पोखरेली नाटक उदाउँदै–अस्ताउँदै

शनिबार, १७ भदौ २०७४, ११ : ३० मनोज घर्तीमगर , Kathmandu
पोखरेली नाटक उदाउँदै–अस्ताउँदै

कुनै बेला पोखराका टोलटोलमा नाटक मञ्चन हुन्थे । नाटक मञ्चन गर्ने दर्जन बढी संघसंस्था थिए । प्रत्येक महिनाजसो विभिन्न संस्थाले नाटक मञ्चनको कार्यक्रम राख्थे । एक जमाना पोखरामा नाटकको लहरै चलेको थियो । नाटक भनेपछि हुरुक्कै हुने दर्शक र यस क्षेत्रप्रति आकर्षित हुने जमात झन् ठूलो थियो । नाटकमा काठमाडौंलाई समेत टक्कर दिने पोखरेली नाटकको त्यो रौनक अहिले  छैन ।
पोखराको नाटक घरी उदाउँछ, घरी अस्ताउँछ । यहाँको नाटक घिटीघिटी गर्दै बाँचिरहेको छ । पोखरामा नाटकसँग जोडिनेको नामावली तयार पार्ने हो भने पाँच सय कट्छ । नाटक लेख्ने, अभिनय गर्ने, निर्देशन गर्नेको यो सानो जमात होइन । तैपनि यहाँको नाटक किन एउटै रफ्तारमा जान सक्दैन ? ३० को दशकमै पोखरेली नाटकलाई काठमाडौँसम्म चिनाउने काम गरेका नाटककार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त भन्छन्, ‘नाटक लेख्ने र अभिनय गरेर मात्रै जीवन धान्न नसक्ने स्थिति र समयको विकासलाई पोखरेली कलाकारले पछ्याउन नसक्दा पोखरेली रङ्मञ्च सुस्ताएको हो ।’
स्वयं सरुभक्तले पनि पोखरेली नाटकलाई माथि उठाउन पहल गर्नुपर्ने हो तर त्यस्तो देखिँदैन । पोखरेली नाटकको इतिहास हेर्ने हो भने गर्व गर्ने अनेकौँ सन्दर्भ छन् तर इतिहास मात्र सम्झेर केही हुनेवाला छैन । इतिहासलाई जोगाउनु र नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नु ठूलो कुरा हो । पोखराका लागि ३० को दसक देखि ५० को दसकसम्म नेपाली नाटक क्षेत्रमा स्वर्णिम युग नै थियो । यही सन्दर्भ जोड्न बेलायती सेनाका भूपू क्याप्टेन मिनबहादुर गुरुङले डाँफे कला केन्द्र खोले । ४० को दशकमा केन्द्रले बगरमा दुई रुपैयाँ टिकटमा नाटक देखाउँथ्यो । लगत्तै पोखरामा कृष्ण उदासीले नेतृत्व गरेको ओम शिवकला मन्दिर, अनुप बरालको नेतृत्व र सरुभक्त सल्लाहकार रहेको प्रतिबिम्ब पोखरा, गोविन्द कोइरालाको नेतृत्वमा हिमशिखर कलामन्दिर, सविन बास्तोलाको नेतृत्वमा क्षितिज नाट्य समूह, डाँफे कला केन्द्र, यस्तै प्रकाश घिमिरे, मोहन सिंह खड्का लगायतले नेतृत्व गरेका थुप्रै संस्थाहरु थिए । अहिले केही संस्था नामका लागि मात्र जीवित छन् । ती संस्था पनि क्रियाशील भएको अवस्था छैन । ‘धेरै कलाकार पोखराबाटै पलायन भैसकेका छन् । कतिकलाकारहरु पोखरेली रङ्गमञ्चबाट उदाएर फिल्म क्षेत्रमा सक्रिय छन्,’ नाट्यकर्मी एवं फिल्मकर्मी माओत्से गुरुङ भन्छन्, ‘बेलाबेला नयाँ पुस्ताले पोखरेली रंगमञ्चमा केही गर्न खोज्छ तर निरन्तरता दिन भने जस्तो सजिलो छैन ।’
अघिल्लो वर्ष पोखरामा पुलिस र प्यास नाटक मञ्चन भए । त्यसअघि ‘अर्को ओरालो’ नाटक मञ्चन भएको थियो । पोखरामा यसरी फाट्टफुट्ट नाटक मञ्चन भए पनि पोखरेली नाट्य क्षेत्र खासै फस्टाउन सकेन । चार वर्षअघि पोखरेली नाट्य क्षेत्रमा पुनर्जागरण ल्याउने उद्देश्यले नाटक क्षेत्रमा लागेका नाट्यकर्मीको सक्रियतामा नाटककार कृष्ण उदासीकै अध्यक्षतामा पोखरेली नाट्य प्रतिष्ठान गठन भयो । प्रतिष्ठान गठन त भयो तर सबैलाई समेट्न सकेन । ‘जुन योजना र उद्देश्यले प्रतिष्ठान गठन भएको थियो, त्यस योजना अनुरुप काम गर्न सकेन,’ त्यही समितिका एक सदस्य भन्छन्, ‘अर्कोतर्फ प्रतिष्ठान गठनसँगै गुट जन्मियो । गुटका नाममा नाट्यकर्मी अलगअलग हुन पुगे ।’ प्रतिष्ठान गठनले नाटक क्षेत्रमा केही तरङ्ग त ल्यायो तर खास उपलब्धिमूलक हुन सकेन ।
तीन वर्ष पहिले नाटक क्षेत्रमा रुचि राख्ने युवा तथा पत्रकार विभू भुषाल, मनोज घर्तीमगर, रेम विक, सौगात संघर्ष लगायतका व्यक्तिले युथ क्रिएसन गठन गरे । क्रिएसनको सक्रियताले पुनः ७० को दशकको सुरुमा कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको ‘अन्तर्राष्ट्रिय रक्सीभट्टी’ नाटक मञ्चन ग¥यो । यस नाटकले गुम्न लागेको पोखरेली नाटकको इतिहासलाई जोगाउने काम मात्रै गरेन नयाँ तथा पुराना पुस्ताका बीच नाटकलाई लोकप्रिय बनायो । ‘नाटक मञ्चनपछि नाट्यकर्मीलाई पोखरेली दर्शकबाट हौसाला मिल्यो,’ थिएटरका अध्यक्ष कपिल शर्मा भन्छन्, ‘आमाको मुच्र्छना’ र ‘स्मृति’ नामक दुई कविता पोखरेली इतिहासमै पहिलो पटक पोखरामा मञ्चन गरियो । लगत्तै ‘अर्को ओरालो’ नाटक पनि थिएटरले मञ्चन ग¥यो तर विभिन्न कारणले निरन्तरता दिन सकिएन । अब पुनः निरन्तरताका लागि काम गर्दैछौं ।’
पोखरामा जति नाट्य क्षेत्रमा लागेका र नाटकमा योगदान दिएका व्यक्ति छन्, सबैको साझा कार्यक्रम भने पोखराले अहिलेसम्म पाउन सकेको छैन । यहाँको नाटक अस्ताउँदै र उदाउँदै गर्नुमा यसले ठूलो भूमिका खेलेको जानकारहरु बताउँछन् । खासगरी पोखरेली नाटक फस्टाउन नसक्नुको मुख्य कारण प्रविधिको विकासलाई पछ्याउन नसक्नु पनि धेरैको भनाइ छ । नाटक निर्माण र मञ्चनका लागि आवश्यक पर्ने साउन्ड इफेक्ट, विद्युतीय पर्दा दृश्य, नाटक मञ्चनका लागि प्रमुख रुपमा थिएटर हल तथा आधुनिक सामग्री नहुनु पोखरेली नाटकको मुख्य समस्या रहेको नाट्यकर्मी घनश्याम लामिछानेको भनाइ छ । ‘एकातिर हल छैन अर्को नाट्यकर्मी नै एकजुट छैनन्,’ फिल्म निर्देशकसमेत रहेका लामिछाने भन्छन्, ‘त्यसैले यहाँको नाटक अस्ताउँदै उदाउँदै गरेको छ । पोखरेली नाटकको जुन साख थियो, त्यसलाई जोगाउन अब धेरै मिहिनेत गर्नुपर्छ ।’
नाटकलाई ब्युँझाउने भन्दै पोखरा थिएटरको आयोजनामा निःशुल्क अभिनय कार्यशाला आयोजना गरिएको छ । ट्रिनिडाड एन्ट टोबागो देशको टेट्रो जोर्नी कम्पनीका डाइरेक्टर टाफर चायालुइस र भिडियाग्राफर तथा प्रोजेक्ट म्यानेजर यासिम बेन्जामिनले दिएको कार्यशालामा पोखराका २५ युवायुवतीले सहभागिता जनाएका छन् । पोखराको गैह्रापाटनमा रहेको थिएटर हलमा नै कार्यशाला गरिएको थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए । पोखराको नाट्य क्षेत्रको माहोल क्रियाशील बनाउने लक्ष्य साथ अगाडि बढेको थिएटरले नयाँ नाटक मञ्चनको तयारीसमेत गर्दैछ ।

Leave A Comment