् पोखरामा । ‘डिस्को कल्चरप्रति पछिल्लो समय युवाको आकर्षण ह्वात्तै बढेको छ,’ बिजीबी डिस्कोका सञ्चालक सुनील भट्टराई भन्छन्, ‘विकेन्ड कल्चरले गर्दा पनि युवायुवतीको क्राउड बढी हुन्छ ।’

मानिसलाई मनोरञ्जन त चाहिन्छ नै त्यसैले मन परेको साथीसँग डिस्को र डान्स पार्टीमा गएर रमाउँछन् पोखरेली । डिस्को जानु र डान्स पार्टीमा मस्ती गर्नु सामाजिक र पारिवारिक कारणले कतियप परिवारमा बन्देज पनि छ तर पनि परिवारका आँखा छलेर डिस्को र पार्टीमा पुगेपछि कसको के लाग्छ र ? युवायुवतीहरु लुकेर/ढाँटेर भए पनि संगीतको तालमा ज्यान हल्लाउन पुग्छन् डिस्को र डान्स पार्टीमा । ‘घरमा थाहा पाए बरबाद हुन्छ । साथीको बर्थ डे छ भन्दै अथवा अरु कुनै बहाना बनाएर डिस्को जाने हो,’ रामबजारकी एक युवती भन्छिन्, ‘साथीभाइ जाँदा आफूलाई पनि मन लाग्छ, घरबाट अलाउड छैन । के गर्नु ? लुकीलुकी छिर्नुपर्छ ।’

रात्रिजीवनमा रमाउनेहरुको जमात बढेपछि पोखरा रमाइलो बन्दै गएको छ । यहाँ डिस्को कल्चरमा रमाउनेहरु बढ्नुका कारण धेरै मानिसहरु विदेशमा जाने र आउने गर्नु हो । उनीहरु पोखरा आउनेबित्तिकै विदेशी शैलीलाई फलो गर्छन् । त्यही भएर पनि पोखराका मानिसहरुको लत डिस्कोमा बसेको हो । डिस्को, डान्स पार्टीमा सहभागी सधैँजसो नयाँ–नयाँ हुन्छन् । जसले सांगीतिक वातावरण गजबको बनाइदिन्छ । डिस्कोमा नाम चलेका डिजेहरु पनि हुन्छन् । जसले युवायुवतीलाई फरकफरक संगीतको तालमा नचाउँछन् । ‘गर्लफ्रेन्डसँग डिस्कोमा नाच्नुको मजा बेग्लै हुन्छ, त्यसैले डिस्को आउँछु,’ डिस्को जाने लत परेका अर्जुन थापा  भन्छन्, ‘मन्द लाइटमा ऊसँग (प्रेमिका) शरीर हल्लाउँदाको मजा कसरी बयान गर्ने । नयाँनयाँ साथीभाइसँग पनि नाच्न पाइन्छ ।’

डिस्कोमा कहिले भिड थामिनसक्नु हुन्छ त कहिले आयोजक र उनीहरुका शुभचिन्तक मात्रै । यत्ति भए पनि पार्टी जमेकै हुन्छ । रात्रि जीवनको मजा लिने युवायुवतीहरु डिस्को, डान्सबार, रेस्टुराँमा लाम देख्न पाइन्छ । आ–आफ्नो ग्याङ बनाएर बाइक हार्र र हुर्र पार्दै डिस्कोमा पुग्ने युवाको हुल थामिनसक्नुको हुन्छ । हातमा बियर र वाइनको गिलास लिएर एकआपसमा अंगालोमा बाँधिएर मस्तराम हुनेहरु डिस्कोमा खुबै भेटिन्छन् । युवायुवती मात्रै हैन पोखराका डिस्कोहरुमा अधबैंसे अनि वयस्कहरु पनि उन्मुक्त पाराले रमाउने गर्छन् ।

तस्वीरहरु:  भूपालकुमार गुरुङ/ जक्सन डटकम

 

Leave A Comment