‘अपहरणका आरोपीलाई जानाजान गोली हानेको हैन’

आइतबार, २७ साउन २०७५, ०३ : ४६ केपी ढुंगाना
‘अपहरणका आरोपीलाई जानाजान गोली हानेको हैन’

एसएसपी धीरज प्रताप सिंह
प्रमुख महानगरीय प्रहरी अपराध महाशाखा

बालक अपहरणको कारण के देखिन्छ ?
अहिलेसम्मको अनुसन्धानमा अपहरणको कारण आर्थिक नै देखिन्छ । मलेसियामा काम गर्ने बाबुले नेपालमा रहेकी आमालाई पैसा पठाइरहेको बारेमा अपहरणमा संलग्नहरुले जानकारी भएकाले बालकको आमासँग पैसा छ भनेर अपहरण गरेको देखिन्छ ।

बच्चाको हत्या कति बेला भएको खुल्यो ?
स्थानीयले बेलुका निर्माण भइरहेको घरमा अनावश्यक व्यक्तिहरुको चहलपहल भएको र लाइट बालेको सूचना दिएका थिए । यो सँगै अन्य आधारहरु पनि हेर्दा बेलुका ११ देखि १२ को बीचमा हत्या भएको देखिन्छ । 

शव फेला परेकै ठाउँमा हत्या भएको हो कि अन्त ?
घटनास्थलको अवस्था र बालकको हत्याको प्रकृति हेर्दा अन्यत्र मारेर पछि त्यहाँ ल्याएर गाडेको देखिएको छ । 

हत्या गर्नुपर्ने कारण खुल्यो ?
परिचितबाट हुने अपहरणका ७५ प्रतिशत घटनामा अपहरितको ज्यान जोखिममा हुन्छ । यस्तोमा फिरौती लिएपछि पनि हत्या हुन्छ । अपहरणकारी नयाँ हुँदा पनि अपहरितको ज्यान जोखिममा हुन्छ । यो घटनामा तत्काल पैसा आइहाल्छ कि भनेर अपहरण गरेको देखिन्छ । बालकको अपहरणपछि व्यवस्थापन गर्न नसक्दा हत्या गर्ने झैँ देखिएको छ । 

मुठभेडमा जो मारिए उनीहरुलाई प्रहरीले पहिल्यै नियन्त्रणमा लिएर जंगलमा लगेर गोली हानेको भन्ने पनि आयो नि ?
प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति यी हैनन् । टेकबहादुर तामाङ भन्ने व्यक्तिलाई शंका लागेर नियन्त्रणमा लिएका हौँ । उनी पछि संलग्न नदेखिएपछि छाड्यौँ । प्रहरीसँगको मुठभेडमा मारिनेहरु कोठामा भेटिएका हैनन् । यो हल्ला गलत हो ।

यी दुई जना जंगलमा कसरी भेटिए त ?
बालकलाई लिएर गएको र फिरौतीको लागि फोन आएको नम्बरको आधारमा लोकेसन हेरिरहेका थियौं । त्यसैको आधारमा पच्छ्याउँदा जंगलमा भेट भएको हो । 

जो मारिए उनीहरु नै अपहरणकारी हुन् भन्ने आधार के छ ?
फिरौती माग्न प्रयोग भएको सिम नम्बर र मोबाइल सेट उनीहरुको साथबाट फेला परेको छ । घरबाट बालक मारिएकामध्ये एक जनासँग गएको छ । बालकको आमाले स्वर चिन्नुभएको छ । आधार यी नै हुन् ।

अपहरणमा अन्य व्यक्तिको संलग्नता हुन सक्दैन र ?
अपहरणमा यी दुई जना मात्र हुन् भनेर हामीले भनेका छैनौं । अरु पनि संलग्न हुनसक्छन् भनेर अनुसन्धान गरिरहेकै छौं ।

भनेपछि, प्रहरीले जानजान मारेको हैन ?
हैन । उनीहरुलाई नियन्त्रणमा लिन सकेको भए प्रहरीलाई अनुसन्धान गर्न सहज हुन्थ्यो । जानजान गोली हान्यो भन्नु गलत हो ।
 

Leave A Comment