बागलुङबाट दशकअघि अवसरको खोजीमा पोखरा छिरेकी थिइन् शान्ति श्रीस । विभिन्न अवसर खोज्दै पढाइलाई निरन्तरता दिइन् । समाजशास्त्रमा स्नातकोत्तर गरेको सर्टिफिकेट च्यापेर खुब भौतारिइन् । तै पनि केही लागेन । उनलाई लाग्योे–अब काम खोज्ने होइन, अरूलाई दिने हो । त्यसका लागि उनले दुई वर्ष बुटिक सीप सिकिन् । अहिले उनी आफँै ग्लोरी फेसन होमको मालिक भएकी छिन् । ‘मैले आफूले त काम पाएको छु नै, अरूलाई पनि काम दिएकी छु’ शान्ति भन्छिन्, ‘मिहिनेत गर्ने हो भने नेपालमै गर्न सकिने काम धेरै छन् ।’
बेरोजगारीले तनावमा छन् युवा । धान्नै नसक्ने बेरोगारीको समस्या बढेको छ । कोही विदेश जाने चक्करमा छन् । कोही ‘डिप्रेस्ड’ छन् । धेरैको गुनासो छ–देशमा अवसरै छैन । शैक्षिक प्रमाणपत्र सिरानीमुनि घुसारेर उनीहरु रोइकराइ गरिरहेका छन् ।
देशमा कामको अवसर छँदै छैन त ? केही युवाको काम हेर्ने हो भने नेपालमा प्रशस्त अवसर देखिन्छ । खाँचो छ त जाँगर र सोचको ।
‘अवसर हाम्रै वरपर छ तर दुःख गर्न सक्नुपर्छ’ वेभपेज नामक आइटी कम्पनी खोलेका पोखरा रामबारका पितमबहादुर सेन भन्छन्, ‘मैले कम्पनी खोलेर आफै अवसर सिर्जना गरेकी हुँ।’ अहिले उनीसँग १० जनाले काम गर्छन् । आइटी कम्पनीबाट हौसिएका उनले भर्खरै अन्य पार्टनरसँग मिलेर स्तुपा टेक्नोलोजी प्रालि नामक अर्को कम्पनी सञ्चालनमा ल्याएका छन् ।
नेपालगञ्जबाट ९ वर्षअघि अवसरको खोजीमा पोखरा छिरेका थिए छवि मगर । सुरुमा टेलिभिजनमा क्यामेरापर्सन भएर काम गरे । त्यो छाडेर अर्को पेसामा संलग्न भए । उनलाई लाग्यो, नेपालमै हल्लनुभन्दा विदेश जानु बेस । हान्निए दुबई ।
त्यहाँ कामको खटाइ देखेपछि उनी आत्तिए, ६ महिना पनि टिकेनन् । दुबईले उनलाई सिकायो–यत्ति मिहिनेत गरे नेपालमै मालामाल हुन्छ । उनी नेपाल फर्किए । अहिले सहयोगी नेपाली मनहरु प्रालि खोलेर उनी अरूलाई रोजगारी दिनसक्ने भएका छन् ।
कम्पनीले पोखरामा ग्यारेज र काराबास सेन्टर चलाएको छ । कुनै समयका कामदार छवि अहिले आफ्नै कम्पनीको मालिक भएका छन् । ‘काम खोज्दाखोज्दा हैरान भएपछि आफ्ना लागि आफँैले काम जुटाएको छु’ छवि भन्छन्, ‘आफँैले केही गर्न खोजे काम जताततै छ । आम्दानी पनि राम्रो गर्न सकिन्छ ।’ ग्यारेज र काराबासको आम्दानीले हौसिएका छवि केही सयमभित्रै बेकरी सञ्चालन गर्ने योजनामा छन् ।
गर्ने हो भने नेपालमै सकिन्छ भन्ने उदाहरण हुन्, पोखरा घारिपाटनका आयुष श्रेष्ठ । उनले सर्वेश्वरमार्गको छेउ पोखरा गैह्रापाटमा स्टेसन द फुड क्लब एण्ड ससेज पार्क चलाइरहेका उनी व्यस्त छन् ।
‘मिहिनेत गरे नेपालमै राम्रो कमाइ छ’ ३१ वर्षीय आयुष भन्छन्, ‘तर आफैँ खट्नुपर्छ । आफूले नगरे हुँदैन ।’
उनको सङ्घर्ष् कथा सुन्दा धेरैले जिब्रो टोक्छन् । प्रहरीको जागिरे बाबुले अर्की बिहे गरेपछि उनका दुःखका दिन सुरु भए । फूपूसँगै बर्दियामा बस्ने उनी पारिवारिक कारण फूपूसँग टाढिए । त्यसपछि बर्दियाकै बिर्तासिह र सेतीमाया गुरुङले पाले । उनीहरुसँग भाँडाकुँडा माझेर एसएलसी पास गरे । त्यसपछि २०५६ मा पोखरा आए । काम गर्दै पढेका उनले जनप्रिय उमाविबाट प्लस टु सकाए । लाखौं नेपाली युवालेझैं उनले पनि नेपालमै गरिखाने उपाय नदेखेपछि कतार हानिए ।
त्यहाँ एक महिना टिकेनन् । फर्केको ६ महिनापछि दुबई गए । दुई महिनामै नेपाल फर्किए । त्यसपछि पोखराको रेडियो पोखरा एफएममा आरजे भए । अनि २०६४ मा जीविका चलाउन चिप्लेढुंगामा ससेज बेच्ने ठेला राखे ।
‘ठेलाले राम्रै व्यापार दियो । अनि एउटा सटरमा मम पसल खोले । व्यापार बढ्दै गयो । पाँचवटा सटर लिए’ आयुष भन्छन्, ‘अहिले ठूलो स्पेसमा व्यापार बढाएको छु ।’
जसै दिनहरु बित्दै गए, उनको जीवनशैली उसैगरी फेरिंँदै गयो । त्यही कमाइले घारिपाटनमा घर बनाए । कार पनि जोडे । घरजम गरेर बच्चा हुर्काइ सके । कुनै समय जागिर खोज्दै हिँड्ने उनको रेष्टुरेन्टमा अहिले ३० जनाले रोजगारी पाएका छन् ।
Leave A Comment