‘मीठो बोल्दा के खेर जान्छ र ?’

बुधबार, १२ साउन २०७३, ०१ : २४ शुक्रवार , Kathmandu
‘मीठो बोल्दा के खेर जान्छ र ?’


चित्रकुमार बस्नेत
बा. २ ज २२५६

गुरुजीको घर चाहिँ कता ?
ओखलढुंगा, मोलिरामपुर ।
गुरुजी बनेको कति भयो ?
१५ वर्ष । तर, ट्याक्सी चलाउन थालेको एक महिना मात्र भयो ।
यसअघि के चलाइन्थयो ?
टुरिस्ट गाडी चलाउँथेँ ।
किन बाटो मोडियो त ?
भूकम्प र नाकाबन्दीले बाटो मोड्न बाध्य बनायो । त्यो संकटले काम लगभग ठप्पै भयो । त्यसपछि ट्याक्सीतिर लागियो ।
ट्याक्सी साहूको कि आफ्नै ?
आफैँको भनौ क्यारे ! अहिलेसम्म कमाएर जोगाएको हल्का पैसा हालेर बाँकी बैंकको किस्तामा किनियो ।
टुरिस्ट गाडी र ट्याक्सीमा कुन ठीक ?
रमाइलो त टुरिस्ट गाडी नै हो । तर, आफ्नोमा काम गर्नुको मज्जा बेग्लै हुँदो रहेछ । पूरा स्वतन्त्रता पाइने ।
यो नयाँ ट्याक्सी किन्न चलखेल त गर्नैप¥यो होला ?
चलखेल नगरी यो देशमा बाँच्न कत्ति गाह्रो छ भन्ने कुरा त भोग्नेलाई मात्र थाहा हुन्छ । तर, अरूले जति गर्न परेन । एकजना दलालबाट फ्याट्ट किन्न पाउँदा छ लाखजति मात्र महँगो पर्दा पौने २१ लाख जति प¥यो ।
ट्याक्सी लाइनमा समस्या के भेट्नुभयो त ?
सबभन्दा ठूलो समस्या पार्किङको हो । त्यसपछि सार्वजनिक शौचालय । बिनाकारण पनि कारबाहीमा पार्ने ट्राफिकको नियत । यस्तैयस्तै ।
कति पढ्नुभयो ?
इन्टर पास गरेको छु ।
अरू ट्याक्सी चालकभन्दा तपाईंमा के अन्तर छ ?
यात्रुसँग मीठो बोल्दा केही खेर जान्न भन्ठान्छु । मीठो बोल्दा के खेर जान्छ ? हरेक यात्रु मिटरमै चढुन् भन्ने सोच्छु । बार्गेनिङ मन पर्दैन । आफू ठीक भए अरू पनि ठीकै हुन्छन् सोच्छु ।
दैनिक कति कमाइ हुन्छ ?
अहिले अफसिजन हो । तैपनि, १५ सयदेखि दुई हजारसम्म कमाइहालिन्छ ।
कस्ता गीत सुन्नुहुन्छ ?
लोकगीत मन पर्छन् ।
देशको राजनीतिबारे के भन्नुहुन्छ ?
मैले बुझेको राजनीति जनताको सेवा हो । तर, यहाँ परिभाषा ठीक विपरीत छ । जनताले नेताको सेवा गर्नुपर्छ ।
राजनीतिमा कोही चिन्नुभएको छ ?
किन नचिन्नु ? नाम चलेका सारालाई चिन्छु । आफ्नै साथीभाइ सभासद् भइसके ।
कोको भए ?
प्रदिप राई, रञ्जित कर्णलगायत । पशुपति क्याम्पस पढ्दाताकाका साथीहरू धेरै नेता भएका छन् ।
आफू चाहिँ नेता नभएकोमा पछुतो त छैन होला ?
छैन । हरेकका आफ्ना लाइन हुन्छन् । त्यसैमा सन्तुष्ट भएर मेहनत गर्दा राम्रो हुन्छ ।  
विदेश जाने सपना देखिएन ?
देखिएन र देख्न पनि नपरोस् । एकै गाँस खाएर किन नहोस्, आफ्नै देशमा केही गर्ने हो । सानैमा आमाबुबा बितेर अनाथ भइयो । परिवार, छोराछोरीसँग टाढा भएर बाँच्नु नपरोस् जस्तो लाग्छ ।
 

 

 

 

Leave A Comment