पुत्रको स्मृतिमा पुस्तकालय

सोमबार, १० साउन २०७३, १२ : ५३ गोपाल दाहाल , Kathmandu
पुत्रको स्मृतिमा पुस्तकालय

धरानको बुद्धचोक छेउमै छ, कवि विमल गुरुङ स्मृति पुस्तकालय । विभिन्न पत्रपत्रिका र पुस्तकले भरिएको पुस्तकालयमा पुस्तक, पत्रिका र खातापाता मिलाउँदै गरेका भेटिन्छन् पूर्णबहादुर गुरुङ । पुस्तकालयमा पस्नेहरूलाई हतारहतार चिया पस्किएर दिन्छन् । कसैलाई चिसो खुवाउँछन् । मीठो बोल्छन्, ‘आउनुस् है हजुर बसौँ, पुस्तक पढौँ ।’

आफ्नो कवि छोरा विमलको दुर्घटनामा निधन भएपछि विदेशको जागिर र काठमाडौँको घर छाडी पुस्तकालय खोलेर धरानमै बसेका पूर्णको दिन यही पुस्तकालयमा बित्छ । उमेर ७३ वर्ष पुगेका गुरुङ बिहान ३ बजे उठेपछि ४५ मिनेट ध्यान, ४५ मिनेट मर्निङवाक गर्छन् । अनि, दूध तताएर खान्छन् । त्यसपछि पुग्छन् पुस्तकालय । पुस्तकमा लागेको धुलो टक्टक्याउने, सरसफाई गर्नेदेखि पुराना पुस्तकको अनुक्रमण नयाँ खातामा सार्ने काम आफैँ गर्छन् । यसरी नै बित्छ उनको दिन ।

२०२० सालमा ब्रिटिस सेनामा भर्ना हुन खोटाङबाट धरान आएका थिए, गुरुङ । १६ वर्ष सेनामा काम गरेर पेन्सन पकाएपछि २०३६ सालमा ब्रुनाईमा सेक्युरिटी गार्डको काम गरे । ११ वर्ष काम गरेपछि नेपाल फर्किए । परिवारमा सुखी थियो । काठमाडौँको कालोपुलमा पनि घर थियो, एक्लो छोरा विमल साहित्यमा लागेका थिए । अरू लाहुरेका छोरा दुव्र्यसनमा फस्ने, केही नगरी बस्ने माहोलमा पनि विमल भने कविता लेख्ने, पुस्तकालय खोल्ने, पत्रिका निकाल्ने गर्थे । बुद्ध वाचनालय खोलेर सचिव बनेका विमलले इँटा नामक साहित्यिक पत्रिका निकाल्थे । उनी काठमाडौँमा पनि साहित्य र पत्रकारितामा लागे । दृष्टि साप्ताहिकमा पनि लेख्ने गरेका विमललाई राजनीतिमा चाहिँ नलाग्न सम्झाउँथे पूर्णबहादुर । सम्झिन्छन्, ‘कम्युनिस्टका किताब पढ्थ्यो, कविता लेख्थ्यो, म चाहिँ राजनीति हामी जस्ताले गर्ने होइन भन्थेँ ।’

२०४८ साल वैशाख ९ गते पूर्णबहादुर फेरि ब्रुनाई हिँडे, काम गर्न । त्यही वैशाखको २४ गते विमल, उनकी आमा सरस्वती र सानी आमा चुनावका लागि धरान आउँदै थिए । धादिङको जगेपानीमा उनीहरू चढेको बस दुर्घटना भयो । आमालगायत अरू यात्री घाइते भए तर विमलको घटनास्थलमै मृत्यु भयो । एक मात्र छोरा विमलको निधन भएपछि पूर्णबहादुर ब्रुनाईबाट जागिर छाडेर तुरुन्तै नेपाल फर्किए ।

१९ वर्षको छोरा विमलको निधनले विक्षिप्त बनेका गुरुङ छोराको कोठामा पस्दा कोठैभरि किताब देख्थे । धरानको घरमा होस् वा काठमाडौँको घरमा छोराको कोठामा चारपाँच सय किताबको थाक देख्दा उनलाई के गरौँ, कसो गरौँ हुन्थ्यो । ती किताब फ्याँक्न पनि मन लागेन, जतन गरेर कसरी राख्ने चिन्ता लाग्यो । ‘धेरै जसो माक्र्स, एंगेन्स, लेनिनका किताब थिए । छोराले पढ्ने ती किताब अहिले पनि जतन गरेर राखेको छु ।’

विमलको निधन भएपछि मोदनाथ प्रश्रित, मनमोहन अधिकारी, माधव नेपाललगायत नेता गुरुङलाई भेट्न आए । सबैसँग उनले त्यही कुरा राखे, ‘अब यी पुस्तकलाई के गरौँ’ उनीहरूबाट पुस्तकालय खोल्ने सुझाव पाएपछि गुरुङले पनि धरानै बसेर छोराले अघि बढाएको साहित्यको सेवा गर्ने विचार गरे । काठमाडौँमा भएको घर छोरीको नाममा पास गरिदिएर उनी धरानै बसे । पहिला विमलले पुस्तकालय सञ्चालन गरेको नजिकै १० धुर जग्गा किनेर दुई तले घर बनाए । त्यसबेला २ लाख ७५ हजारमा किनेको जग्गामा घरसमेत बनाउँदा पाँच लाखजति खर्च भएको थियो । त्यसपछि २०४८ साल कार्तिक १९ गते तिनै मोदनाथ प्रश्रित लगायतलाई बोलाएर ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’को उद्घाटन गराए । त्यसपछि उनी निरन्तर यही पुस्तकालयको रेखदेखमा लागेका हुन् ।
अहिलेको मूल्याङ्कनमा करोडौँको घर जग्गा छ । पुस्तकालयमा करिब १० हजार पुस्तक छन् । पुस्तकालयका नाममा गुरुङले ५० लाखको अक्षयकोष पनि स्थापना गरिदिएका छन् । उनलाई अमेरिका, एसिया फाउन्डेसन र भारतीय दूतावासले पुस्तक सहयोग गरेका छन् । स्थानीयदेखि राष्ट्रियस्तरका सबै पत्रिका किन्दा वार्षिक ५० हजारको हाराहारीमा खर्च हुन्छ । उनी कुनै पत्रिका सित्तैमा लिदैनन् । भन्छन्, ‘म धर्मका लागि पुस्तकालय खोलेको हुँ । अरूको पैसा खानु हुँदैन, सबै स्थानीय पत्रिकालाई पैसा दिन्छु ।’

छोरा विमलले बुद्ध वाचनालय सञ्चालन गर्दा इँटा नामक साहित्यिक पत्रिका निकाल्थे । पूर्णबहादुरले छोराको त्यही अधुरो सपना पूरा गर्न इँटाका सात अंक आफ्नै खर्चमा निकाले । छोराका कविता जम्मा गरेर दुईवटा कविता संग्रह पनि प्रकाशन गरिदिए । उनको साहित्य सेवामा श्रीमती सरस्वतीले पनि साथ दिएकी थिइन् । दुवैजना मिलेर पुस्तकालय सञ्चालन गर्थे तर गत कार्तिकमा सरस्वतीको निधन भयो । काठमाडौँमा बस्ने छोरी शान्ति गुरुङले पनि पुस्तकालय सञ्चालनमा सहयोग गरिरहेकी छिन् । तीनतीन महिनामा धरान आएर उनले पुस्तकालयलाई सहयोग गर्छिन् । छोराको रुचिको साहित्यमा जीवनै समर्पण गरेका पूर्णबहादुरका धेरै नम्बरीहरू अहिले बेलायत या हङकङतिर छन् । तर, उनी यसैमा खुशी छन् । सुनाउँछन्, ‘अस्ति श्रीमती बित्दा धेरै साथीभाइ आए, श्रद्धाञ्जली दिए । केपी ओली धरान आउँदा मलाई सम्मान गरे, मैले पैसाभन्दा साथीभाइ कमाएको छु । यसैमा सन्तुष्टि मिल्छ । बाँकी जीवन पनि यही पुस्तकालयमै बिताउँछु ।’

पुस्तकालयमा पुस्तक नअटेर समस्या छ । त्यसैले २०७४ सालसम्ममा पुस्तक अट्ने गरी विस्तार गर्ने योजना छ उनको । पुस्तकालयमा कर्मचारीका लागि चार लाखभन्दा बढी र पुस्तक तथा पत्रपत्रिकाका लागि करोडौँ खर्च भइसकेको छ । अहिले गुरुङ आफैँ पुस्तकालयको काममा खटिरहेका हुन्छन् । जीवनका विद्यालय नगएका पूर्णबहादुरले फौजी जीवनमै सामान्य लेखपढ सिके । सानोमा आफूले पढ्न नपाएको सम्झिएर पनि उनी सबैलाई पढ्न हौस्याउँछन् । तर, अहिलेका पुस्ताहरू पुस्तक पढ्न पुस्तकालय कम आउँदा उनलाई दुःख लाग्छ । ‘यो जनजाति धेरै भएको शहर हो । उनीहरू पुस्तक पढ्नमा त्यति ध्यान दिँदैनन् तर पत्रिका चाहिँ पढ्छन्,’ उनी भन्छन् । पुस्तकालयमा वर्षौं बस्दाको उनको निष्कर्ष हो यो ।

भूतपूर्व ब्रिटिस सेना भएकाले उनको पेन्सन आउँछ । त्यो पैसा घर खर्च र पुस्तकालयमै खर्च गर्छन् । पुस्तकालयमा उनको संरक्षकत्वमा धरानका साहित्यकारहरू आबद्ध समिति पनि छ तर अप्ठ्यारो पर्दा पैसा निकाल्ने उनै छन् । ७३ वर्षका उनलाई अब यो पुस्तकालय समाजका लागि हस्तान्तरण गर्ने मन छ । धेरैले उनलाई यो पुस्तकालय नगरपालिकालाई हस्तान्तरण गर्न सुझाए । त्यसपछि उनी नगरपालिकाले धरान २मा सञ्चालन गरेको पुस्तकालय हेर्न गए । त्यहाँको अवस्था देखेर उनलाई विरक्त लाग्यो । आफ्नै पुस्तकालयको बेहाल भएको नगरपालिकाले अर्को पुस्तकालय सञ्चालन गर्ला भन्ने विश्वास लागेन । ‘अब कति बाँचिन्छ थाहा छैन । यो पुस्तकालय मैले खोले पनि समाजको सम्पत्ति हो । समाजलाई नै हस्तान्तरण गर्ने विचार छ । तर, नेताहरूले जस्तो भ्रष्टाचार नगरून्, अक्षयकोष नमासून् । यही मेरो चाहना छ,’ उनले भने ।

 

Leave A Comment