मोडलिङ प्रतिस्पर्धा

शनिबार, २४ भदौ २०७४, ०१ : १२ शुक्रवार , Kathmandu
मोडलिङ प्रतिस्पर्धा

फेशन सोमा लाग्न चाहने युवायुवतीका लागि पोखरामा पहिलोपटक मोडलिङ प्रतिस्पर्धा हुने भएको छ । ‘फेस अफ फेसन’ नाम दिइएको रमाइलो छ प्रालिले गर्न लागेको मोडलिङ प्रतिस्पर्धाकोे शनिबार भएको पहिलो अडिसनबाट १२ जना छनोट भएका छन् । अडिसनको निर्णायकमा भर्तीको फन्दा किताबका लेखक तथा पत्रकार मनोज घर्तीमगर, डा. राजेन्द्र मानन्धर, मिस लियो फस्ट रनर अप सेल्ताज कुँवर थिए । दोस्रो चरणको अडिसनपछि विभिन्न राउन्डबाट बढीमा ३० प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिने रमाइलो छ प्रालिका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए । ‘यस्तो किसिमको प्रतियोगिता पोखरामा अहिलेसम्म भएको छैन,’ प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘पोखरामा हुने विभिन्न प्रतियोगिताभन्दा यो फरक कार्यक्रम हो ।’ प्रतियोगितमा १५ युवा र १५ युवती छनोट गरिनेछ ।

श्रेष्ठका अनुसार अन्तिम प्रतिस्पर्धामा छनोट भएका प्रतियोगीहरुको ग्रान्ड फिनाले असोज २८ गते पोखरा सभागृहमा हुनेछ । ‘फेस अफ फेसन’मा युवतीतर्फ एक र युवातर्फ एक जना विजेता तथा उपविजेता एकएक जना घोषणा गरिने प्रतियोगिता संयोजक अनिस श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार विजेताले नगद र विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले पनि नगद र अन्य गिफ्ट पुरस्कार पाउने छन् । प्रतियोगितमा एसएलसी उत्तीर्ण, ५ फिटभन्दा बढी उचाइ भएका युवती र ५ फिट ४ इन्च उचाई भएका जहाँसुकैका युवा–युवतीले प्रस्पिर्धामा सहभागी हुन पाउने कार्यक्रमका सहसंयोजक लविस गुरुङले जानकारी दिए । १६ देखि २५ वर्ष उमेर समूहका युवायुवतीले भाग लिन पाउने प्रतियोगितामा मोडलहरुलाई स्पेसल पहिरनको व्यवस्था पोखराको गैह्रापाटनस्थित स्यारोन बुटिकले गर्नेछ । त्यस अवसरमा ड्रेस डिजाइनरको समेत प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको अनलाइन पार्टनरमा टुडेपोखरा डटकम रहेको छ । 

Leave A Comment