रमाइलो बोलबम

आइतबार, २० साउन २०७५, ०५ : ०२ मनोज घर्तीमगर
रमाइलो बोलबम

साउन महिना लागेपछि देशभरका शिव मन्दिरहरुमा जल चढाउने ‘बोलबम’वालाको भीड लाग्ने गर्छ । पोखराको बैदामस्थित केदारेश्वर महादेवमणिमा पनि सोमबार यस्तै भीड देखियो । हातमा मेहन्दी । नाडीभरि हरियो चुरा । नाङ्गै खुट्टा अनि गेरु रङका कपडा लगाएका युवती र महिलाको बाहुल्य थियो पुरुषको तुलनामा । पोखरा लेकसाइडकी १९ वर्षीया सुमिना पहारी पनि ‘बोलबम, बोलबम’ भन्दै त्यही भीडमा थिइन् । ‘नाङ्गा खुट्टामा बोलबम भन्दै किन मन्दिर आएको ?’ फिस्स हाँस्दै उनले भनिन्, ‘सोमबार व्रत बसे आफूले रोजेको मान्छे पाइन्छ रे ।’ 

हिन्दू धर्ममा आस्था राख्ने अविवाहिता युवतीले सोचेका कुरा पूरा हुने सपना साँचेर साउनमा बर्सेनि हजारौं संख्यामा बोलबम भन्दै पोखराका सडकमा निस्कन्छन् । नाङ्गै खुट्टामा गाईघाटदेखि जल लिएर ‘बोलबम’ अलाप्दैै फेवातालको छेउमै रहेको केदारेश्वर महादेवमणि मन्दिरमा पुग्छन् । यही भीडमा केही वर्षदेखि बोलबम भन्दै मिसिने युवाहरुको जमात ह्वात्तै बढेको छ । 

हिन्दू आरध्यादेव महादेवलाई साउन महिनामा जल चढाएमा चिताएको पुग्ने जनविश्वास छ ।  विवाहिता महिला पतिको दीर्घायु सुस्वास्थ्यको कामना गर्दै सोमबारे व्रत बस्छन् । अविवाहिता युवा युवतीहरु भने धर्मकर्मबारे जानकार भएरभन्दा पनि लहलहै र फेसनको रुपमा बोलबम ¥यालीमा हिँड्छन् ।

‘बोलबम किन भनिन्छ फ्याक्ट कुरा थाहा छैन, साथीहरुले भनेपछि रुचि बढ्दै गयो’ पोखरा दीपकी २१ वर्षीया पुष्पा तिलिजा भन्छिन्, ‘आफूले आँटेको सोचेको पुग्छ भन्ने सुनेर साथीहरुसँगै बोलबममा हिँडेको हुँ ।’ 
बोलबमलाई संस्कृतिभन्दा फेसनका रूपमा अँगाल्नेहरु धेरै छन् पोखरामा । नयाँपन केमा आउँछ, त्यही लगाएर फेसनेबल हुन खोज्छन् यहाँका युवायुवती । बोलबमलाई फेसन अनि जोडीको भेट हुने मौका सम्झिएपछि केही वर्ष अघिदेखि केदारेश्वरमा बोलबमको रौनक बढेको छ । यो सोमबार पनि केदारेश्वर महादेव मणि मन्दिरमा गेरुवस्त्र पहिरनमा पुगेका युवयुवतीका थुप्रै जोडी देखिन्थे ।

बोलबमको बहानामा डेटिङमा रमाइरहेका युवायुवतीको पनि त्यही नजिकै रमिता हेर्न लायक थियो । आस्थाको केन्द्र महादेवलाई मागेको पूरा हुने बहानामा आउनेहरु धेरै त फेसन र रमाइलो गरेर बिताउनेहरु नै छन् । 

बोलबमभन्दा वृद्धवृद्धाहरुको जमघट हुने थलो ठानिन्थ्यो उहिले । अहिले बोलबम भजन गाउ“दै जल लिएर तीर्थालुहरु साउन महिनाभर वैदिक धामहरुमा गई जल महादेवलाई चढाउने परम्परामा युवा मिसिएका छन् । युवाले यसलाई फेसन बनाएपछि आजकाल बोलबमको शैली पनि फेरिएको छ ।

उनीहरुले बोलबमलाई रिमेक बनाइदिएका छन् । ‘धेरै केटाकेटीको धमकर्मभन्दा रमाइलोमा बढी ध्यान छ । महादेवको प्रसाद भन्दै भाङ, गाँजा र धतुरो खाएर लठ्ठिन पाइने भएकाले धेरै बोलबममा आउँछन् । यसलाई रोक्नुपर्छ’ केदारेश्वरमा भेटिएका गेरुवस्त्रधारी ५७ वर्षीय नारायण पराजुली भन्छन्, ‘यस्तो क्रियाकलापले असली भक्तजनलाई अप्ठ्यारो परेको छ । यस्तै हाहा र हुहु गर्ने केटाकेटीले धर्मकर्ममा गलत कुरा भिœयाएका छन् ।’

साउन महिनामा भगवान् शिवको पूजा आराधना गरे चिताएको कुरा पुग्ने आशाले युवायुवती प्रेमी र प्रेमिका या असल पतिपत्नी पाउने आशाले केदारेश्वरमा जल चढाउन थालेका छन् । तर धेरै युवा पुस्ताले बोलबमलाई उन्मुक्त पारामा चिच्याउँदै हिँड्न पाइने, गर्लफ्रेन्ड, ब्बाइफ्रेन्डसँग रमाउँने उत्सवका रूपमा लिएका छन् । ‘भर्खरका केटाकेटीलाई के को धर्मकर्म केहीबाहेक धेरै रमाइलो गर्न बोलबम आउँछन्’ बर्सेनि गाईघाटदेखि खाली खुट्टा हिँडेर केदारेश्वरसम्म पुग्ने ६१ वर्षीय कृष्णबहादुर थापा भन्छन्, ‘युवाहरु सहभागी हुनु राम्रो हो, तर पवित्र धर्मलाई विकृत बनाउनु ठिक होइन ।’

‘बोलबमको ध्वनिले, शान्ति पाउन् साराले’ नारा लिएर केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम बैदाम, पोखराले १५ वर्षदेखि साउन महिनाका हरेक सोमबार बोलबम (शान्तिपद शिव जलयात्रा) गर्दै आएको छ । बोलबम जानेले बगरस्थित सेतीनदी किनारबाट जल उठाई गाईघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित ८ किलोमिटर पैदलयात्रा गर्दै बोलबमधाम केदारेश्वर मन्दिरको १०८ शिवलिङ्गमा जलार्पण गर्छन् । यहाँ कास्कीसहित छिमेकी जिल्लाहरु स्याङ्जा, तनहुँ, पर्वत, लमजुङ, बागलुङ, पाल्पालगायतबाट पनि भक्तजन आउने गरेका छन् ।

‘साथीभाइसँगै बोलबम भन्दै सडकमा रमाइलो हुन्छ’ पहेँलो  टि–सर्ट र बोलबम लेखेको कपडा घाँटीमा भिरेका साजन तिमिल्सिना भन्छन्, ‘हाम्रो ग्रुप नै छ । आफ्नो मनोकामना पुग्छ भनेर सबै साथीहरु मिलेर बोलबम आएका हौँ ।’

१५ वर्षअघि एकाध मान्छे आउने केदारेश्वरमा पछिल्लो समय बोलबम फेसन बनेपछि मन्दिर पुग्नेहरु बढेका छन् ।  यहाँका मुख्यमुख्य मन्दिर, सडक, बजार, सवारी साधन जहिँतहीँ गेरुवस्त्रधारीहरुको भीड देखिन्छ । भर्खरका तरुनी तन्नेरी साउन महिनाभर बोलबम लेखिएको फेटा शिरमा बाँधेर मन्दिर पुग्न थालेपछि गेरुवस्त्रधारीहरुको जमात ह्वात्तै बढेका छन् । बोलबमका संयोजक शंकर खराल पछिल्लो समय युवायुवतीमा पनि धार्मिक आस्था बढेकाले बोलबममा पनि उनीहरुकै बाहुल्य भएको बताए ।

‘पहिले दुई चारजना आए पनि धेरै आएको ठान्थ्यौँ । केही वर्Èदेखि केदारेश्वरमा साउन महिनाभरि करिब पाँच लाखसम्मले दर्शन गर्छन् । तीमध्ये ६० प्रतिशत बढी युवायुवती हुन्छन्’ बोलबम संयोजक शंकर भन्छन्, ‘बाहिर भनिएजस्तो सबै युवायुवती फेसनको रूपमा आएका हुन् भन्न मिल्दैन । एकाध त जहाँ पनि हुन्छ । तर, यहाँ आउने धेरैको धार्मिक आस्था हुन्छ ।’
तस्बिर पनि छन् ।
 

Leave A Comment