केही वर्ष अघिसम्म पोखराका विभिन्न भागमा सार्वजनिक जग्गा र चौरहरु प्रशस्त थिए । ती जग्गामा दसैँ आउनु दुई/तीन हप्ताअघि नै चहलपहल सुरु हुन्थ्यो । त्यो चहलपहल दसैँभर मात्रै होइन, दसैँ सकिएको हप्तादिनसम्म उत्तिकै देखिन्थ्यो । कारण ती सार्वजनिक जग्गामा लिङ्गे पिङ हुन्थे । कतै कतै त रोटेपिङको मज्जा पनि लिन पाइन्थ्यो । पिङ मरिहत्ते गर्ने केटाकेटी, युवायुवती, प्रौढपाका सबैले पिङमा मच्चिदा दसैँ आएको संकेत दिन्थे ।
दसैँका पिङहरू कुनै सेक्सपियर, शेली या वाइरनले बयान गर्न नभ्याएका ‘रोमान्स’ का केन्द्र मानिन्थे । गाउँगाउँका तन्नेरीहरूले दसैँ भित्रँदा नभित्रँदै रोटे र लिङ्गे पिङहरू बनाइसक्थे । पिङ खेल्न आउने देशाली (अर्को गाउँका तन्नेरी–तरुनी) हरूलाई पिङ मच्चाइदिन गाउँका लोर्केहरूको होडबाजी हुन्थ्यो । पिङ घुमाएर ‘देशाली’ हरूलाई नाइँ बनाउन नसक्दा उनीहरूको बेइज्जत हुन्थ्यो । ‘अहिले पोखरामा दसैँको बेला लिङ्गे पिङ पाउनै मुस्किल हुन्छ,’ स्थानीय शेरबहादुर गुरुङ भन्छन्, ‘मनोरञ्जनका साधन खासै नहुने त्यो जमानामा पिङ खेल्नलाई दसैँ नै कुर्नुपथ्र्यो ।’
पिङमा छुट्ने भाकामा के तरुना के बूढाबुढी सबका सब लागेका हुन्थे । संगीतमय वातावरणमा ठिटाठिटी नियाल्दै बूढापाकाहरू आफ्नो बैंस स्मरण गरिरहेका हुन्थे । ख्याल ठट्टामा पनि उनीहरू तन्नेरीहरूभन्दा कम हुँदैनथे । यसरी उनीहरू संस्कृति हस्तान्तरण गरिरहेका हुन्थे । त्यही मौकामा नाचगान पनि हुन्थ्यो । यस्तो रङ्गरमाइलोले कतिको घरबारको मलोमेसो मिलाइदिन्थ्यो । दसैँ आउनु महिनादिन अघि गाउँघरलाई धपेडीमा धकेलिदिन्थ्यो । त्यो धपेडीमा आमा, दिदीहरू फूल थुङ्गाजस्तै चङ्गा हुँदै राँगा, खसी, बोका र कुखुराहरूलाई आहारा बढाउन थाल्थे । चुन्ठो भरीभरी घिउ जम्मा गर्न थाल्थे । परदेश गएका तिनका छोरा, दाजुभाइ, सोल्टी अझ भनौं लाहुरेहरू फर्कने मुख्य अवसर भएकाले वर्षभरिको सबभन्दा मीठो तीनपानेको फुर्तिलो तयारी दसैँमै हुन्थ्यो । कुनै लाहुरे घर नआउने चिठी आइपुग्दा गाउँमा धेरै मन खिन्न हुन्थे । ‘इमेल–इन्टरनेट लगायतको प्रविधिले संसार सानो भइसक्यो, अहिले चिठीको महŒव कसलाई हुनु ? दसैँमा आउने नआउने खबर एक निमेषमै हुन्छ,’ कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘पहिले महिनादिन अघि दसैँको चटारो हुन्थ्यो । अचेल एक दिन हैन एक छिन मनाइन्छ दसैँ ।’
उहिले दसैँअघि गाउँका गौंडागौंडा मर्मत गरिसक्ने हतारो हुन्थ्यो । यही मौकामा वारिपारिका युवायुवती माटो खानीहरूमा भेट गर्थे । बर्खाको छड्के पानीले कुरूप बनाएको घरमा रातो र कमेरो माटो लिपपोत गरिन्थ्यो । घरले जुनी फेथ्र्यो । रातो र कमेरो माटोबाट घरहरूले रुपरङ्ग फेर्न लाग्दा बालबालिकाहरु सपनामा नयाँ लुगा लगाएको देख्थे । जसले दसैँ झन् नजिक आएको जनाउ दिन्थ्यो । समयले अहिले कोल्टे फेरेको छ । अहिले पोखरामा न सार्वजनिक जग्गा भेटिन्छन्, न जहाँ पायो त्यहीँ लिङ्गे पिङ । पिङ कतैकतै शिलाजस्तै पाइन्छ । दसैँबारे खासै मतलब गर्दैनन् धेरैले । पिङ खोज्दै हिँड्नु त ढाटाको कुरा भइसक्यो । अझ गजबको कुरा, देशका विभिन्न ठाउँमा कम्तिमा पाँच दिनसम्म दसैँ मनाउने गरे पनि पोखरामा त्यो चलन हट्दै गएको संकेत मिल्छ । सहर बजारको व्यस्तता । आधुनिकीकरणले खर्लप्पै पारेको समाजले अचेल दसैँ मनाउन केवल एक दिनको हतारोमा हुन्छन् । ‘सहर बजारमा सधैँ रमझम, सधैँ दसैँ,’ संस्कृतिकर्मी डा. कुुसुमाकार न्यौपाने भन्छन्, ‘पाँच दिनसम्म दसैँ मनाउने परम्परा छोटिँदैछ । सबै जना व्यस्त हुने यो जमानामा केवल दशमीका दिन कानमा जमरा सिउरिने हतार हुन्छ ।’
पहिले अहिलेझैँ रेडिमेड कपडाको चलन आइसकेको थिएन । त्यसैले गाउँघरमा थान कपडाहरू पाइन्थे । दसैँ आउनु एक दुई महिनाअघि नै पसलमा थानको कपडा किन्नेको लर्को हुन्थ्यो । सूचीकारलाई हजारौँ बिष्टका कपडा दसैँमै सिलाइदिका कपडा बनाइदिनुपर्ने हतारो दुई÷चार महिना अघिदेखि आइलाग्थ्यो । एक किसिमले दसैँ भेटघाटको चाड पनि थियो । नचिताएका इष्टमित्रसँग भेटघाट हुन्थ्यो । यही मौकामा पेटभरि कुरा गरिन्थ्यो । समयको लामो अन्तरालपछि भेट भएका इष्टमित्र र साथीभाइसँगको कुराकानी तुरिनै गाह्रो हुन्थ्यो । यस्तो रोमाञ्चक सांस्कृतिक प्रक्रिया दसैँ अहिले विघटनको बाटोतिर उन्मुख छ । अघिल्लो पुस्ता क्रमशः पातलिँदै र एक्लिँदैछ । गाउँ–गाउँ पुगेका सडक, घर–घरमा पसेका टीभी र हात–हातमा आएका फोनले व्यक्तिगत–सामूहिक हार्दिकता, खुसी र रोमान्सको केन्द्रहरू अन्तै सारेका छन् । समयले भाका फेरेको छ । ‘आजकाल धेरैले दसैँ पर्खंदैनन्, हुने खानेलाई जतिबेला पनि दसैँजस्तै हुन्छ । हुँदा खानेलाई केही न केही,’ संस्कृतिकर्मी मेनकाजी गुरुङ भन्छन्, ‘रहरको दसैँ अब बाध्यताको चाड बनेको छ । परम्परा धान्न एक दिन जमरा लगायो दसैँ सकियो ।’
दसैँमा मामाघर जाने भन्दै खुसी हुने बालबालिका पनि घट्दैछन् । उनीहरुलाई टिभी र इन्टरनेट भए हुन्छ । चौतारामा धित मरुञ्जेल पिङ खेल्ने र नाच्ने–गाउने जमाना हराइसक्यो । अहिले दसैँ मनाउन कुनै हतारो हुँदैन । २०/२५ वर्षअघिसम्म पहाडमा टेलिभिजन, इन्टरनेट त के, सडक यातायातको समेत कल्पना थिएन । धेरैका लागि दङ पार्ने बाहिरी कुरा एउटै थियो, वर्षमा एक पटक आउने दसैँ । गामबेसीको मेला–बजार र यस्तै चाडबाड धेरैका लागि खुसी र उमङ्गका स्रोत थिए । तीमध्ये दसैँले सर्वाधिक महŒव राख्थ्यो । नयाँ लुगा, मीठो खाना लिएर आउने दसैँसँग अरू अनेक रुमानी अवसरहरू जोडिएर आउँथे । पातीमा ढेको बैंशले दसैँ नजिकिएको सूचना दिन्थ्यो । टीकाको दिन ती पातीहरू टीका–जमरासँगै धेरेको शिरमा आइपुग्थे । अहिलेको चकमधमकपूर्ण आधुनिक समयका बेला पुरानो दसैँ सम्झँदा धेरैलाई सपना जस्तो लाग्छ । ‘पहिलेजस्तो रमाइलो दसैँ हुँदैन हिजोआज, केवल परम्परा धान्न मनाएजस्तै देखिन्छ,’ समाजशास्त्री शान्ति भुसाल भन्छिन्, ‘अहिले सबै जनालाई दसैँ मान्नुभन्दा कामको हतारो छ ।’
Leave A Comment