'नेताहरुको घर चहारेर रुँदै कराउँदै हिँड्नु छैन' ठाकुर गैरे

सोमबार, २१ जेठ २०७५, ०२ : ५८ प्रजु पन्त
'नेताहरुको घर चहारेर रुँदै कराउँदै हिँड्नु छैन' ठाकुर गैरे

विद्यार्थी आन्दोलनबाट चर्चामा आएका तत्कालीन एमाले नेता ठाकुर गैरे पार्टी भित्रको गुटको चेपुवामा पर्दा किरानामा पारिएका नेता भनेर चिनिन्छन् । २०६४ को संविधानसभा चुनावताका एमाले विद्यार्थी  संगठन अनेरास्ववियुको अध्यक्ष रहेका उनलाई त्यतिबेला नै पार्टीले समानुपातिक सूचीमा राखेको थियो तर सभासद भएनन् । २०७० मा टिकटै पाएनन् । २०७४ को प्रदेशसभा, प्रतिनिधिसभा तथा राष्ट्रियसभाको चुनावमा समेत उनको नाम अटाएन । आफूभन्दा कनिष्टहरू सांसद भइसक्दा पनि सरल र स्वच्छ छवि रहेका गैरेलाई पार्टीले किन मतदातामाझ परीक्षणमा उतार्दैन ? माओवादी केन्द्रसँगको एकीकरण पछिको प्रस्तावित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका उनै गैरेसँग विद्यार्थी राजनीति र पार्टीभित्रको गुटबन्दीबारे शुक्रवारकर्मी  प्रजु पन्तले गरेको कुराकानी ।

सुरुमै व्यक्तिगत  प्रसंग कोट्याएँ है ! २०६४ मा समानुपातिक उम्मेदवार रहनुभयो, २०७० मा उम्मेदवार बनाइएन, २०७४ मा सम्भावना हुँदाहुँदै पनि कुनै तहको उम्मेदवार बनाउन पार्टी तयार भएन । कारण के होला ?
यो कुरा त शीर्ष  नेतालाई नै सोध्नुपर्छ । म सधैँ मिडियाका साथीहरुलाई भन्ने गर्छु तपाईंहरुले सोध्ने प्रश्नमा एउटा प्रश्न थपिदिनुस्, किन ठाकुर गैरेलाई टिकट दिइएन ? त्यसो गरेपछि  मैले पनि कारण थाहा पाउँछु होला । मलाई पनि यसले फाइदा नै हुन्छ । 

नेतृत्वले पटक–पटक रिजेक्ट गर्नुको कारण त खोज्नुभएको होला नि ?
२०६४ मा मलाई नछान्दा केही फरक परेन किनभने त्यतिबेला म अखिलको अध्यक्ष  थिएँ । २०७० मा ठाकुर पर्छ भन्नेमा म भन्दा बढी आशा मेरा शुभेच्छुकहरुलाई थियो तर दिइएन । २०७४ मा मलाई पनि विश्वास थियो तर पाइएन । पार्टीमा चुनेर आउने कुरामा जितेकै छु । जनतामाझ जान  किन दिइएन त्यो पार्टीलाई नै थाहा होला । 

पार्टीमा मूल्यांकन त हुन्छ होला नि ?
पार्टीमा टिकट वितरण गर्दा कार्यकर्ताको सही मूल्याङ्कन गरिएको छैन । टिकट दिने मापदण्ड के हो ? छुट्ट्याइएको छैन । विधि केही छैन । मापदण्ड बनाएको भए त्यसैअनुसार लाग्नुहुन्थ्यो । नभएपछि केमा लाग्ने ? प्रणाली नै भएन भनौँ ।

कस्तो प्रणली भन्न खोज्नुभएको ?
पार्टीमा टिकट वितरण गर्दा नेतृत्वले यो मान्छे महाधिवेसन हुँदा कुन गुटमा थियो ? मलाई भोट हाल्यो कि हालेन भनेर टिकट वितरण गर्ने कि क्षमता भएकोलाई दिने हो । हो, महाधिवेशनमा आफूलाई जसलाई मनपर्छ उसैलाई भोट दिइन्छ तर महाधिवेसन सकिएपछि जित्ने मान्छेले सबैलाई समेट्न सक्नुपर्छ । नेतृत्वले संकुचित सोचाइ राखेर हुँदैन । नेतृत्वले मलाई टिकट दिएन भनेर विक्षिप्त म छैन । पदको त्यति धेरै लालायित मान्छे म होइन । 

पदका लागि लालायित छैन भन्नु अलि आदर्श भएन र ? कार्यान्वयन तहमा पुग्न त पद चाहिएला नि ? 
हो, म जनप्रतिनिधि भएर काम गर्न चाहन्थेँ । पञ्चायतको विरुद्ध, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध २०६२÷०६३ सालको आन्दोलनमा हामीले जनतामाझ जे प्रतिबद्धता राखेका थियौँ, त्यो पूरा गर्न चाहन्थेँ । मप्रति पनि जनताको ठूलो अपेक्षा थियो । मेरा पनि सपना थियो । सङ्कल्प थिए । त्यसप्रति ठूलो धोका भएको छ । यद्यपि आफू नभएर अरुले मुद्दाहरु समेट्नु भयो भने पनि, म नपुगे पनि सन्तुष्ट हुन्छु ।
धोका हुनुको प्रमुख कारण के हो जस्तो लाग्छ ? चर्चाझैँ तपाईंकै क्षेत्रका  नेताको चेपुवामा पर्नुभएको हो ?
त्यस्तो छैन । राष्ट्रिय सभामा मेरो नाममा स्थायी समितिमा छलफल गर्दै गर्दा सहमति जुट्न नसकेपछि घनश्याम भुषाल, योगेश भट्टराईले नोट अफ डिसेन्ट लेख्नुभएको थियो । त्यस्तो चेपुवामा नै परेको होइन । 
तपाईं पछिका दुई अखिल अध्यक्ष सांसद भइसक्दा आफैँमा केही कमजोरी रहेछ कि भन्ने लाग्दैन ?
त्यो त मलाई के थाहा हुन्छ र ! जहाँ जहाँ परीक्षण भएको छ सफलै भएको छु । परीक्षण हुने मौका नै नदिएपछि कमजोरी कसरी केलाउने ?

लोकप्रिय भए पनि ठाकुर पार्टीको प्रभावशाली नेताको कोटरीमा पर्न नसक्दा टिकटबाट वञ्चित हुने गरेका छन् भनिन्छ । अन्याय नै भएको हो त ?
पार्टीमा लागेकै अन्यायका विरुद्ध हो । न्याय गर्ने पार्टीमा लाग्नुपर्छ । त्यो कम्युनिस्टबाट मात्र सम्भव छ भनेर लागेको हो । यही पार्टीले नै आफ्ना कार्यकर्तालाई न्याय गर्न सकेन भने बाहिर के सन्देश जान्छ ? त्यसकारण जनताको विश्वास आर्जन गर्ने बाटो भनेकै पार्टी कति असल छ, नेता कार्यकर्तालाई कसरी लिन्छ भनेर हेरिने हो । अगामी दिनमा विगतका कमीकमजोरी हट्ला, पार्टीका मान्छेलाई न्याय गर्न सक्दैन भन्ने म्यासेज  बाहिर जसरी छ, त्यसलाई मिलाऊलान् भन्ने आशा छ । त्यसो गर्न सकिएन भने नेकपाको पनि भविष्य राम्रो हुँदैन । 

तपाईंकै भनाइबाट पार्टीभित्र व्यापक अन्याय रहेछ भन्ने देखियो । पार्टीभित्रै न्यायको प्रत्याभूति गराउन नसक्ने पार्टीले नागरिकलाई कसरी न्याय दिन्छ भनेर विश्वास गर्ने ?
हो, त्यही त भन्दै छु म । नेतृत्वले मनन् गरेर यस्ता प्रश्नको गम्भीर छलफल गर्नुपर्छ । अगामी दिनमा यस्ता समस्या निम्तनु हुँदैन । यसका लागि निश्चित विधि र प्रक्रिया बस्नैपर्छ ।

क्षमता भएकाले नियम बन्ला भनेर कुरेर बस्ने कि न्यायका लागि पार्टीभित्र पनि संघर्ष गर्ने हो ?
क्षमताको आधारमा होस् भनेर पार्टीभित्र पहल गर्नै पर्छ । 

आफूले आफैँलाई मूल्याङ्कन गर्नुहुन्छ होला नि, किन यस्तो भइरहेको छ भन्ने निष्कर्ष निकाल्नुभएको छैन ?
म नेताहरुको घर धाउँदिन । मैले नेतृत्वलाई किन ममाथि अन्याय भनेर सोध्न गएको पनि छैन । नेताहरुको घर चहारेर रुँदै कराउँदै हिँड्नु पनि छैन । म यति मितिसम्ममा यो हुन्छु, पद प्राप्त गर्छु भनेर डायरीमा हिसाब राखेर  त्यो पाउन राजनीति गरेको पनि होइन । राजनीतिमा लाग्नुको प्रमुख कारण समानताको लागि हो । 

राष्ट्रियसभामा नपर्नुको कारण तपाईंकै एरियाका नेता नमानेर भन्ने सत्य हो नि हैन ?
मलाई राष्ट्रियसभा सदस्य बनाइदिनु प¥यो भन्न गएको थिइनँ । स्थायी समितिमा मेरो नाममा छलफल भएछ । मलाई उम्मेदवार नबनाइएपछि नोट अफ डिसेन्ट लेखियो । जो अल्पमतामा हुनुहुन्छ, उहाँहरुले मलाई नपत्याउनुभएको  हो तर समाज र मिडियाका बहुसंख्यकले त मेरै सपोर्ट गर्नुभएको छ । 

जस्तो कार्ल माक्र्सले ‘केही शक्तिशाली मान्छेले बहुसंख्यकलाई शासन गर्छन्’ भनेझैँ भयो हैन त ?
हा...हा...हा त्यस्तै भयो । 

अब पाँच वर्ष अर्काे चुनाव हुन्न । यो बीचमा के गर्ने योजना छ त ?
नेकपाको केन्द्रीय सदस्य छु । पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु । सरकारले लिने नीति र कार्यक्रम कार्यान्वयनतर्फ लाग्छु । समाजवादतर्फ हाम्रो यात्रा भनेका छौँ, त्यो पूरा गर्न लाग्नुपर्छ ।

यही नीतिले समाजवाद आउँछ र ?
नीति परिर्वतन जरुरी छ । उत्पादनमा आधारित अर्थतन्त्रको आवश्यकता  देखेको छु । हाम्रो व्यापार घाटा धेरै छ । त्यो हुन दिन हुँदैन । वन, कृषि, पर्यटन, जलविद्युतबाट आत्मनिर्भर हुन जरुरी छ । 
 

Leave A Comment