पोखरामा सानो परी र सानो बाबु

शनिबार, २५ कार्तिक २०७४, ०२ : १७ शुक्रवार
पोखरामा सानो परी र सानो बाबु

सानो परी एन्ड सानो बाबु पोखरा–२०१७ को उपाधि हिल प्वाइन्ट उच्च माविमा अध्ययनरत १० वर्षीया रिसीका बसेल र गण्डकी बोर्डिङ  स्कुलका ११ वर्षीय समन गुरुङले हात पारेका छन् । उनीहरूले ट्रफी, क्राउन, मेडल, गिफ्ट ह्याम्पर र बीस–बीस हजार रुपैयाँ पुरस्कार पाए । शनिबार भएको फाइनलमा पोखराका २८ विद्यालयका ६८ जना नानीबाबुहरुबीच पोखरा सभागृहमा अन्तिम प्रतिस्पर्धा भएको थियो । जीत हाम्रो फाउन्डेसनको आयोजना र एसटी क्रिएसनको सहकार्यमा कार्यक्रम भएको हो । प्रतियोगितामा सानो परीकी फस्ट रनरअप गण्डकी बोर्डिङ स्कुलकी स्नेहा तिमिल्सिना, सेकेन्ड रनरअप मदरल्यान्ड उच्च माविकी सिसम भण्डारी भइन् । सानो बाबुतर्फ फस्ट रनरअप बेसलाइन एकेडेमीका ईशान गौतम, सेकेन्ड रनरअप मदरल्यान्ड उच्च माविका निश्चल बास्तोला भए । उनीहरूले पनि ट्रफी, मेडल, क्राउन र आकर्षक पुरस्कार पाए ।

प्रतियोगितामा स्वागत नृत्य राउन्ड, परिचय राउन्ड, प्रश्नउत्तर राउण्ड र अन्तिम प्रश्नको उत्तर लेखेर वाचन गरिसकेपछि अन्तिम निर्णय आएको थियो । प्रतियोगिताको कोरियोग्राफर मिस गण्डकी सिजन ३ की विजेता ज्योति राई, मिस गण्डकी सिजन ३ की थर्ड रनरअप सपना अधिकारी, ईनिशा दुरामगर, रोजिना अधिकारी, सुशिल क्षेत्री थिए । सन् २००५ देखि सुरु गरिएको ट्यालेन्ट सो प्रतियोगितामार्फत साना बाबु नानीको प्रतिभालाई उजागर गर्न टेवा पुगेको र अभिभावक तथा विभिन्न स्कुलहरुले निरन्तर सहयोग प्राप्त भइरहेको कार्यक्रम संयोजक एवं कोरियोग्राफर सुरज थापाले बताए ।

Leave A Comment