सुन्दरी प्रतियोगिताको लहर

शुक्रबार, ०७ पुष २०७४, ११ : १२ मनोज घर्तीमगर
सुन्दरी प्रतियोगिताको लहर

मिस लेखनाथ क्विन सकिएको साता मात्रै बित्यो । मिस गण्डकी सिजन ४ सकिएको भर्खरै हो । मिस चबी अनि मिस पोखरा भएको धेरै भएको छैन । मिस कल्चरको चर्चा पनि सेलाएको छैन । पोखरामा मिस नाम जोडिएर लगालग अनेक सुन्दरी प्रतियोगिता भइरहेका छन् । बढ्दो चिसो मौसमसँगै यहाँ सुन्दरी प्रतियोगिताको तातो चढ्दो छ । मिस्टर हेम्जा र मिस हेम्जाको तयारी भइरहेको छ । दोस्रो संस्करणको मिस डिभा पोखराका लागि २२ जना युवती दोस्रो अडिसनबाट भर्खर छानिएका छन् । पोखरामा सुन्दरी छान्ने सिजन सुरु भएको छ । अनेकन नाम जोडेर सुन्दरी प्रतियोगिता गर्ने लहरै चलेको छ ।

कात्तिकमा भएको मिस पोखरा प्रतियोगिताले सुन्दरी छान्ने ढोका खोलेपछि त्यसयता लगालग मिस नामधारी प्रतियोगिता निरन्तर भइरहेका छन् । मिस टिन, मिस नेवा, मिस डिभा, मिस सुनार, मिस टिन गण्डकी, मिस चबी, मिस्टर एण्ड मिस कास्की, मिस भ्याली, मिस तामाङ, मिस्टर एण्ड मिस फिटनेस, मिस्टर एण्ड मिस कलेज भर्खरै सकिएका प्रतियोगिता हुन् । ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीको आयोजनामा ‘मिस डिभा’ पुस २२ मा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने इभेन्ट मेनेजर सागर आचार्य बताउँछन् । ‘अन्तिम प्रतिस्पर्धामा भिड्न २२ जना युवती क्याटवाक लगायतका विभिन्न तालिम सिकिरहेका छन्,’ सागर भन्छन्, ‘सुन्दरता युवतीको बाहिरी आवरण मात्र नभई उसको व्यक्तित्व, क्षमता र ट्यालेन्ट पनि हो ।’

सुन्दरी प्रतियोगिताको सुरुआत मिस नेपालबाट भए पनि यो अहिले समुदाय स्तरमा पुगेको छ । मिस नेपाल, मिस ग्लोबल, मिस टिन, मिस कल्चरलगायतका नामबाट हुने सुन्दरी प्रतियोगिता अहिले लगभग हुन छाडिसकेको छ । यसको ठाउँ लिएका छन् जातीय सुन्दरी प्रतियोगिताले । अहिले मिस मंगोल, मिस आर्यन, मिस नेवा, मिस बलामी, मिस तमु, मिस तामाङ, मिस राई, मिस लिम्बू, मिस धिमाल, मिस शेर्पा लगायततका थुप्रै समुदायमा अहिले सुन्दरी छान्ने होडबाजी चलेको छ । आफ्ना छोरी चेलीको शिरमा क्राउन पहिरिएको हेर्ने रहर मेटाउन जातीय आधारमा सुन्दरी प्रतियोगिता हुन थालेका छन् । सुन्दरी प्रतियोगिता केन्द्र, क्षेत्र हुदै जिल्ला तहमा पुगेको छ । त्यसैले त होला भर्खरै मिस सुनार सकिएपछि पालो आउँदैछ ‘मिस तामाङ्ग पोखरा’ को ।

२८५४ औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाजले ल्होसार म्युजिकल फेस्टिभल तथा तेस्रो मिस तामाङ पोखरा गर्दैछ । माघ ४ गते पोखरा सभागृहमा हुने मिस तामाङ प्रतियोगिताका सहभागी यतिबेला आफूलाई निखार्दैछन् । आफ्नो कला, संस्कृति, रहनसहन, लवाइखवाइ, भेषभूषालगायतका थुप्रै कुरा जान्न पाएकाले यसलाई निरन्तरा दिन लागेको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । समुदायमा रहेका युवतीको प्रतिभा प्रस्फुटन तथा तामाङ भेषभूषा, भाषा, संस्कार र संस्कृतिप्रति आकर्षण बढाउन तथा जातीय संस्कार संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले मिस तामाङ पोखरा आयोजना गरिएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताइन् । ‘प्रतियोगीलाई डेढ महिना लामो तामाङ भाषा संस्कार र संस्कृति तथा व्यक्तित्व विकाससम्बन्धी तालिमपछि फाइनलमा उतारिनेछ,’ उनले भनिन्, ‘यसका साथै युवतीको व्यक्तित्व विकास, क्षमता विकास र आफूलाई तिखार्ने मञ्च पाउँछन् ।’

युवतीहरुको सुन्दरता र प्रतिभाको मापनका लागि कार्यक्रम गर्ने लहर नै चलेको छ । यी दुई प्रतियोगिता लगत्तै ड्रिम्स फेशन हाउसको आयोजनामा ‘मिस एञ्जल्स पोखरा’ हुँदैछ । माघ २० गते फाइनल हुने भनिएको प्रतियोगिताको विजेताले ५० हजार पुुरस्कार पाउनेछ । इभेन्ट संयोजक सपना तिवारीका अनुसार १४–२८ वर्षका युवती प्रतियोगितामा सहभागी हुन सक्नेछन् भने उनीहरुले फारम भर्नेबित्तिकै १० हजार बुझाउनुपर्नेछ शुल्क बुझाउनुपर्नेछ । प्रतियोगिताका लागि पहिलो चरणमा ११ युवती छनोट भइसकेका छन् ।

शिरमा क्राउन पहिरिएको हेर्ने रहर पालेका अभिभावकले निर्धक्क ती प्रतियोगिता आफ्ना छोरी चेलीलाई सहभागी हुन पठाउँछन् । विभिन्न प्रतियोगितामा अब्बल बन्न यतिबेला पोखरामा थुपै्र युवती तालिम गरिरहेका छन् । पोखरामा हुने विभिन्न सुन्दरी प्रतियोगिताले विजयी हुने युवतीलाई मोडलिङ  र फिल्मको रंगिन दुनियाँमा छिर्ने गतिलो अवसर बन्ने भएकाले पनि धेरैको रोजाइ यता परेको हो । ‘यस्ता प्रतियोगिताले नयाँ अवसरको ढोका खोल्न सहयोग गर्छ’ दोस्रो मिस मगरकी विजेता रञ्जना थापामगर भन्छिन् ।

यी त भए अविवाहित युवतीका लागि । पोखरामा विवाहित महिलालाई तार्गेट गरेर पनि सुन्दरी प्रतियोगिता भइरहेका छन् । यहाँ मिसेस गण्डकी, मिसेस तीज, मिसेस गण्डकी नेपाल, मिसेस फिटनेस, मिसेस गुरुङलगायतका विवाहित महिलाका लागि पनि प्रतियोगिता हुने गरेका छन् । यतिबेला गोस्पेल मल्टिमिडिया प्रालिको आयोजनामा हुने मिसेस गण्डकी नेपाल सिजन–२ को फारम वितरण भइरहेको छ भने नाल्मा तमु समाज काठमाडौं र नाल्मा सेवा समिति पोखराको आयोजनामा मिसेस गुरुङ नेपाल–२०७४ आयोजना हुँदैछ, यसको पनि अहिले फारम वितरण भइरहेको छ । मिसेस गुरुङ नेपाल विजेताले स्कुटर पुरस्कार पाउने आयोजकले बताएका छन् । ‘युवतीका लागि तार्गेट गरेर पोखरामा हुने सुन्दरी प्रतियोगिताको गन्ती छैन कति हुन्छन् कति’ कोरियोग्राफर सुरज थापा भन्छन्, ‘अब विवाहिता महिलालाई लक्षित गरेर पनि धेरै सुन्दरी प्रतियोगिता हुन लागेका छन् । महिला घरमा मात्रै सिमित होइन हरेक क्षेत्रमा सहभागी हुनुपर्छ भनेर यस्ता कार्यक्रम हुने गरेका छन् ।’

Leave A Comment