पोखरामा थरिथरिका मेला/महोत्सव भइहेका हुन्छन् । ती महोत्सवमध्येमा कहिले जंगल महोत्सव, कहिले आलु महोत्सव, कहिले माछा महोत्सव चलाइन्छ त कहिले गितार महोत्सव । सांस्कृतिक महोत्सव त हुने नै भए । कहिले लाटोकोसेरो महोत्सव, कहिले सुन्तला महोत्सव । अचम्म छ पोखरामा, परम्परागत रूपमा चल्ने मेला महोत्सव हराउँदै गएका बेला बजारमा गरिने मेला/महोत्सव भने बढेका छन् । सरदरमा हेर्ने हो भने हप्तैपिच्छे मेला÷महोत्सव लागेका लाग्यै छन् । मेला÷महोत्सवमा दर्शकको सहभागिता पनि बाक्लै हुन्छ ।
पोखरा अनि यस आसपासमा लाग्ने मेला/महोत्सवको सिजन सुरु भएको छ । प्राचीन कालदेखि चल्दै आएका धार्मिक मेला÷महोत्सव हुन् वा व्यापार व्यवसाय गर्न लगाइने मेला । क्लब अनि विभिन्न आमा समूहले लगाउने मेलाको त गन्ती नै छैन । मेला पर्वमा हुने नाचगान, मनोरञ्जनात्मक गतिविधिले सांस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने मात्र होइन मानिसलाई भेटघाट गर्ने बहाना बनेका छन् ।
सिटी रेवानले गरेको छैटाैं ‘फुड फेस्टिबल’बाट यो सिजनको मेला÷महोत्सवको बाटो खुल्यो । त्यो मेला सकिन नपाउँदै भदौरे तामाङी महोत्सव चल्यो । लगत्तै रेवान पोखराको आयोजनामा पुस १३–१७ गतेसम्म लेकसाइडकको तीन किलो मिटर सडकमा १९ औं सडक महोत्सव चल्यो । सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऊँ भन्ने नारासहित भएको मेलामा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो सहभागिता रह्यो । पोखरामा यति धेरै मेला÷महोत्सव हुन्छन् कि मितिसमेत जुध्न थालेका छन् । रेवानको मेला नसकिँदै पोखरामा दुईवटा ठूला मेला एउटै मितिमा हुँदैछन् ।
पोखरा उद्योग वाणिज्य संघले पुस २७ गतेदेखि माघ ८ गतेसम्म पोखराको मध्यभाग नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा औद्योगिक व्यापार मेला आयोजना गर्दैछ । यसपटक व्यापार मेलासँगै दोस्रो मोबाइल मेलासमेत सँगै हुने भएको छ । मेलाको आकर्षणको रूपमा औद्योगिक तथा व्यापारिक मेला, हस्तकला कृषि, पुष्प, अटो मेला रहनेछन् । मेलामा करिब २ सय ८० वटा स्टल रहनेछन् । ठीक यही मितिमा पुस २७ देखि माघ ८ सम्म पोखराको अमरसिंह चौरमा आठौं संस्करणको पोखरा महोत्सव हुँदैछ । युनाइटेड क्लबको आयोजनामा मेला हुँदैछ । “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका क्लबले मेला गर्दैछ । क्लबले महोत्सवबाट बचेको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माणसँगै सेती नदी संरक्षण र सौर्यबत्ती जडान गर्दै आइरहेको छ । महोत्सवमा २ सयदेखि २ सय २० स्टल रहनेछन् । महोत्सवको मिति जुधेपछि वाणिज्य संघ र युनाइटेड क्लबबीच मनमुटावसमेत भएको छ । ‘पोखरा त्यति सानो छैन, जसले दुईवटा महोत्सव धान्न नसकोस्’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे भन्छन्, ‘हामीले मंसिरमा महोत्सव गथ्र्यौँ । चुनावले गर्दा सरेको हो । सबैभन्दा उपुयुक्त समय ठानेर मिति तोकेका हौँ ।’
११ दिनसम्म सञ्चालन हुने पोखरा महोत्सवले देशको कला, संस्कृति, भेषभूषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकासबाट देशलाई समृद्धितर्फ अग्रसरता प्रदान गर्न, विकसित सूचना प्रविधिकोे जानकारी सर्वसाधारणसमक्ष पु¥याउने, पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र यस क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण, स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारको प्रतिभा प्रस्फुटन गराउने उद्देश्य लिइएको मूल आयोजक समितिका संयोजक तथा क्लबका उपाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । ‘वाणिज्य संघले चाहेकै मेलाको मिति जुधाउनु हो । नत्र हामीले आठ वर्षसम्म एउटै मितिमा गर्दै आएको महोत्सवबारे उसलाई थाहा थियो नि’ राजु भन्छन्, ‘मिति थाहा हुँदाहुँदै त्यही मितिमा मेला गर्नु नियत खराब हो ।’
थुप्रै मेला सकिएका छन् भने अझै मेला लाग्ने तयारी उत्तिकै छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २२ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकाना तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुँदैछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ आयोजना गरिन लागिएको महोत्सवमा कृषि, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायत ३५० वटा कक्ष रहने संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने यो महोत्सवको उद्देश्य औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण रहेको छ । लगत्तै पश्चिमाञ्चल होटल संघले फेवातालको छेउ वसुन्धारा पार्कमा ‘फेवा नव वर्ष महोत्सव’ चलाउँदैछ । पोखरा आसपासमा विभिन्न क्बलले गर्ने मेला÷महोत्सवको त गन्ती नै छैन । त्योभन्दा बेसी टोलमा लगाइने मेला र हप्तामा एकपटक लगाइने व्यापारिक मेला त कति हो कति । ‘आधा मेला सकिसकेका छन्, अझै थुप्रै मेला लाग्न बाँकी छन्’ प्रायः मेलामा सांस्कृतिक कार्यक्रमको जिम्मा लिने संस्था लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल समिति गण्डकीका अध्यक्ष शंकर विरही गुरु भन्छन्, ‘सायद सबैभन्दा धेरै मेला लाग्ने ठाउँ नै पोखरा होला ।’
सिक्लेस, सार्दिखोला, स्याक्लुङकोट, ताङतिङ, याङ्जाकोट, ल्वाङ घलेल, भदौरे, पञ्चासे, तालवेसी, कृषि मेला, भगवति मेला, ढुंगेसाँघु लगायतका मेला जोड्ने हो भने यहाँ हप्तैपिच्छे मेला चल्छन् । यहाँ अनेकन नारा दिएर मेला भर्न आव्हान गर्दै ठूलाठूला माइक जडित गाडी पोखरा र आसपासका क्षेत्रमा विज्ञापन गर्दै हुइँकिन्छन्, दिनैपिच्छे । नाम चलेका अभिनेता, गायक, हाँस्य कलाकार आदि आउने र मनोरञ्जनात्मक कार्यक्रम हुने विज्ञापन गर्दै दर्शक लोभ्याइन्छ । त्यही लोभमा परेर मेला र महोत्सव भर्न जानेहरु उत्तिकै भेटिन्छन् । तर, प्राय सबै मेला उस्तै प्रकारका हुन्छन् । ‘मेला महोत्समा गरिने साँस्कृतिक कार्यक्रम गायन लगायतमा पनि कुनै नयाँपन छैन’ प्राय मेला नछुटाउने मनकुमारी गुरुङ भन्छिन्,‘जहाँ गए पनि तिनै कलाकार हुन्छन् । कहिलेकाँही पूर्वका कलाकार ल्याउँने कहिले पश्चिमका ल्याएर फरक मनोरञ्जन दिँदा राम्रो हुन्थ्यो ।’
प्राचिनकालदेखि चल्दै आएका धार्मिक मेला हुन् वा व्यापार व्यवसाय गर्न लगाईने मेला । अनेकन नाम जुराएर पोखरामा मेला÷महोत्सव गरिन्छन् । तर, ती मेला दर्शकका लागि खासै नयाँ लाग्दैनन् । यहाँ चल्ने हरेक मेला उस्तै प्रकृतिका हुन्छन् । मेलामा नयाँपन भन्ने केही पाइदैन । भारतीय नागरिकले चलाएको जादु, कर्कस ध्वनि निकाल्ने फलामे पिङ । बालबालिकाका भुलाउने विभिन्न खेल । हरेक मेलामा दिउँसो लोकदोहारी गीत । साँझ परेपछि पप गीतको गाडाङगुडुङ । हरेक मेलाका गीत गाउने तिनै कलाकार । गीत उनै दोहोरिन्छन् । ‘मेला भनेपछि केही न केही नयाँ हुनुपर्छ । स्थानीय सामाग्री, नयाँनयाँ उत्पादन केही पनि भेटिदैनन्’, गोविन्द अधिकारी भर्खरै सकिएको सिटी रेवानको मेला हरेरपछिको अनुभव सुनाउँदै भन्छन् ।
Leave A Comment