हङकङ टेक्न चाहने नेपाली कलाकारहरु कति छन् कति ! हङकङ जान भने सजिलो छैन कलाकारलाई । जो पहिलो पटक हङकङ टेक्यो, उसले संसार देख्यो– यस्तै भएको छ, नेपाली कलाकारलाई । नेपाली मनोरञ्जन क्षेत्रमा चम्किएका धेरै हस्तीले हङकङबाटै विदेश यात्रा सुरु गरेका छन् । जसले उनीहरुको पहिलो यात्रा फलिफाप बनाएको छ । हङकङ रमाइलो भएर मात्रै कलाकारको रोजाइ परेको होइन । यहाँको ‘भिसा’ लागेपछि अन्य देशमा जान सजिलो हुने भएकाले पनि धेरैले हङकङ पुग्ने धोको राख्छन् । कलाकारले पाउने विदेश भ्रमणले उसको लोकप्रियता बढी ठान्ने मानसिकताले पनि धेरैले हङकङ ताक्छन् । नेपाली सांगीतिक क्षेत्रमा पहिलो विदेश यात्रा हङकङबाट थाल्नेहरुको लिस्ट खोज्ने हो भने डेढ सय बढी हुन्छ ।
दर्शकको बाक्लो सहभागिता, गोजी पनि गरम हुने । फ्यानहरुले दिने महँगा उपहारले गर्दा पनि कलाकारहरु हङकङ यात्राका निम्ति मरिहत्ते गर्छन् । पैसाका लागि मात्र नभएर फ्यान बढाउन पनि हङकङ जान खोज्ने कलाकार थुप्रै छन् । विदेशमा सबैभन्दा धेरै सांगीतिक कार्यक्रम हुने ठाउँ भएर होला, नेपाली कलाकारले एकपटक जसरी पनि हङकङ टेक्ने सपना सजाउँछन् । यहाँको भिसा लागेपछि अन्य देशको भिसा पनि सजिलै लाग्ने भएकाले कलाकारको विदेशिने भरपर्दो गेटका रुपमा हङकङ बन्न पुगेको छ । लोकदोहोरी गायक शंकर विरही गुरुङ त्यस्तै भाग्यमानीमध्येका एक कलाकार हुन् । हङकङ जाने कल्पना गरिरहने उनलाई कार्यक्रमको अप्रत्यासित अफर आयो । हङकङको स्टेज तताएपछि उनको चर्चा चुलियो । हङकङबाट विदेश यात्रा सुरु भएपछि उनलाई अन्य देशबाट पनि अफर आए । ‘हङकङमा प्रस्तुति दिने कलाकारको चर्चा एक्कासि बढ्छ,’ लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल समिति गण्डकीका अध्यक्षसमेत रहेका गायक शंकर विरही गुरुङ भन्छन्, ‘नेपालमा जति ट्यालेन्ट कलाकार भए पनि खासै चर्चा हुँदैन, एक पटक हङकङ गएपछि हिट भइहाल्छ ।’
नेपाली मनोरञ्जन क्षेत्रमा चम्किएका धेरै हस्तीले हङकङबाटै विदेश यात्रा सुरु गरेका छन् । हङकङबाटै विदेश यात्राको ढोका खोलेका राजमी खाँड थुप्रै पटक हङकङको स्टेजमा गाइसकेका छन् । ‘असाध्यै माया गर्ने र पारिश्रामिक पनि धेरै दिने भएकाले धेरैजसो कलाकार हङकङ ताक्छन्,’ राजमी भन्छन्, ‘अर्को कुरा अन्य देशमा जान पनि हङकङमा प्रस्तुति दिएको भनेपछि प्राथमिकतमा राख्छन् ।’ चर्चित सालैजो गायक राजु गुरुङको विदेश छिर्ने पहिलो गेटको रुपमा हङकङ नै भइदियो । सन् २०११ मा आयोजित भिसी साँझमा पहिलो पटक हङकङको स्टेज उक्लिएका उनलाई त्यसपछि विदेश यात्रा फलिफाप नै भयो । त्यसयता उनी युके, जापान, जर्मनी लगायतका थुप्रै देश पुगिसकेका छन् । ‘हङकङबाटै विदेश यात्राको ढोका खुलेर होला म अहिलेसम्म दर्जनौं देश पुगेँ । कलाकारलाई दोहोर्याइतेहेर्याई बोलाउने ठाउँ पनि हङकङ हो,’ सालैजो गाउन माहिर राजु भन्छन्, ‘कलाकारलाई राम्रो पारिश्रामिक, घुमफिर गर्न रमाइलो हुने र धेरै सम्मान गर्नाले त्यहाँ जान धेरैजसो मरिहत्ते गर्छन् ।’
हङकङमा हुने धेरैजसो कार्यक्रमको मेनुमा गायन, हास्य र नृत्य तीन वटै विधाका कलाकार छुट्दैनन् । हङकङका स्टेजमा लोकदोहोरी अनिवार्य हुन्छ । एउटा कलाकारले न्यूनतम ३० हजारदेखि दुई लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउ“छन् । आउ–जाउ हवाई टिकट, खाने, बस्ने खर्च आयोजकले नै बेहोर्छन् । तर, हङकङ जान सजिलो छैन । पहिलोपटक हङकङ टेक्न खोज्नेहरुले खुब सास्ती भोग्नुपर्छ । हङकङ जान सकिने हर सम्भावित बाटाहरु खोज्नुपर्छ । यसका लागि कैयौंलाई हारगुहार गर्नुपर्छ । यति गर्दा पनि खुराफात गर्नेहरुले मुखैमा आएको अवसर खोसिदिन्छन् । कठिन संघर्षले मात्रै सपनाको सहर हङकङ टेक्ने अवसर जुट्छ कलाकारलाई । ‘हङकङ जान बाहिर सोचेजस्तो सजिलो छैन, बडो संघर्ष गर्नुपर्छ,’ गायक मनसुधन थापामगर भन्छन् ।
यहाँ जान कला र गलाले मात्रै होइन, हङकङमा बस्ने चल्तापुर्जा व्यक्ति अनि भाग्यले पनि साथ दिनुपर्छ । पूर्वेली गायक भीम लिम्बुले हङकङ टेक्ने थुप्रै प्रयास गरे । झन्डै चार वर्षपछि भीमको प्रयास सफल भयो । सन् २०१४ मा पहिलो पटक भीमले हङकङको स्टेज तताए । त्यसयता उनी थुप्रै देशमा सांगीतिक कार्यक्रममा पुगिसकेका छन् । ‘मेरो संगीत करिअरमा हङकङ नै पहिलो विदेश यात्रा हो,’ भीम भन्छन्, ‘हङकङबाट विदेश यात्राको ढोका खुलेपछि अन्य विभिन्न मुलुकको भिसा सजिलै लाग्दोरहेछ । यहाँको स्टेज चढेपछि कलाकार पनि सबैको आँखामा पर्दोरहेछ ।’ पहिले कलाकारलाई लाहुरेले हङकङ बोलाउँथे । अहिले तिनै लाहुरेका सन्तति लगायत आइडी होल्डरले कलाकार बोलाउँछन् । अन्य देशमा नेपाली केवल कामदार भएर जान्छन् तर यहाँ कामदार मात्रै होइन, व्यवसायी र स्थानीय नागरिकसरह बसेका छन्, नेपालीहरु । उनीहरुको कमाई पनि राम्रै छ । हङकङका नेपाली धेरैजसो संगीतप्रेमी छन् । त्यसैले कलाकारलाई विभिन्न उपहार, नगद पनि दिन्छन् । हङकङका दर्शक निकै खर्चालु छन् । उनीहरुको मागअनुसार प्रस्तुति दिए कलाकारले थप टिप्स पाउँछन् । हङकङमा आदिवासी जनजातिको बाहुल्य छ । यस समुदायका मान्छे रंगरमाइलो भनेपछि हुरुक्कै हुन्छन् । यसले पनि कलाकारलाई फाइदा पुर्याएको छ । हङकङमा अहिले नेपालीका, जातीय, क्षेत्रीय, सामाजिक लगायत गरी करिब एक सय बढी संघसंस्था छन् । धेरैजसो सांस्कृतिक कार्यक्रमका आयोजक यिनै संस्था हुन् । ‘कलाकारले राम्रो पारिश्रामिक पाउने र अन्य देश जान बाटो खुल्ने भएकाले धेरै कलाकारको रोजाइ हङकङ परेको हो,’ हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ भन्छिन्, ‘नया“ कलाकार त हवाई टिकट र केही खर्च दिए पनि हङकङ छिर्छन् । उनीहरुलाई यहाँ दिने उपहारले पारिश्रामिकलाई कभर गरिहाल्छ ।’
नेपालबाट कलाकार निम्त्याएर यहाँ लगालग सांगीतिक कार्यक्रम भइरहन्छन् । वरिष्ठ संगीतकार अम्बर गुरुङदेखि गायक प्रेमध्वज प्रधानसम्म हङकङ पुगिसकेका छन् । पोखराबाटै उदाएको चर्चित ब्यान्ड ‘नेपथ्य’ ले हङकङमा कन्सर्ट दोहो¥यायो । रक ब्यान्ड ‘मुक्ति एन्ड रिभाइभल’, र्यापर ‘लाउरे’, ‘जी एक्स सोल’ ले पनि पहिलोपटक हङकङमै आ–आफ्नो प्रस्तुति दिएर विदेश यात्रा सुरु गरेका हुन् । ‘हङकङमा बस्ने नेपाली निकै व्यस्त छन्, त्यसैले रंगरमाइलो पनि गर्न खोज्छन्,’ आदिवासी जनजाति महासंघ हङकङकी उपाध्यक्ष कविता सिजापतिमगर भन्छिन्, ‘विभिन्न संघसंस्थाले सांगीतिक कार्यक्रम गरिरहने भएकाले हङकङ कलाकारलाई विदेश यात्राको ढोका खोलिदिने माध्यम बनेको छ । धेरैले पहिलो विदेश यात्रा हङकङबाटै थालेका छन् ।’
Leave A Comment