नेपाली फिल्म भन्नेबित्तिकै ठूला पाखुरा, आर्यन अनुहारको छायाँ आउँछ । बिस्तारै यो मानक बदलिँदैछ । पोखरा आसपासमा चिम्सा आँखा, होचो कद, मंगोलियन अनुहार भएकाहरु पर्दामा नायकत्व जमाउँदैछन् । २०४६ सालको जनआन्दोलनपछि राजनीतिक र सामाजिक परिवर्तन, कलासंस्कृतिको संरक्षण र पहिचानको आन्दोलन पनि सुरु भयो । त्यही क्रममा स्थानीयस्तरमा बनेका मातृभाषाका फिल्मले आफ्नो परम्परा, भाषा, धर्म, रीतिरिवाज र संस्कृतिको उठान गरे । त्यतिबेलादेखि नै मगर फिल्म पनि बिस्तारै उकालोतिर लाग्यो ।
२०५१ सालमा ‘लङ्घन’ फिल्म निर्माण भएपछि मगर फिल्मको इतिहास सुरू भएको हो । युवराज मास्की रानामगरको निर्देशन, हिमालयन कल्चर मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘लङ्घन’मा डिबि पुलामी मगरले लगानी गरेका थिए । यही इतिहासलाई निरन्तरता दिँदै यतिबेला मगर भाषासंस्कृतिमा आधारित फिल्म बनाउन तछाडमछाड चलिरहेको छ । केही वर्ष पहिलेसम्म मगर फिल्म सदरमुकाममा मात्र प्रदर्शन भइरहेको थियो । त्यो पनि केवल च्यारिटी सो मात्रै । अहिले मगर फिल्मले गाउँदेखि सहर अनि देशदेखि विदेशसम्म आफ्नो बजार जमाएको छ । ‘बसोबासको हिसाबले पूर्व मेचीदेखि पश्चिम महाकालीको कुनाकुनामा मगर जाति फैलिएको हुँदा सबै क्षेत्रमा फिल्म देखाउन पनि सजिलो छ,’ मगर फिल्मका पहिलो निर्देशक एवं आदिवासी जनजाति मातृभाषी फिल्म प्रवद्र्धन समितिका निवर्तमान संयोजक युवराज मास्की रानामगर भन्छन्, ‘विभिन्न विदेशी मुुुलुकमा समेत प्रदर्शन हुन थालेपछि मगर फिल्मकर्मी झन् हौसिएका छन् ।’
पछिल्लो समय पोखरा र यस आपासमा मगर कथानक नेपाली भाषाका फिल्म तथा मगर भाषाका फिल्महरु बन्ने क्रम बढेको छ । कोही आफ्नो भाषा, संस्कृतिलाई फिल्मका माध्यमबाट सम्वद्र्धन गर्ने भन्दै हाम्फालेका छन् । कोही रहरले फिल्म लाइनमा आएका छन् । कोही समाज रुपान्तरणमा योगदान दिने भन्दै फिल्मको सहारा लिइरहेका छन् । कोही भने पर्दामा देखिने रहर पूरा गर्न र कलाकारको रुपमा दर्ज हुन फिल्ममा आएका छन् । केही मात्र सीमित व्यक्ति छन्, जो फिल्म बुझेर लागेका छन् । जसले रातारात कसैलाई नायक, कसैलाई नायिका अनि कोही निर्माता त कोही निर्देशक बनाइदिएको छ । फिल्म निर्देशक मेजन पुनमगर फिल्म बन्ने क्रम बढ्नुलाई स्वाभाविक ठान्छन् । उनले मगर फिल्म बन्ने लहर चलिरहेको बेला धेरैजसो व्यक्ति लहलहैमा, केही व्यक्ति रहरले यस क्षेत्रमा प्रवेश गरेको सुनाउँछन् । ‘कोही बुझेर आएका छन्, कोही नबुझी,’ उनी भन्छन्, ‘तर बजार अझै पनि सुरक्षित छैन । बुझेर मात्रै फिल्ममा लाग्दा राम्रो हुने मेरो सुझाव छ ।’
एकपछि अर्को धमाधम फिल्म बन्न थालेपछि चिम्सा आँखा, मझौला कद भएका मंगोलियन अनुहार भएका नायकनायिका ह्वात्तै बढेका छन् । यतिबेला फिल्म बनाउनका लागि प्रतिस्पर्धा चलेको छ । स्थानीयस्तरमा बनेका फिल्मको बजार पनि फराकिलो हुँदै गएकाले फिल्म बन्ने क्रम केही बढेको आदिवासी जनजाति चलचित्र महासंघका सचिव एवं निर्देशक विवेश बुढामगरको भनाइ छ । ‘धमाधम मगर फिल्म बन्नुको पछाडि बजार विस्तार हुनु मुख्य कारण हो, पहिले मगरहरुको बसोमास रहेको बाक्लो स्थानमा मात्रै चल्थ्यो । अहिले नेपालका विभिन्न जिल्ला र विदेशमा पनि फिल्म चल्छ,’ सचिव बुढागमर भन्छन्, ‘फिल्मबाट नाम मात्रै हैन, दाम पनि आउन थाल्यो । यसले झन् हौसला थपेको छ ।’
२०६२/६३ को जनआन्दोलपछि उठेको पहिचानको मुद्दालाई पछिल्लो समयमा बनेका मगर फिल्ममले प्राथमिकतामा राखेका छन् । फिल्मले भाषा, धर्म र संस्कृतिको उठान बढी गरेका छन् । त्यसबाहेक लाहुरे संस्कारसम्बन्धी फिल्म पनि धेरै बन्ने गरेका छन् । डिजिटल प्रविधिको विकास स्थानीय स्तरमा बन्ने यस्ता फिल्मका लागि वरदान भएका छन् । अधिकांश फिल्म १५ देखि ३० लाखको हाराहारीमा बन्छन् । यस्ता फिल्म नाफा कमाउनभन्दा पनि संस्कार र संरक्षण गर्न अनि मगरातप्रति जनमत बनाउन बनाइएका छन् । केही फिल्म त मगरातको राजनीतिक मिसनमा आधारित छन् । ‘पछिल्लो समय आदिवासी जनजातिमा पनि चेतनाको लहर बढ्दै गयो, उनीहरुले पहिचानको मुद्दालाई समेट्न फिल्मको सहयोग लिन थाले,’ राजनीतिक मिसनमा आधारित फिल्म ‘घावनाङखर’का निर्माता एवं नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगर भन्छन्, ‘केहीले फिल्मलाई सामाजिक जागरण, समाज रुपान्तरणका लागि गतिलो माध्यम पनि ठानेका छन् ।’
मगर फिल्महरु कुनै ऐतिहासिक, कुनै यथार्थपरक, कुनै शिक्षामूलक त कुनै शुद्ध मनोरञ्जनको लागि निर्माण गरिएका छन् । फिल्मले संस्कृति हस्तान्तरण, अन्वेषण, भाषा पुनःउपयोग र जातीय जागरण÷सचेतना ल्याउनेसमेत गर्छ । कसले पहिले फिल्म बनाउने भनेर प्रतिस्पर्धा भएपछि कलाकारलाई फाइदा पुगेको छ । अहिलेसम्म करिब ६० वटा मगर फिल्म बनिसकेका छन् । यस्तै झन्डै २५ वटा डकुमेन्ट्री छन् । तीमध्ये ३० वटा फिल्म संघमा दर्ता भएका छन् ।
Leave A Comment