प्रजापति पराजुली
पुरानो चलनअनुसार तीजमा व्रत बस्ने र गीत गाउने चलन भयो । पार्वती र उनका संगीले गाएजस्तै पीडा वेदनामा गीत गाइए । चल्दै आएको रीतिथितिलाई हाम्रा दिदीबहिनीले पनि पछ्याए । उनीहरुले श्रीमान्ले दिएका पीडा, सासुससुराबाट पाएको हेला, नन्दआमाजूबाट पाएको अपहेलनालाई गालीगलौज गर्दै बुहारी बनेर गीतका माध्यमबाट गाली गर्न थाले । उहिले तीजका बेला गीतका माध्यमबाट गाली गर्न छुट जस्तै थियो । विशेष गरी बुहारीले आफूलाई मन नपरेकोलाई गाली गर्नलाई यस्ता गीत गाए ।
हे... खाना खान दिँदाखेरी भाँडो बजाइन् बज्यैले
मर्नेबेला यिनलाई किरा परुन् मजैले
उमेर ढल्केकी बज्यैको कचकच सहन नसकेर तीजका बेला नातिनी बुहारीहरुले यसरी सार्वजतिक ठाउँमा गाउँदै गाली गर्न थाले । त्यसपछि आफ्ना श्रीमान्लाई गाली गर्न थाले गीतबाट ।
वल्तीर पल्तिरका साथीभाइलाई डाकेर
हाम्रा बूढा रक्सी पिउँछन् जनै राखेर
आफ्ना श्रीमान्को बेइज्जत आफैँ गर्न थाले । त्यसपछि उता सासू यता पति रिसाए । यत्तिले पुगेन । बुहारीहरुले तीजलाई बढ्तै स्वतन्तत्राका रुपमा प्रयोग गर्न थाले । अहिलेजस्तो पार्टी प्यालेस र होटलमा तीज हुने कुरै थिएन । तीज आउनै लाग्दा मेलापात लेकबेसीमा यस्ता गालीगलौज गरिएका गीत घन्किन थाले । विशेष गरी तीज बाहुनक्षेत्री समुदायकै हो । बाहुनले त जनै लगाएर रक्सी खान हुन्न भन्ने थियो । रक्सी खाएकोमा पतिलाई सार्वजनिक बेइज्जत गर्न थाले । अर्को कुरा बाहुन क्षेत्री समुदायमा उमेर उस्तैउस्तै रहेछ भने पहिला छोराको बिहे गरेर बुहारी ल्याउने अनि छोरीको बिहे गरिदिने चलन हुन्छ । अहिले पनि छ । त्यो भएपछि ती दुलहीभन्दा जेठी आमाजू भइन्, कान्छी रहिछन् भने नन्द । बुहारीले आमाजू नन्दलाई पनि बाँकी राखिनन् गीतबाट ।
हे...घाँसको भारी बोकेर मेरो टाउको सुन्नियो
नन्द र आमाजू त मरे हुनि हो ।
मेलापात, चौतारी सार्वजनिक रुपमा तीजका गीतमा यस्ता गीत गाउन थालियो । पार्वतीका पालामा पीडाका कुरा मात्रै गाइन्थे । अब मध्य समयमा आएर नारी स्वतन्त्रताका कुरा भनेर घरेलु हिंसा भित्रिने खालका यस्ता उछृङ्खल गीतहरु प्रस्तुत हुन थाले । त्यतिबेला मिडिया थिएन । वारि गाउँको घटना, पारि गाउँ पु¥याउन गीतको माध्यम लिइन्थ्यो । दिदीबहिनीहरुले तीजको दिन मेला लागेको ठाउँमा अथवा कहीँकतै जम्मा भएर आफ्नो घरआँगनमा यस्ता गीतहरु प्रस्तुत गर्थे । जुन कुरा समाजले छुट दिएको थियो ।
पहिलो तीज गीत प्रतियोगिता
तीज गीतले घरेलु हिंसा भित्रने भए । सासु, ससुरा, पति, आमाजू, नन्द कोही बाँकी रहेनन् गाली खान । त्यसपछि यस्ता गीत गाउनु हुँदैन भन्ने लहर चल्यो । अबका नारीहरु अठारौं शताब्दीका हैनन्, २१ औं शताब्दीका हुन् । अबका गीतलाई परिवर्तनसँग जोडेर गाउनुपर्छ । शिक्षा, चेतना, नारीहरुलाई आत्मनिर्भर, उद्यमशील बन्नुपर्छ भन्ने कुरा आयो । महिलाहरुलाई सम्मान र पुरस्कृत पनि गर्नुपर्छ परिवर्तनका गीत गाए भनेर २०४३ सालमा पोखरा रामबजार कालिका मन्दिरमा नेपालमै पहिलो पटक तीज गीत प्रतियोगिता संचालन गरियो । यसका उद्घोषक, परिकल्पनाकार र निर्णायक मैँ थिएँ । त्यो मन्दिरका संचालक समितिका अध्यक्ष मनवीर गुरुङ(ढासा), खेमकुमारी बराल, महेश गुरुङ, शन्तबहादुर गुरुङ, खेम थापा, निरज थापाहरु दोहोरी गीत प्रतियोगिता गर्नुपर्छ भन्नुहुन्थ्यो । मैले तीज गीत प्रतियोगिता भने । मेरै जित भयो । महिला दिदीबहिनीहरुका लागि तीज गीत प्रतियोगिता गरियो । अहिले तीज गीत प्रतियोगिता जहाँतहीँ देशभर हुन्छन् । तीज गीत प्रतियोगितामा भाग लिन महिलाहरु आमाहरु, दिदी, भाउजू, माइजू, फूपूहरु जम्मा भए । थुप्रै समूह थिए । परिवर्तनका गीत गाइएलान् । महिला सशक्तीकरणका गीत गाउलान् भनेको त प्रतियोगितामा सहभागी भएका अधिकांशले पुरुषलाई गाली गर्ने गीत गाए ।
हामी दिदी बहिनीले मिली गीत गाउने हो ।
अहिलेका पुरुषलाई सिस्नो लाउने हो ।
अहिलेका पुरुषलाई यतिसम्म पार्ने हो
नून खुर्सानी दल्नलाई छाला तार्ने हो
प्रतियोगितामा यस्ता गीत गाए । पुरुषलाई किन सिस्नो लाउने ? किन छाला तार्ने ? पुरुषलाई किन गाली गर्ने ? नतिजा दिँदा कसले कस्ता गति गाउने भन्दा गीत लेख्नतिर ध्यान गयो । कार्यक्रम आयोजना गर्ने पनि पुरुष, निर्णायक, संचालक सबै पुरुष तर सुन्नु प¥यो गालीका वर्षा । दिनभर गीतमा पुरुषलाई गाली गरेपछि साँझ नतिजा सुनाउने बेला म आफैँले एउटा तीज गीत गाएँ ।
भन्न मन लाग्छ मलाई यो गीतमा बेसरी
महिलाले महिला हक खोस्यौ यसरी
तिमी महिला हुन्छौ फेरि देउरानी र जेठानी
तिमी आफैँ झगडा गर्छौ कुन्नी के ठानी
तिमी महिला हुन्छौ फेरि सासु र बुहारी
सानातिना कुरामा ’नि खेल्छौ जुहारी ।
नभएका कुरा लाउँछौ सुँक्कसुँक्क रोइदिन्छौं
आफ्ना–आफ्ना लोग्नेसँग जाती भइदिन्छौं
यस्तो गति गाएपछि कार्यक्रम हेर्न आएका पुरुषहरु रमाए । महिलाहरु मुर्छा परिपरि हाँसे । दिनभर महिलाले गाएको गीतभन्दा बेलुका मैले गाएको गीत मन मन पराउनेहरु धेरै भए । त्यसपछि मैले महिलाहरुलाई संस्कार सिकाउने खालको गीत लेखेर तीज गीत गाउन सुरु गरेँ । मभन्दा अघि तीज गीतमा पुरुष स्वर हाल्ने बमबहादुर कार्की हुनुहुन्छ तर संवादमूलक दोहोरी तीज गीत निकाल्ने मै हुँ । पहिलो तीज गीत पुरुष स्वरमा ‘वेदनाको पोको भाग–१’ आयो । ‘वेदनाको पोको भाग–१२’ सम्म निस्कियो ।
तीज आयो जाऊ न बाबु दिदी लिनलाई
खुट्टैमा ढोग गर है भेट्दा भिनालाई
मैले २०४३ मा तीज गीत निकाल्दा त्यतिबेलाका गीत शिष्ट, शालिन, सभ्य, व्यथा, कथा र संवादमूलक हुन्थे । अहिले तीज गीतका नाममा रत्यौली गाइएका छन् । अचेलका तीज गीत उच्छृङ्खल, विकृति र विसंगति र अभद्र यति छन् किन यिनको बयान गरी साध्यै छैन । २०६४ सालसम्म तीजका गीतमा विकृति आएका थिएनन् । २०६४ सालपछि खुमन अधिकारी, पशुपति शर्मा, कोमल ओली लगायतकाले तीज गीतका नाममा रत्यौलीजस्ता एउटै लयमा १०÷१२ वटा गीत गाउन थालेपछि विकृति भित्रियो । २०६४ सालअघि कुनै मिडियाले पनि गीतमा आएका विकृतिबारे कुरै उठाएका छैनन् ।
तीजका गीतमा विकृति ल्याउनेहरु गीतका ग नजानेका, संगीतका स नजानेका, कलाकारका क नजानेकाहरुले भाइबहिनीहरुको कारणले गर्दा अहिलेका तीज गीतहरु विकृत पाराले प्रस्तुत भएका छन् । अहिलेका तीजे गीत आमा, दिदीबहिनी, बाबु छोरी, आमा छोरासँगै बसेर हेर्न लायक पनि छैनन् । सुन्न लायक पनि छैनन् । विशेषगरी २०६४ सालबाट विकृति छिर्न सुरु भयो । २०६७ सालदेखि त तीजे गीतमा विकृति र विसंगति छरपष्टै भयो । तीजे गीत भनिएका भिडियो हेर्न पनि सकिँदैन अहिले ।
श्राद्धको स नजानेको पण्डितलाई श्राद्ध गर्न दियो भने धान चामल भुट्छ । त्यस्तै गीतको ग नजानेका, संगीतको स नजानेकाले तीज गति भुटेका छन् । सस्तो लोकप्रियताका लागि एउटै एउटै लयमा १२÷१५ वटा गीत लेखिदिए सर्जकले । लय भर्नेले १२÷१५ जनालाई त्यही एउटै लय र गीत बेचे । त्यस्ता गीत हाम्रा चेलीबेटीहरुले किनेर गाए । हामीले रत्यौलीमा गाउने गीत अहिलेका सुपरहिट तीज गीत भए ।
हाम्रा पालामा चेलीले आफ्नो वेदना कहेका गीत गाउँथे । नारी संवेदना तीज गीतमा प्रस्ट झल्किन्थे । त्यतिबेला नारी चेतना, शिक्षा, संस्कार, संस्कृतिका, हकअधिकारका कुरा तीजे गतिमा आउँथे । रातो सारी लगाएर नाच्दैमा तीज गीत हुन्छ भन्ने भ्रम छ अहिलेका पुस्तालाई । अर्को कुरा देखाउनका लागि र पोजेपनले गर्दा तीज गीत बिग्रियो । अहिलेका तीज गीत माया, प्रेम, सेक्स, छोटोे कपडा लगाउने भए । अर्को कुरा अहिलेका तीज गतिमा छोरा मान्छे लुठो र जोकर बनेर नाच्ने क्रम ह्वात्तै बढेको छ । यो तीजको असली संस्कृति होइन । अहिलेको तीज त अंग प्रर्दशन गर्ने अवसर जस्तो भएको छ । तीज गीतको कथा नबुझेर जे पायो त्यही भिडियो छायाङ्कन गरिदिनाले पनि हो । यसमा निर्देशकको कारण गर्दा पनि तीज गीतमा विकृति आएको हो ।
सेन्सरबोर्ड चाहियो
पहिला स्थायी सरकार होस् । त्यसपछि गीत संगीतलाई सेन्सर गर्नलाई सेन्सर बोर्ड बनाउनुपर्छ । अहिले तीज गीत गाउनेहरु छाडा गाईबस्तुजस्तो भए । छाडा छाडेकाले जे पनि खाइदिए । पाती, घाँस, मकै, गहुँ सबै खाइदिए । लेख्नेले जे पनि लेखिदिए, गाउनेले जे गीत पनि गाइदिए । भिडियो बनाउनेले कथाले मागेको बुझ्नु छैन । जति सक्यो छोटो वस्त्र लगाएर भिडियो बनाइदिए । तीज भाका भनेर रत्यौली गाउनु, तीज गीतमा अंग प्रदर्शन गरेर मोडलिङ गर्नु, लुठो भनेर पुरुष नाच्नु तीज पर्वमाथि ठूलो आक्रमण हो । गीतको कथा नबु्झी नाच्नेहरु, भिडियो बनाउनेहरु छन् यहाँ । एउटै मान्छेका गीत एउटै लयमा १० वटा छन् । फरकपन दिनुप¥यो । यसमा मिडियाको पनि कमजोरी छ । मुलुकको चौथो अंगको रुपमा रहेका मिडियाले यस्ता विकृतिका गीतलाई सेन्सर गरेर राख्नुपर्छ । जो उत्ताउलो, जसले नचाहिने कुरा गर्छ उसलाई मिडियालाई बाहिर ल्याइदिन्छ । मिडियाले उत्ताउला गीत नदेखाउने, त्यस्ता गीत नबजाउने, त्यस्ता गीत गाउने, बनाउने र नाच्ने कलाकारलाई ठाउँ नदिने हो भने उनीहरु आफैँ हतोत्साही हुन्छन् । यति हुँदाहुँदै पनि यसलाई रोक्ने भनेको एक मात्र उपाय सेन्सर बोर्ड हो । गीतसंगीतलाई पनि सेन्सर गर्नुपर्छ । सेन्सर गर्ने अधिकार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई दिनुपर्छ । सरकारले प्रतिष्ठानलाई सेन्सर गर्ने अधिकार दियो भने नेपाली कला संस्कृतिलाई संरक्षण गर्न सक्छौं ।
(मनोज घर्तीमगरले गरेको कुराकानीमा आधारित)
Leave A Comment